२०७९ जेठ २, सोमवार

सुशासन कायम गर

भदौ ०२, २०७८  | २६१ पटक पढिएको

देशमा राजनीतिक परिवर्तन धेरै भए । सबै दलले विभिन्न वाहनामा देशको शासन पनि गरे । राजा हुँदाको पालामा राजनीतिक दलले चलाएको देश र राज नहुँदाको बेलामा राजनीतिक दलले चलाएको देशमा तुलना गर्ने हो भने खास्सै फरक छैन । तल्लो तहका जनतालाई प्रत्यक्ष अनुभूति हुने खालको परिवर्तन भने भएको छैन । जनताका लागि न्यूनतम आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्यको पनि हुनुपर्ने जति भएको छैन, देखिंदैन ।

यतिबेला हेर्ने हो भने जनताको लागि ठूलो उपलब्धि नभएको जस्तो आम जनताले आभाष गरिरहेका पनि छन् । राजनीतिक दल तथा त्यस दलका कार्यकर्ताको लागि भने ठूलै उपलब्धि भएको ठान्दछन् । प्रतिपक्षमा हुँदा उठाइएको विषयवस्तु सत्तामा पुगेपछि सबै ओझेलमा पर्छन । यस्तो प्रकारको खेल राजनीतिमा चलिरहन्छ  ।

वास्तवमा जनताका लागि राज्यले गर्नु पर्ने काम धेरै छन् तर जनतासँग प्रत्यक्ष जोडिएका काममा पहिलो प्राथमिकतामा हुनुपर्ने हुन्छ । शिक्षा र स्वास्थ्यमा त अझ बढी ध्यान दिनुपर्ने देखिन्छ । पछिल्लो चरणमा शिक्षा प्रणालीमै समस्या देखिन्छ । नीति नियम एकातिर, काम भने अर्कोतिर देखिन्छ । समान शिक्षाको अवधारणा हुन आवश्यक छ । पछिल्लो चरणमा कोभिडका कारण संस्थागत स्कुलका विद्यार्थीहरुलाई धेरै असर परेको छ भने शिक्षकहरुलाई तलबको भने व्यवस्था भैरहेको छ भने यता निजी स्कुलले धेरै जसोले अनलाइनबाट कक्षा सञ्चालन गरेका छन् । विश्वनै कोभिडका कारणले गाँजिएको बेला यो अनलाइनले पनि धेरै राहत गरेको छ । तर सरकारी (संस्थागत) स्कूलले भने यस्तो प्रकारको अनलाइन कक्षा अलि कम मात्रामा गरेका छन् ।

यता सरकारी स्वास्थ्यमा पनि बेथिति छ । न त डाक्टरले मन लगाएर चेक गर्छन् न त निःशूल्क औषधीको पर्याप्त मात्रामा उपलब्धता छ । सरकारी डाक्टरहरुको मनपरी क्लिनिक चेकजाँचले पनि सरकारी अस्पताल जनताको नजरमा पर्न सकेको छैन । यसलाई पनि राज्यले मुख्यरुपमा सम्बोधन गर्न सक्नुपर्छ । यहाँ सरकारमा नहुँदा सुशासनका कुरा धेरै उठ्छन तर सरकारमा गएपछि भुल्छन यो रोगले पनि सुशासनलाई कमजोर बनाइरहेको छ । सबै दलले यो साझा मुद्धा बनाई कार्वान्वयन गर्न इच्छा शक्ति हुन जरुरी छ । जे जस्ता गफ लगाए पनि प्रथमतः सुशासन कायम गर ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस