२०७८ असोज ११, सोमवार

चरीचुच्चे ‘च’

असार ११, २०७८  | १४३२ पटक पढिएको

चरिचुच्चे ‘च’ एउटा आफैंमा अचम्मको अक्षर हो । यसको यति सम्म लामो चुच्चो छ कि जो जतिसुकै बुज्रुक भएपनि तथा ठुलै विश्वविद्यालयको उपाधी प्राप्त गरेपनि जोकोहीले यस चुच्चे ‘च’ को चुरो भेटाउन सक्दैनन् । सानोमा कखरा पढ्ने बेला कपुरी ‘क’ देखि लिएर ज्ञानी ‘ज्ञ’ सम्मका सम्पूर्ण अक्षरहरु सायद प्राय सबैलाई कण्ठस्थ नै हुन्छ । ती ३६ वटा अक्षरहरु मध्ये अलीक विशेष प्रकारको अक्षर चरीचुच्चे ‘च’ हो ।

आजभोली कसैलाई रिझाउन होस् वा बिझाउन, फकाउन होस् या फुलाउन चकार प्रयोग नगरीकन खकार सहितको डकार आउनेवाला छैन । मानिस जीवनको हरेक क्षेत्रहरुसंग यसको घनिष्ट सम्बन्ध छ । राजनीति, समाजसेवा, नोकरी, व्यापार/व्यवसाय, कृषि र शिक्षाक्षेत्र आदीसम्म कुनै न कुनै प्रकारले चरीचुच्चे’च’ संगको सम्बन्ध अवश्य नै हुने गर्दछ ।

घरको बिजुली, पानीको बिल तिर्ने देखि लिएर छोराछोरीलाई पढाउने कार्य सम्म चुच्चे ुचुकारको आन्तरिक स्पष्टता मज्जाले झल्किन्छ । अझै यसमा कोहि सरकारी वा प्राइभेट संघसंस्थामा जागीरे छ अथवा जागीर खाने मामिलामा यत्रतत्र भौतारिरहेको छ भने ‘च’ को महत्त्व राम्ररी बुझेको नै हुनुपर्छ । जागीर सानो पियन पदको होस् या कुनै ठुलै हाकिमको नै, हैरानको यति विघ्न भकारी भर्नुपर्दछ कि समयानुकूल सारा दुनियाँको गोच्चर पनि गर्नुपर्ने हुन्छ ।

आजभोलिको जमानामा केवल आवेदन अनि निवेदनको भरमा मात्र नोकरी मिलिहाल्छ भन्ने सोच्नु चेतनरहितको अवस्थामा सपना देख्नु मात्र हो । त्यसैले नोकरीको लागी हाकिमको टेबुलमाथी पस्किन हातमा प्रमाणपत्र, सर्टिफिकेट र निवेदन समातेर होइन चरीचुच्चे ‘च’को चादर लिएर जानुहोस् क्षणभरमै नोकरी प्राप्त हुन्छ । अन्यथा नोकरी पाउँला र खाउँला भनी लामो समयदेखी तड्पिएका भङ्गालाहरु एक सेकेन्डमै फुट्न सक्छन् । यो कुरा सबैलाई हेक्का हुन जरुरी छ कि वर्तमानको समयमा जो कोहीले कुनै पनि कार्य गर्दा दौड मात्र होइन धुप पनि बाल्नुपर्दछ । पूर्वोक्त चरीचुच्चे ‘च’ भन्नू नै एक प्रकारको धुप हो । जसको सुगन्धले लठ्ठ बनाई जस्तोसुकै असम्भव कार्यलाई पनि सरल तरिकाले सम्पन्न गराउने सामर्थ्य राख्दछ ।

कुनै पनि कार्यको लागि असली प्रमाणपत्र भनेको नै ‘च’कार बाट आउने चाकडी चाप्लुसी, चलखेल, चातुर्य, आदि हुन् भने स्तुति, भक्ती, वर्णन, पुच्छर र घुस आदि यसका छिमेकि शब्दहरु हुन्। नेपाली समाजमा उक्चकोटीमा रहेको तथा नेपाली जनताहरुको लोकप्रियको दर्जा प्राप्त गरेको ‘चम्चा’ शब्द यहि चुच्चे ‘च’कारको जेठो सन्तान हो भन्दा फरक नपर्ला । यसर्थ कोहि कसैको चम्चागिरि नगरेर स्वतन्त्र रुपमा यस चरिचुच्चे ‘च’लाई राम्रोसंग चिन्तन गर्नुहोस् अनि चित्तबुझ्दो जवाफ आफैंमा प्राप्त हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस