२०७९ माघ १३, शुक्रबार

तुलसीपुर कार्यपालिकाको बैठक, एम्बुलेन्स सञ्चालन कार्यविधि पारित

बैशाख १९, २०७६  | १२३८ पटक पढिएको

१९ वैशाख, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका कार्यपालिकाको ५७ औँ बैठकले एम्वुलेन्स सञ्चालन सम्वन्धि कार्यविधि पारित गरेको छ ।

उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, सुत्केरी र वडाको सिफारिसमा अति विपन्नका लागि छुट दिने उद्देश्यले खरिद गरेका एम्वुलेन्सहरु सञ्चालनका लागि कार्यविधि पारित गरेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले बताए । उपमहानगरपालिकाका ग्रामिण भेगलाई लक्षित गरेर ३ वटा एम्बुलेन्स उपमहानगरपालिकामा आइसकेका छन् । कार्यविधि पारित भएसँगै एम्वुलेन्स सञ्चालनका लागि बाटो खुला भएको छ ।

कार्यपालिकाको बैठकले कक्षा थपका लागि शिक्षा महाशाखाले प्रस्तुत गरेको सूचिलाई पारित गरेको छ । शिक्षा समितिले कक्षा थपका लागि १६ वटा विद्यालय सिफारिस गरेको थियो । यसैविच उपमहानगरपालिकाका १३ विद्यालय स्थगनलाई पनि बैठकले स्वीकृत गरेको छ । बैठकले आगामी शैक्षिक सत्रबाट सामुदायिक विद्यालयको ५०० मिटरको दुरीमा रहेका संस्थागत विद्यालयहरुमा कक्षा थपका लागि अनुमति नदिने निर्णय गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको बैठकले आगामी वर्षबाट निजि विद्यालयलाई दर्ता प्रक्रिया अगाडि नवढाउने निर्णय गरेको छ ।

बैठकले उपमहानगरपालिकाका विभिन्न वडा र उपमहानगरपालिकामा सार्वजनिक सुनुवाई गर्नका लागि समिति समेत बनाएको छ । वडामा वैशाख मसान्त भित्र र उपमहानगरपालिकामा जेठको पहिलो हप्ताभित्र सम्पन्न गर्नका लागि लेखा अधिकृत वासुदेव अधिकारी, तथ्यांक अधिकृत केशर वली, शाखा अधिकृत टंक गौतम, प्रेस संयोजक बसन्त आचार्य र सुचना अधिकारी झरेन्द्र खरेल रहेको समितिलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

यसैगरी तुलसीपुर अञ्चल प्रादेशिक अस्पतालमा पोष्टमार्टमका लागि शव राख्ने फ्रिजको व्यवस्था गर्नका लागि समेत गरेको छ । वैठकले तुलसीपुरको दीर्घकालिन विकासका लागि रणनीतिक योजना निर्माण गर्न सर्वपक्षिय कार्यशाला जेठ पहिलो हप्ता गर्ने निर्णय गरेको छ ।

बैठकले तुलसीपुर वाहिनी चोकबाट राप्ती विद्या मन्दिरसम्मको मुख्य नाला तत्काल सफा गर्नका लागि वातावरण समितिलाई जिम्मेवारी दिने निर्णय गरेको पनि प्रवक्ता डाँगीले जानकारी दिएका छन् । प्रवक्ता डाँगीका अनुसार समपुरक कोषका लागि श्रीमणी मार्गमा २ करोड ५० लाख र राप्ती शान्ती उद्यानमा वुद्धको मुर्ति निर्माणका लागि ५० लाख सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले तुलसीपुर उपमहानगरपालिका भित्र रहेका विभिन्न ठाउँहरुलाई औद्योगिक ग्रामका रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय समेत गरेको छ । औद्योगिक ग्रामका लागि वडा नम्वर १३ को भञ्ज्याङ्ग, वडा नम्वर १६ को जहदागाँउ, वडा नम्वर ३ को रेउले टोल, वडा नम्वर १५ को वेलगनारी लगायतका ठाउँलाई केन्द्रमा सिफारिस गर्ने भएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस