२०७९ माघ २६, बिहीबार

बन्ने भयो बिजौरी छिल्लीकोट पर्यटन मार्ग

बैशाख १६, २०७६  | १२८८ पटक पढिएको

१६ वैशाख, तुलसीपुर (दाङ) / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को बिजौरीदेखि छिल्लीकोट हुँदै रोल्पा जोड्ने सडक फराकिलो हुने भएको छ । पर्यटन मार्गका रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको सडक १२ मिटर चौडा बनाएर निर्माण हुने वडाध्यक्ष रामबहादुर योगीले बताए । अध्यक्ष योगीले पहिले नै सडक निर्माण भएको भएपनि त्यसलाई चौडा बनाउने र कालोपत्रे गर्ने काम सुरु गरिएको बताए । ‘छिल्लीकोटलाई पर्यटनको केन्द्र वनाउनका लागि यो सडक निर्माण हुने भएको हो’ अध्यक्ष योगीले भने ।

सडक निर्माण गर्दा त्यहाँ रहेका २ वटा सामुदायिक वनका केही रुखहरु काट्नुर्ने अवस्था रहेको भन्दै सोमवार सर्वपक्षीय छलफल भएको थियो । छलफलका क्रममा बाटो समृद्धिको सूचक भएको भन्दै उपभोक्ताहरुले तत्काल सडक निर्माणका लागि आग्रह गरे । सडकले छुने कालिका मालिका जलुके सामुदायिक वन र खानेपानी सामुदायिक वनका अध्यक्षहरुले सडकले अग्नी रेखाका रुपमा काम गर्ने भन्दै सडक फराकिलो बनाउने कुरालाई अगाडि बढाउन आग्रह गरे । कालिका मालिका जलुके सामुदायिक वनका अध्यक्ष मन्जु चौधरीले सडक फराकिलो बनाउनका लागि सबैसँग छलफल गरेको भन्दै आफुहरु यसबाट अत्यन्त खुसी भएको बताइन् ।

त्यस्तै स्थानीयवासी सीता वलीले सडक निर्माणसँगै छिल्लीकोटलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्नका लागि ध्यान दिन आग्रह गरिन् । कार्यक्रममा वोल्दै खानेपानी सामुदायिक वनका अध्यक्ष चन्द्रा खड्काले सानो सानो कुरालाई हेरेर अवरोध सृजना गर्नुभन्दा पनि उपलब्धिलाई विशेष ध्यान दिनुपर्ने उनको कथन थियो । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सडक निर्माणसँगै अन्य भौतिक संरचना निर्माणमा पनि ध्यान दिनुपर्ने उल्लेख गरेका थिए ।

कार्यक्रममा सबैका कुरा सुनिसकेपछि प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले यो वर्ष २ करोडको काम भएको भएपनि आगामी वर्ष प्रदेश सरकारबाट १५ करोड माग गरेर सडकलाई पूर्णता दिने वताए । १२ मिटर चौडा सडक निर्माण हुन लागेकोमा आफु खुसी भएको बताउँदै पाण्डेले सडक वरपर हराभरा वनाएर फरक पहिचान दिनुपर्ने कुरामा जोड दिए । उनले सडकले वनमा अग्नी रेखाको समेत काम गर्ने बताउँदै छिटो भन्दा छिटो निर्माणका लागि सघाउँन स्थानीय वासीलाई आग्रह गरे । जनताको विकासप्रतिको चाहनालाई सम्वोधन गर्दै अगाडि वढेको वताउँदै नगरप्रमुख पाण्डेले छिल्लीकोटमा केवलकार चलाउनका लागि केही कम्पनीसँग कुरा भइरहेको समेत बताए ।

वडाध्यक्ष रामवहादुर योगीको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल संस्कृत विद्यापिठका प्राचार्य माधव अधिकारी, नेकपाका नेता खुसीराम चौधरी, रामबहादुर दहित, स्थानीय परविर पुन, सिता वली लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य देवराज विकले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई weeklyskp[email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस