एकलेनमा झर्यो चारलेन, यातायातमा संकट

बैशाख ०३, २०७८  | १०४५ पटक पढिएको

०३ बैशाख, बिजौरी ।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको दुई वर्षसम्म पनि घोराही–तुलसीपुर सडक चारलेनको काम अपेक्षा अनुरुप अघि बढ्न सकेको छैन ।

यसले गर्दा नागरिकहरुसँगै यातायात व्यवसायीहरुले सास्ती भोगिरहेका छन् भने दुर्घटनाका घटनाहरु पनि दिनदिनै बढिरहेका छन् । निर्माणमा संलग्न व्यवसायी र सरोकारवाला परियोजना कार्यालय र यहाँका जनप्रतिनिधिहरु भने काम गुणस्तरीय र छिटो छरितो गराउने सन्दर्भमा मौन बसिरहेका छन् ।

सडक निर्माण ठेक्कामा यहाँका जनप्रतिनिधिकै पारिवारिक लगानी समेत भएका कारण ढिलासुस्तीप्रति मौतना देखिएको नागरिक अगुवाहरुले बताएका छन् । भारतको मुम्बैस्थित तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रास्टक्चर प्रालिले आधिकारिकरुपमा निर्माणको ठेक्का लिए पनि साइटको काम भने यहीकै पेटि ठेकेदारहरुले गर्दै आएका छन् ।

पेटि ठेकेदारले गरेको काममा ढिलासुस्तीसँगै गुणस्तरमा समेत समस्या भए पनि निर्माण कम्पनी र नेपाल परियोजना कार्यालयबीच समेत सौहार्दता देखिएको छैन । गुणस्तर र ढिलासुस्तीको विषयलाई लिएर परियोजना कार्यालयले निर्माण कम्पनीलाई पेनाल्टी स्वरुप कम्तिमा ३ करोड जरीवाना समेत गराइसकेको बताइएको छ ।

चारलेन सडकका रुपमा स्तरोन्नति हुने भनिएको सडक निर्माणका लागि कोभिडको कारण देखाउँदै ६ महिना म्याद थपिए पनि त्यो समय सीमामा काम सम्पन्न हुने कुनै आधार नदेखिएको यातायात व्यवसायीहरुले बताएका छन् । हाल निर्माणको काम अत्यन्तै न्युन गतिमा छ । विगत एक महिनादेखि साइटमा प्रायः सबै काम ठप्प भएका छन् । परियोजना कार्यालयका अधिकारीहरु भने हालसम्म निर्माण भएको कामको विल मिलानका लागि काठमाण्डौ स्थित परियोजना मुख्यालयमा पुगेको श्रोतले बताएको छ ।

हामी सन्तुष्ट छैनौंः परियोजना

यसैबीच चारलेन सडक परियोजनाका प्रमुख पारस हमालले आफुहरु निर्माण कम्पनीको कामबाट कत्ति पनि सन्तुष्ट नभएको बताउनु भएको छ । यति ठूलो परियोजनामा श्रोतसाधन र इन्पुटको अवस्था अत्यन्तै दयनीय भएको भन्दै उहाँले यसको विकल्प खोज्न परियोजना बाध्य हुने पनि बताएका छन् ।

न इक्युपमेन्ट छन् न त पेटि ठेकेदारसँग पर्याप्त जनशक्तिनै देखिएको छ’, हमालले भने कोभिडका कारण थपिएको म्यादसम्म पनि निर्माणको काम यस्तै भयो भने परियोजना निर्माण कम्पनीलाई कारबाहिको प्रक्रियामा अघि बढ्ने पनि हमालको अभिव्यक्ति थियो ।

उता परियोजनाको ठेकेदार तथ्य इन्जिनियरीङले भने भारतको एक्जिम बैंकमा काम तदारुकताका साथ सम्पन्न गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । यद्यपि यहाँका सञ्चारकर्मीले सम्पर्क गर्दा निर्माण कम्पनीका पेटि प्रतिनिधि सम्पर्कमा आउनै चाहँदैनन् ।

चार लेन स्तरोन्नतिका क्रममा सडक किनारा भत्काएर सिंगल लेनमा झारीएको छ । सडक भत्काउँदा र सिंचाइ कुलाहरु वाइपास बनाउँदा दर्जनौं स्थानमा सडक धुलाम्मे भएको छ । जसका कारण वायु प्रदुषण मात्र होइन, सडक काट्नै सवारीचालकलाई मुस्किल भएको छ ।

काममा ढिलासुस्ती हुँदा यस अघि परियोजनाले स्थानीय प्रतिनिधिलाई नै हटाएर फेरबदल गरेको थियो । यो पटक भने परियोजनाले निर्माण कम्पनीलाई कालोसुचिमा हालेर ठेक्का तोड्न सक्ने समेत चेतावनी दिइरहेको छ । तर ठेक्का निरन्तरताका लागि राजनीतिक दवाव समेत परिरहेको परियोजना श्रोतले बताएको छ ।

सडक स्तरोन्नतिका क्रममा सडक किनाराका रुख हटाउने काम सम्पन्न भैसके पनि विद्युतका पोल सार्ने काममा सडक विभाग र विद्युत प्राधिकरणबीच अझैसम्म पनि आधिकारिक रुपमा सहमति भएर काम सुरु भएको छैन ।

यो र त्यो वाहनामा विद्युत पोल सार्ने काम पनि हुन नसकेको बताइन्छ । तर विद्युतका अधिकारीहरुले पोल सार्न आफुले प्राविधिक सहयोग मात्र गर्ने बताएका छन् । पोल सार्ने काम पनि परियोजना भित्रै जोडिएकाले आर्थिक व्यवस्थापनको सबै काम सडक विभागबाटै हुनुपर्ने तुलसीपुर विद्युत प्राधिकरणका प्रमुख जगन्नाथ लामिछानेले बताए ।

हालसम्म सडकमा ग्याबिन पर्खाल निर्माणका काम मात्र केही क्षेत्रमा भएका छन् । साविक सडकलाई चौडा गरिने स्थानमा माटो फिलिङको काम समेत स्थगित भएको छ । जसले गर्दा सिंगल लेन सडकमा मुस्किलले सवारीसाधन सञ्चालन गर्नुुपर्ने बाध्यता रहेको सवारी चालक गजेन्द्र खड्काले बताएका छन् ।

सानादेखि भारी भारका सबै सवारीसाधनलाई यातायातमा निकै समस्या भएको छ । सडक स्तरोन्नति गरी हाल ५ किमि मात्र कालोपत्रे भएको सडकलाई एकातर्फ ७ मिटर र अर्कोतर्फ पनि ७ मिटर चौडाइमा कालोपत्रे गरिने बताइएको छ । मध्यभागमा ग्रिनबेल्ट राखिने र दुवै किनारामा पैदल ट्रयाक समेत बनाइने सम्झौता भए पनि हालसम्म कुनै पनि क्षेत्रमा यो नमुना अनुसारको कामको सुरुआत नै हुन सकेको छैन ।

अघिल्लो आर्थिक वर्ष कोरोना भाइरसको संक्रमणका कारण भएको लकडाउनको वाहना बनाउँदै निर्माण कम्पनीले म्याद थपका लागि वाहानाबाजी गरेको थियो । तर यो वर्ष पनि निर्माणको काम विवादै विवादमा अर्थरुपमा प्रगतिमा पुग्न सकेको छैन ।

यही गतिमा काम गरे दश वर्षमा पनि चारलेन सडक निर्माणको काम सम्पन्न हुन नसक्ने स्थानीयबासीहरुले बताएका छन् । काममा भएको ढिलासुस्तीका विषयमा निर्माणमा खटिएका कम्पनीका अधिकारीहरुले भने कुनै आधिकारिक अभिव्यक्ति सार्वजनिक गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार