२०७९ जेठ २, सोमवार

राप्तीमा जेष्ठ नागरिक दिवा सेवा सुरु

भदौ १०, २०७८  | ३१५ पटक पढिएको

तिर्थराज ज्ञवाली, १० भदौ, सिसहनिया(देउखुरी दाङ) । दाङको राप्ती गाउँपालिकामा जेष्ठ नागरिकलाई लक्षित गरि दिवा सेवा सुरु भएको छ ।

गाउँपालिकाका ६० वर्ष माथिका नागरिकलाई लक्षित गरी भलाकुसारी, भेटघाट, मनोरन्जन, अनुभव साट्नेगरि बस्ने तथा जम्मा हुने ब्यवस्थाका साथ दिवा सेवा सुरु भएको हो ।

बुधबार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले मसुरीया र सिसहनियामा सञ्चालनमा ल्याईएको दिवा सेवाको उद्घाटन गर्दै जेष्ठ नागरिकलाई मनोरन्जम गर्ने, केही सिक्ने र धेरै सिकाउने तथा दैनिक जीवनलाई सुखमय बनाउन दिवा सेवाले सहयोग गर्ने बताउँएका छन् । साथै उनले फुर्सदको समयलाई सदुपयोग गर्न दिवा सेवामा सहभागी भइदिन सबै जेष्ठ नागरिकलाई अनुरोध गरेका छन् ।

सार्वजनिक विदाको दिन बाहेक हरेक दिन दिवा सेवा सञ्चालन हुने छ । राप्ती गाउँपालिकाले घरमा रहेका जेष्ठ नागरिकको उचितस्याहार, सुसार गर्ने छोरा, छोरी बुहारी तथा अन्य सदस्यलाई नियमितरुपमा सम्मान गर्दै आएको छ ।

सामाजिक विकास समिति संयोजक विद्याशरण चौधरीको अध्यक्षतामा भएको दिवा सेवाको उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, वडा अध्यक्षहरु चन्दर चौधरी, गोवर्धन रावत, बेद प्रसाद चौधरीको उपस्थिति रहेको थियो ।

दिवा सेवामा जेष्ठ नागरिकका लागि अध्यनका पाठ्यपुस्तक, मनोरन्जनका लागि बाध्यबादनका सामाग्री र स्वास्थ्यवद्र्धक खाजाको ब्यवस्था समेत गरिएको महिला विकास निरिक्षक जिवन जिसीले बताए ।

राप्ती गाउँपालिका महिला वालवालिका, अपांग तथा जेष्ठ नागरिक शाखाले राप्ती गाउँपालिका क्षेत्रका जेष्ठ नागरिकलाई पायक पर्ने गरि मसुरीया र सिसहनियामा दिवा सेवा सुरु गरिएको र यो सेवा नियमित रुपमा सञ्चालन हुने सहायक महिला विकास निरिक्षक कल्पना खनालले जानकारी दिइन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस