२०७९ जेठ २, सोमवार

दार्चुला घटना छानबिन समितिको निष्कर्ष : एसएसबीको उपस्थितिमा घटना घट्यो

भदौ १६, २०७८  | २२३ पटक पढिएको

१६ भदौ, काठमाडौं । दार्चुलाको तुइन घटना छानबिन समितिले तुइनबाट नेपाली नागरिक महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मीको उपस्थितिमा भएको निष्कर्ष निकालेको छ ।

ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेको घटना भारतीय सुरक्षाकर्मी एसएसबीको उपस्थितिमा भएको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम संयोजकत्वको छानबिन समितिले निष्कर्ष निकालेको हो ।

छानबिन समितिले एसएसबीको संलग्नतामा पुनः अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सिफारिस गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् ।

‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकोले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानूनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिश गरेको छ’ पोखरेलले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन् ।

गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा धामी नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटिदिएका कारण उनी नदीमा खसेको बताएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस