२०७९ जेठ २, सोमवार

आज रक्षा बन्धन तथा जनै पूर्णिमा मनाइँदै

भदौ ०६, २०७८  | २८४ पटक पढिएको

६ भदौ, काठमाडौ । आज श्रावण शुक्ल पूर्णिमा, रक्षावन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ ।

जनै पूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ ।


धर्मावलम्बीहरुले आत्माको शुद्धिकरण र शरीरको रक्षार्थ ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धनको धागो बाँधिने चलन रहेको छ ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित वन, बिचलित नहोउ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।


शास्त्रीय महत्व

यज्ञोपवीत शब्द यज्ञ उपवित यी दुई शब्खको योगबाट बनेको हो । यसको अर्थ यज्ञलाई प्राप्त गर्ने व्यक्ति अर्थात यो धारण गर्ने व्यक्ति सर्वविध यज्ञका लागि अधिकार प्राप्त गर्दछ । यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको भेषभूषा पनि हो ।

यज्ञोपवितलाई व्रह्म सूत्र पनि भनिन्छ । यसले वल, आयु र तेज दिन्छ । यज्ञोपवितमा रहेको तीन तन्तु जसलाई त्रिगुणत्मक शक्तिका रुपमा, वेदत्रयी (ऋग्, यजु, साम) रुपमा, तीन लोकका रुपमा, सनातन धर्ममा रहेका त्रीदेव ब्रह्मा, विष्णु, महेशका रुपमा पनि अर्थाएको पाइन्छ । एउटा जनैमा तीन धागा (डोरा) वा सूत्र हुन्छन् ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षावन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छन् मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ ।

रक्षाबन्धन गर्दा पढिने मन्त्रमा पनि ‘जसरी बलिको रक्षा विष्णुद्वारा भयो, त्यसैगरी यो रक्षासूत्रले तिम्रो रक्षा होस्’ भन्ने भाव आउँछ।

आज लगाइने रक्षा बन्धन तिहार वा दिपावलीमा गाई तिहारका दिन गाईका पुच्छरमा बाँधिदिनाले मृत्यु पश्चात वैतरणी नदी सजिलै पार गर्न सकिने जन विश्वास रहेको छ । दिदीबहिनी र दाजुभाइकाबीचमा राखी बाँधेपछि प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदीको किनार र काठमाडौँ उपत्यकालगायत देशभरका मठमन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले भौतिक दूरी कायम गरी सांस्कृतिक पर्व मनाउन सरकारले आह्वान गरेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस