सामुदायीक विद्यालयहरु छात्रामैत्री हुन आवश्यक छ

– दिप्तीशिखा चौधरी
१३ बैशाख, दंगीशरण (दाङ) / छात्राहरुको समस्यालाई मध्यनजर गर्दै बिद्यालयलाई छात्रामैत्री बिद्यालयको रुपमा परिचित गराउँन कक्षा कोठामै छात्राहरुलाई नेतृत्व गर्न सक्ने सीपको विकास गर्नुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । सम्पूर्ण सामुदायिक विद्यालयहरु छात्रामैत्री हुनुका लागि ६ कक्षा देखि माथिल्लो तहका छात्राहरुका लागि छुट्टै शौचालयको व्यवस्था, महिनावारीका सयममा सहजताका लागि प्याडको व्यवस्था, महिनावारी स्वच्छता व्यवस्था, छात्रामैत्री अतिरिक्त क्रियाकलाप जस्ता कुराहरुमा विद्यालयमा हुनुपर्ने उनीहरुले बताएका हुन् । दंगीशरण गाउँपालिकामा आज शुक्रबार समपन्न भएको छात्रामैत्री विद्यालय सुधार योजना अद्यावधिक अभिमुखीकरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

साथै उनीहरुले मानव पूँजीको विकास विद्यालयमा गर्नुपर्ने धारणा राखे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञ बहादुर के.सीले सामुदायीक विद्यालयहरु मर्ज हुने अवस्थामा पुगेको भन्दै शिक्षकहरु कर्तव्यनिष्ठ भएर कर्तव्य पालना गर्नुपर्ने बताए । उनले अब पनि शिक्षकहरु चिन्तीत नभएमा सामुदायीक बिद्यालयको हवीगती खस्केर जाने बताए । यस्तै प्राथमिक बिद्यालय कौवाघारीका प्रद्यानाध्यापक लक्ष्मण देवकोटाले बिद्यालयलाई अझ राम्रो बनाउन स्थानीय तहले आर्थीक पाटोबाट सहयोग गर्नुपर्ने बताए । उनले विद्यालयमा अनिवार्य रुपमा स्मार्ट क्लास दिवा खाजा व्यवस्थापन, स्वच्छ खानेपानीको, शिक्षक तालिम योजना हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमूख विनोद अधिकारीले सामुदायीक विद्यालयले विद्यालयको पृष्ठभूमि, भौगोलिक अवस्था, सेवा क्षेत्र, शिक्षक तथा विद्यार्थी विवरण, शिक्षण सिकाई उपलब्धि, शिक्षक हाजिरी, औषत आम्दानी खर्च, प्राथमिक्तायूक्त योजना, सम्पति विवरण, विद्यालय सुधार योजना जस्ता कुराहरुले विद्यालयले फेरिरहनुपर्ने बताए ।

विद्यालयका योजनाहरुमा विद्यार्थी भर्ना अभियान छुटाउनै नहुने योजना रहेको भन्दै आधिकारीक योजनाहरु लीपीबद्ध तरिकाले राख्नु नै विद्यालय सुधार योजना रहेको बताए । विद्यालयले योजना बनाउँदा वित्तीय, संगठन, जिम्मेवार र भौतिक अवस्थालाई विशेष प्राथमिक्तामा राख्नुपर्ने बताए ।
यसका साथै विद्यार्थीहरुलाई शिक्षण सिकाई क्रियाकलाप गराउँदा उनीहरुको प्रकृति स्मार्ट, नम्वर स्मार्ट, सांगितिक स्मार्ट र बौद्धिक स्मार्टलाई बुझेर शिक्षण गराउनुपर्ने उनको भनाई थियो । विद्यार्थीको क्षमता अनुसार शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउनुपर्ने भन्दै बालबालिकालाई पढाई भन्दा अतिरिक्त क्रियाकलापमा संलग्न गराउनुपर्ने कुरामा जोड दिए ।
आई.एम नेपालको सहयोग तथा सिड सस्ंथाको आयोजनामा कार्यक्रम भएको हो । सिड संस्थाका कार्यकारी निर्देशक भागीराम चौधरीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतिथ्यता तथा गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलको विशिष्ट आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । सुमन चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सिडका कार्यक्रम संयोजक माधव चौधरीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस