२०७९ माघ १३, शुक्रबार

“तुलसीपुर नगर विकासको अध्यक्षमा – पाण्डे”, तुलसीपुरलाई नमुना र स्मार्ट बनाउने भनाई

बैशाख १७, २०७६  | ११९३ पटक पढिएको

– साक्षी खबर
१७ वैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर नगर विकास समितिको अध्यक्षमा मेयर घनश्याम पाण्डे नियुक्त भएका छन् । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत २०७५ बैशाख १२ गतेको सचिव स्तरिय निर्णय अनुसार स्थानीय निकायलाई सञ्चालनको जिम्मा दिने भन्ने परिपत्र अनुसार पद हस्तान्तरण गरिएको हो । नगरविकास समितिका अध्यक्ष यज्ञबहादुर के.सी.ले आज मंगलबार एक कार्यक्रमका बिच औपचारिक रुपमा तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष तथा नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई स्मार्ट र नमुना शहर बनाउने बताए ।उनले तुलसीपुर
क्षेत्रको बृहत्तर विकास गर्दै सुरक्षित, व्यवसायिक र विकसित शहरका रुपमा विकास गर्न आफु लागि पर्ने बताए ।

उनले २३ साल देखि सञ्चालनमा आएको तुलसीपुर नगर विकासको ईतिहास खोजेर पहिलेको शहर र अहिलेको नयाँ शहर सञ्चालन गर्ने विधिका बारेमा व्यापक छलफल र अन्तरक्रिया गर्ने योजना समेत अघि सार्ने बताए । पाण्डे यस अघि पनि एक कार्यक्रमका लागि नगर विकास समितिको अध्यक्ष भएर काम गरिसकेका छन् ।

समितिका अध्यक्ष यज्ञबहादुर केसिको अध्यक्षतामा भएको पद हस्तान्तरण कार्यक्रममा बोल्ने वक्ताहरुले तुलसीपुरलाई व्यवस्थित रुपमा विकास गर्न सुझाव दिएका थिए । उनिहरुले नगर विकास समितिले उच्च अदालत तुलसीपुरलाई जग्गा दिने भनि गरेको निर्णय तत्काल कार्यान्वयन गराउन पहल थाल्न समेत अनुरोध गरेका थिए ।

कार्यक्रममा नागरिक समाज दाङका सल्लाहकार एवं उपभोक्ता समितिका संयोजक टिकाराम रेग्मीले नगर विकासले दोघर्रेमा सुरु गरेको प्लानिङलाई व्यवस्थापन गर्दै सार्वजनिक संरचनाहरु निर्माणमा पहल थाल्न सुझाव दिए ।

त्यसै गरि कार्यक्रमका अध्यक्ष यज्ञबहादुर केसीले आफुहरुको पालोमा महत्वपूर्ण कामहरुको सुरुवात भएको भन्दै राम्रा कामहरुको निरन्तरता हुनुपर्नेमा जोड दिए । उनले अरणिको मैदानलाई खेलमैदानका रुपमा विकास गर्नका लागि काम अगाडि बढेको, दोघर्रे जग्गा एकीकरण आयोजनामा नाला निर्माणको काम सम्पन्न, बिजुलि र खानेपानी व्यवस्थापनका लागि ५० लाख रकम विनियोजन गराउन सफल भएको बताए । उनले उच्च अदालतलाई जग्गा प्रदान गर्न सफल भएको भन्दै आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख परिक्षित कडैया, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत आनन्द सारु, पुर्व सदस्य सचिव टिकाराम पोख्रेल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण कार्यालय प्रमुख लिलाबाबु सिवाकोटीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस