२०७९ माघ १३, शुक्रबार

ट्राफिक सप्ताहको समापन, “सडकको अवस्था कम्जोर हुँदा दुर्घटना”

बैशाख २०, २०७६  | ९१३ पटक पढिएको

– साक्षी खबर
२० वैशाख, दाङ / प्रदेश नं. ५ मा सञ्चालन भएको ट्राफिक सप्ताहको शुक्रबार समापन गरिएको छ । ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुर, जिल्ला प्रहरी कार्यालय दाङ, ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. ५ बुटवल तथा सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरको संयुक्त आयोजनामा कार्यक्रम गरि समापन गरिएको छ ।

केन्द्रका अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा सात दिने ‘ठाउँका ठाँउ सुधार’ कार्यक्रमको शुक्रबार समापन गरिएको हो । त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सवारी चलाउँदा हतार गर्ने प्रवृतिले गर्दा दुर्घटना बढेको बताए ।

‘हामी आफ्नो गन्तब्यमा पुग्नका लागि समयमा यात्रा सुरु गर्दैनौं’ उनले भने‘ तर जब हामी अन्तिम समय हुन्छ, अनी गाडि चलाउन शुरु गछौं, अनी तिव्र गतिमा गाडी चलाउँछौं, यही नै दुर्घटनाको एउटा कारण हो ।’

अर्को तर्फ सडकको अबस्था कम्जोर हुँदा पनि दुर्घटना बढेको भन्दै सडक सुधार गर्न तर्फ स्थानीय सरकारले पहल थाल्ने बताए । दुर्घटना न्यूनिकरण गर्न अब सडक ट्रयाक खोल्दा ८ मिटर चौडाई कायम गर्ने विषयमा समेत छलफल भईरहेको उनको भनाई छ । दुर्घटनाको कारण पनि सडक अतिक्रमण गरेर संरचना निर्माण गर्नु रहेकाले तुलसीपुर उपमहानगरपालिकाले सडक मिचेर बनाएका संरचना हटाईरहेको समेत बताए ।

त्यस अवसरमा प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका प्रमुख डिआईजि पिताम्बर अधिकारीले दुर्घटना पीडितहरु संगठित भएर सचेतना अभियान फैलाउनु पर्ने बताए । दुर्घटनाको पीडा स्वयं पीडितलाई थाहा हुने भन्दै र्दुघटना पीडितहरु संगठित बनाएर सचेतना अभियान थाल्दा थप प्रभाबकारी हुने भन्दै यसलाई यसतर्फ आफुहरु लागिरहेको उनको भनाई छ ।

सो अवसरमा राप्ती अञ्चल सार्बजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले समयमै उपचार नपाउँदा दुर्घटनाबाट भएका घाईतेहरुको अकालमा मृत्यु हुने गरेको बताए । सडकको दुईसय किलोमिटरको दुरीमा सुविधासम्पन्न हस्पिटल हुनुपर्ने समेत उनले बताए । अर्को तर्फ सानो सवारीले ठूलो सवारीलाई ठक्कर दिँदा पनि ठूला सवारीलाई नै दोषी देखाउने चलन रहेको भन्दै यो गलत कार्य रहेको बताए ।

उच्च अदालत तुलसीपुरका रजिष्टार गजेन्द्र बहादुर सिंह, प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल, तालुक, मानव अधिकार महिला सञ्जाल दाङकी अध्यक्ष सुष्मा लामिछाने लगायतले मन्तव्य ब्यक्त गरेका थिए । ट्राफिक प्रहरी कार्यालय प्रदेश नं. ५ बुटवलका प्रमुख गणेश चन्दले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस