२०७८ असोज ११, सोमवार

काबुल विमानस्थलमा आक्रमणको खतरा

भदौ १०, २०७८  | २३७ पटक पढिएको

१० भदौ, काठमाडौं । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमण हुन सक्ने चेतावनी जारी गरेका छन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौं सर्वसाधारणले प्रतीक्षा गरिरहेको बेला दुवै देशले सुरक्षा खतराको चेतावनी जारी गरेका हुन् ।

विमानस्थलमा पुगिसकेकाहरुलाई पनि त्यहाँबाट फर्किन भनिएको छ । अमेरिकी विदेश विभागले जारी गरेको अलर्टमा विमानस्थलको पूर्वी र उत्तरी गेटमा प्रतीक्षा गरिरहेकाहरुलाई ‘तुरुन्त अफगानिस्तान छाड्न’ भनिएको छ ।

बेलायतको विदेश कार्यालयका अनुसार अफगानिस्तानमा सुरक्षा स्थिति अस्थीर छ र त्यहाँ आतंकवादी आक्रमणको खतरा छ । तालिबान विद्रोहीहरुले अफगानिस्तान कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

तालिबानबाट असुरक्षित महसुस गर्दै विदेशी नागरिक र अफगान नागरिकहरु त्यहाँबाट सुरक्षित तरिकाले बाहिरिन चाहेका छन् । तालिबानले सबै सीमा नाका बन्द गराएकाले त्यहाँबाट बाहिरिने एकमात्र उपाय भनेको हवाई उडान हो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानमा इस्लामिक स्टेट नामको अतिवादी समूहले आक्रमण गर्न सक्ने अभिव्यक्ति दिएको २४ घण्टापछि अमेरिका र बेलायतले सुरक्षा चेतावनी जारी गरेका हुन् ।

अमेरिका, बेलायत, भारत लगायतका देशहरुले आफ्ना नागरिकहरुलाई अफगानिस्तानबाट उद्धार गरिरहेका छन् । नेपालले पनि मित्र राष्ट्रहरुको सहयोगमा नेपालीहरुलाई उद्धार गर्ने क्रम जारी राखेको छ । परराष्ट्र मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अझै पनि ४२ जना नेपाली उद्धारको पर्खाइमा छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस