२०७८ असोज ११, सोमवार

मास्क अभियान : माइकिङपछि मात्रै मास्क

साक्षी खबर  |  भदौ ०३, २०७८  | ३३५ पटक पढिएको

बिजौरी, ३ भदौ । जब मास्क लगाउनका लागि माइकिङ सुरु भयो, तब पसलमा रहेका साहुजिहरु घर्राबाट मास्क झिकिरहेका देखिन्थे । पैदल यात्रुहरु पनि प्रहरीको नजिक पुगेपछि मात्र आफ्नो खल्तीबाट मास्क झिकिरहेका थिए । यो दृश्य थियो विहीबार बिजौरी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकि हेमन्तपुरले संयुक्त रुपमा आयोजना गरेको मास्क अभियानको हो ।

माइकिङ नहुँदासम्म पशलमा व्यवसाय गर्ने कसैले पनि मास्क लगाएको अवस्था देखिएन । केहिले लगाए पनि सहि तरिकाले नाक, मुख छोपिने गरी लगाएका थिएनन् । सामाजिक दुरी त आम नागरिकहरुलेनै बिर्सेको जस्तै देखिन्थ्यो । होटलदेखि चिया पसलसम्म उस्तै भिडभाड । मानौं, किजौरीमा कोरोना छैन ।

‘कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गर्दा मास्क लगाउने र स्वास्थ्य सुरक्षा अपनाउने अवस्था अत्यन्तै कमजोर बन्दै गरेपछि यो अभियानको समन्वय गरेका हौं’—बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले भने । अभियान व्यवसायीहरुका पसल पसलमा पुगेको थियो । अभियानमा बिजौरी उद्योग वाणिज्य संघका पदाधिकारीहरु, प्रहरीहरु, सञ्चारकर्मीहरु तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।

मास्क वितरण तथा सचेतना अभियानमा बोल्दै इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले पहिलो पटक सचेतना अभियान सञ्चालन हुने, दोस्रो पटक चेतावनी दिइने तथा तेस्रो पटक पनि मास्क लगाउन अटेर गरेको अवस्थामा कारवाही स्वरुप जरिमाना समेत गरिने बताए ।

विहीबार अभियानमा सहभागी प्रहरीहरुले दिनभर जसो बिजौरी क्षेत्रमा मास्क वितरण गरिरहेका थिए । मास्क अभियान नेपाल सरकार स्वास्थ्य मन्त्रालयको आह्वानमा गृहमन्त्रालयले माताहतका प्रहरी कार्यालयहरुलाई परिचालन गरी सञ्चालनमा छ । मास्क नलगाएकालाई एक सय रुपैयासम्म जरीमाना गर्न प्रहरीलाई अधिकार दिइएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण उकालो लाग्दै गर्दा मास्क लगाउने प्रवृत्ति भने ओरालोमा छ । यसअघि मास्क लगाउनेहरुले पनि मास्क लगाउनुपर्छ र भन्दै खल्तीमा राख्ने गरेको पाइएको छ । प्रहरीले पहिलो पटक हरेक नागरिकहरुलाई सचेत बनाउंदै अनिवार्य रुपमा मास्कको सहि तरिकाले प्रयोग गर्न सुझाव दिंदै आएको छ । अभियानका क्रममा खल्तीमा मास्क राख्ने र मास्क घाँटिमा लगाउने प्रवृत्ति बढी देखिएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

फोटोहरुः

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस