प्रजातान्त्रिक संस्कारको विकास गरौं

बंशीकुमार शर्मा  |  बैशाख २१, २०७८  | १९१ पटक पढिएको

मुलुकको राष्ट्रियता सँगसँगै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको सम्बन्ध जोडिएको हुन्छ । मुलुक रहे सबै तन्त्र रहन्छन् मुलुक नरहे कुनै तन्त्र रहँदैनन् । जब मुलुक रहन्छ तबमात्र व्यवस्था र तन्त्रको आवश्यकता पर्दछ । यदि मुलुकै नरहे व्यवस्थाको जरुरत पर्दैन ।

राष्ट्रियता र प्रजातन्त्रबिना प्रजातान्त्रिक राष्ट्रको कल्पनासमेत गर्न सकिदैन । यी तत्वहरुले राजनीतिमा सर्वाधिक महत्व राख्दछन् । सबै राजनीतिक दलका प्रमुख एजेण्डा राष्ट्रियता र प्रजातन्त्र नै हुन्छ । र उनीहरुको घोषणापत्रले यसको पुष्टि गरेको देखिन्छ । राजनीतिक दलका नेताहरु आफू र आफ्नो पार्टी सर्वाधिक राष्ट्रवादी र प्रजातन्त्रवादी भएको प्रमाणित गर्न ठूलो–ठूलो स्वरले गर्जने गर्दछन् । हुनतः यसको परिभाषा आ–आफ्नै तरिकाले बेग्लाबेग्लै गरेको पाइन्छ । परिभाषा जस्तो भए पनि राष्ट्रियता र प्रजातन्त्र राष्ट्रका अभिन्न अंग हुन् ।

राष्ट्रबिना प्रजातन्त्र सम्भव छैन । राष्ट्र नभए प्रजातन्त्रको के काम ? राष्ट्रका अगाडि प्रजातन्त्र गौण हो । राष्ट्र नै सर्वाेपरी हो । राष्ट्र भए सबै तन्त्र हुन्छ । राष्ट्रलाई बचाइ राख्न जस्तोसुकै तन्त्र अपनाए पनि हुन्छ । तर विद्यमान राष्ट्रलाई बचाई राख्न समयानुसार तन्त्र अपनाउनु उपयुक्त देखिन्छ । राष्ट्रियता विभिन्न तन्त्रमा अटाएको हुन्छ । परिभाषा मात्र फरक हो । निरंकुशतामा राष्ट्रियता हुन्छ । निरंकुशता शासन भएको देशमा नेतृत्वले मात्र एक्लै राष्ट्रियता बोकेको जस्तो भान हुने भएकोले अरुले जर्बजस्ती राष्ट्रियता बोकाएको महशुस गर्दछन् । फलस्वरुप राष्ट्रियता निरंकुशता जस्तो बन्न जान्छ । यो परिभाषा इतिहासले प्रमाणित गरिसकेको छ ।

मुसोलिएन, हिटलर जस्ता शासक अति राष्ट्रवाद थिए । शासक तानाशाह भएकै कारण राष्ट्रियता निरशंकुशतामा परिणत भयो । यसलाई सिद्ध गर्नु पर्दैन । अरु कसैले प्रमाणित गरी देखाइसक्यो । हुनतः मुलुकलाई बाह्य हस्तक्षेप र सिङ्गो मुलुक जोगाई राख्न अति राष्ट्रवाद उपयुक्त देखिन्छ र मुलुकको लागि फलदायक हुन सक्छ । तर मुलुक जोगाउन जति मेहनत गर्नु पर्दछ त्योभन्दा अति राष्ट्रवाद जोगाउन दोब्बर गुणा बढी मेहनत गर्नुपर्दछ ।

त्यसरी जोगाइराखेको मुलुकलाई सानो गल्तीले पनि क्षणभरमा भताभुङ्ग पार्न सक्छ । त्यसैले प्रजातन्त्रमा पनि राष्ट्रियता अटाएको हुन्छ । प्रजातन्त्रमा सबैले जिम्मेवारी महसुश गर्ने भएकोले राष्ट्रियता जोगाउन सबैको कर्तव्य ठहरिन्छ । समान हक र समान दायित्व बोध भएको कै कारण प्रजातन्त्रमा राष्ट्रियता अटाएको हो । यसमा शासकको मात्र जिम्मेवारी ठहर्दैन । केवल शासकले नीति निर्माण गर्दा सबैलाई समेट्न सक्नुपर्दछ । यदि नेतृत्वले सबै वर्ग तहलाई समेट्न नसक्नु वा नचाहनु त्यसको कमजोरी हो । या राष्ट्रियता र प्रजातन्त्रलाई प्रयोग गरेर सत्तामा जाने षड्यन्त्र हो । विडम्वना नै मान्नु पर्दछ । आजको हाम्रो राजनीतिमा यही नै भइरहेको छ । सैद्धान्तिक रुपमा राष्ट्रियता र प्रजातन्त्रको पक्षमा वकालत गर्न नथाक्ने नेताहरु व्यवहारमा कति प्रतिबद्ध छन् भन्ने कुरा उनीहरुको चरित्रले देखाइसकेको छ । राष्ट्रियता र प्रजातन्त्रप्रति कति बफादार छन् भन्ने नाप्ने कसी त उसको व्यवहार नै हो ।

अरु सबै पुरानै ढर्राबाट राज्य सञ्चालन हुन पुग्यो । त्यसैले भन्ने गरिन्छ ‘जति जोगी आए पनि कानै चिरेका ।’ हुन पनि आन्दोलन गर्दा मुलुकलाई सिङ्गापुर, स्वीटजरल्याण्ड बनाइदिन्छौ भनेर भाषण गर्ने । राष्ट्रियता प्रजातन्त्र सुदृढ हुनेछ भन्ने गुलिया नारा दिएर जनआन्दोलन–२ सफल भए पश्चात पाँच वटा शक्तिशाली व्यक्तित्वहरुले मुलुकको नेतृत्व गरिसकेका छन् । तर मुलुक र जनताको लागि केही गरौं भन्ने संकल्प त्यसप्रतिको समर्पण देखाउन तिनीहरुले सकेका छैनन् ।

प्रतिपक्षमा रहँदा राष्ट्रियता र प्रजातन्त्रको विषयमा वकालत गर्न सबैलाई सजिलै हुन्छ तर सत्तामा पुगेपछि आफ्नो व्यवहारबाटै आफू राष्ट्रवादी र प्रजातन्त्रवादी भएको प्रमाणित गर्न भने जो कोहीलाई गाह्रै पर्दछ । आज हाम्रो मुलुकको राजनीतिमा यही भएको छ । बहुदलीय व्यवस्था पुनः स्थापना पछि मुलकुमा धेरै पार्टी जन्मिए सबैले एउटै नारा लगाए राष्ट्रियता र प्रजातन्त्र खतरामा छ । शिशु प्रजातन्त्रको हत्या हुुँदैछ । मुलकुमा बाह्य हस्तक्षेप बढ्दै छ ।

नेपाल अघोषित रुपले उपनिवेश भयो । असमान सन्धी खारेज हुनुपर्दछ । जस्ता कयौं राष्ट्रियताका मुद्दा उठाएर संगठन गरे, जनयुद्ध गरे फलस्वरुप जनआन्दोलन–२ पश्चात मुलुकमा गणतन्त्र स्थापना भएको छ । त्यस पश्चात आन्दोलनकारीका नाइकेहरुले पालैपालो मुलुकको नेतृत्व गर्ने अवसर पाएका छन् तर उनीहरु विपक्षमा रहँदा र सत्तामा हुुदाको बखतमा बोली व्यवहारमा कति फरक छ ? केवल उनीहरु सत्तामा जानको लागि राष्ट्रियताका विषयलाई उठाएको देखिन्छ । किनकी आजसम्म मुलुकको नेतृत्व गरेका व्यक्तिको कार्यशैली, काम गर्ने तरिका, नीति निर्माण, प्रशासनिक कार्यशैली र कार्यान्वयन प्रक्रियालाई आजका नेतृत्व व्यक्तिले निरन्तरता मात्र दिएका छन् । कुनै नयाँपन ल्याएका छैनन् । नेपाली जनताको इच्छा भावना व्यवस्था परिवर्तन सँगसँगै सबै परिवर्तन गर्ने थियो तर केवल नाम मात्र परिवर्तन भयो ।

त्यसैले प्रजातन्त्रको विकल्प छैन । प्रजातन्त्रको माध्यमबाट नै राष्ट्रियता खोज्नु पर्छ । हाम्रा नेता तथा प्रशासकहरुमा प्रजातान्त्रिक संस्कारको कमी भएकै हो । त्यसैले प्रजातन्त्रको व्याख्या होइन व्यवहारमा उतार्नको लागि प्रजातान्त्रिक संस्कार अबलम्बन गर्नुपर्दछ । तसर्थ प्रजातन्त्रलाई कुनै राजनीतिक पद्धतिको दायराभित्र मात्रै सीमित नराखी जीवन पद्धतिको सिङ्गो चरित्रकोरुपमा अङ्गिकार गर्नुपर्दछ तबमात्र कुनै भेदभावरहित सबै जनताको इच्छा नै सार्वभौम हुन्छ ।

अरु सबै पुरानै ढर्राबाट राज्य सञ्चालन हुन पुग्यो । त्यसैले भन्ने गरिन्छ ‘जति जोगी आए पनि कानै चिरेका ।’ हुन पनि आन्दोलन गर्दा मुलुकलाई सिङ्गापुर, स्वीटजरल्याण्ड बनाइदिन्छौ भनेर भाषण गर्ने । राष्ट्रियता प्रजातन्त्र सुदृढ हुनेछ भन्ने गुलिया नारा दिएर जनआन्दोलन–२ सफल भए पश्चात पाँच वटा शक्तिशाली व्यक्तित्वहरुले मुलुकको नेतृत्व गरिसकेका छन् । तर मुलुक र जनताको लागि केही गरौं भन्ने संकल्प त्यसप्रतिको समर्पण देखाउन तिनीहरुले सकेका छैनन् । हुनत तिनीहरुसँग नयाँ भिजन र अनुभवको कमी हुन सक्छ तर राजनीतिक नेतृत्व गर्ने व्यक्ति, शासक, प्रशासक र विधायक समेतको आचरण व्यवहार र कार्यशैली सबै कुरा प्रजातान्त्रिक नभएकै कारण यसैको कमी आज सर्वत्र देखिएको छ । थोरै समयमै जनता प्रजातन्त्रप्रति चिन्तनशील भएको देखिन्छ ।

त्यसैले प्रजातन्त्रको विकल्प छैन । प्रजातन्त्रको माध्यमबाट नै राष्ट्रियता खोज्नु पर्छ । हाम्रा नेता तथा प्रशासकहरुमा प्रजातान्त्रिक संस्कारको कमी भएकै हो । त्यसैले प्रजातन्त्रको व्याख्या होइन व्यवहारमा उतार्नको लागि प्रजातान्त्रिक संस्कार अबलम्बन गर्नुपर्दछ । तसर्थ प्रजातन्त्रलाई कुनै राजनीतिक पद्धतिको दायराभित्र मात्रै सीमित नराखी जीवन पद्धतिको सिङ्गो चरित्रकोरुपमा अङ्गिकार गर्नुपर्दछ तबमात्र कुनै भेदभावरहित सबै जनताको इच्छा नै सार्वभौम हुन्छ । तबमात्र प्रजातन्त्र राज्य वा राष्ट्रको मात्र नभई समाज, व्यक्तिको पनि हुन्छ । त्यसैले समयानुसार प्रजातन्त्रको व्याख्या गर्दै प्रजातान्त्रिक संस्कारको विकास गर्नुपर्दछ । तबमात्र मुलुकले निकास पाउनेछ । यसैमा नै राष्ट्रियता छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार