२०७९ असार २३, बिहीबार

सेमिफाइनलमा इटली र स्पेन भिड्दै आज राति १२ः४५ बजे खेल सुरु

असार २२, २०७८  | २७३ पटक पढिएको

२२ असार, काठमाडौं ।

युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

यी दुई टोली युरोकपको नकआउट राउण्डमा भिड्न लागेको यो लगातार चौथो पटक हो । सन् २००८ र २०१२ मा स्पेनले इटलीलाई पराजित गरेको थियो भने २०१६ मा इटलीले बदला लिएको थियो ।

पहिलो पटक युरोपको ११ देशमा आयोजना भएको युरोकपको अब बाँकी तीन खेल वेम्वली मैदानमा हुनेछ । जहाँ करीब ६० हजार दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ ।

तर इटली र स्पेनका समर्थकको लागि भने धेरै टिकट दिइएको छैन । इटालियन फुटबल संघका अध्यक्ष गाब्रिएल ग्राभिनाले ६० हजारमध्ये १२५ टिकट मात्र दिएको बताए ।

इटलीका प्रशिक्षक रोबर्टो मान्सिनीले इटली र स्पेनका समर्थक त्यहाँ नहुनु राम्रो नभएको बताए । तर उनले थोरै मानिसको अगाडि खेल्नुभन्दा धेरैको अगाडि खेल्नु राम्रो हुने बताए ।

स्पेनका प्रशिक्षक लुइस एनरिकेले यो असामन्य अवस्था भएको भन्दै त्यहाँ इंग्लिसभन्दा स्पानिस र इटालियन समर्थक धेरै होस् भन्ने अपेक्षा राखेका छन् ।

इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो ।

यूईएफएका अनुसार समग्रमा अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११–११ खेल जितेका छन् । १५ खेल बराबरीमा सकिएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस