छोरी हुनु अभिसाप हो र ?

माघ २१, २०७७  | २०१ पटक पढिएको

२१ माघ, तुलसीपुर ।

म ८ कक्षामा पढ्दै थिएँ, मलाई भर्खरै जस्तो लाग्छ आमाले ‘नानी तँ छोरा भएर जन्मिएकी भए’ भनेको । त्यो वाक्यले मन मात्रै होइन मस्तिष्क पनि छोएको हुँदो हो सायद, त्यसैले होला म बिर्सन सकिरहेकी छैन । सम्झना छ अहिले पनि, त्यो बेलामा केही प्रतिक्रिया दिन सकिन कि तर त्यो पल अहिले पनि ताजा छ, म सम्झिरहेकी छु ।

लागेको थियो छोराले दिने जति खुसी म दिन सक्दिनँ होला ? सायद सकिन होला । कहिले काहीँ यसो लाग्छ म छोरी भएकै कारण खुशी छैन कि ? म खुसी हुनु नहुनु फरक कुरा तर कयौं छोरी छोरी भएकै कारण दुखी छन् । हुन त हरेक कुराको लिमिट हुन्छ तर, त्यो महिलामा मात्रै बढी लागु हुनुपर्छ भन्ने मान्यता छ ।

सुशिल बन्न, सहनशील बन्न, जवाफ नफर्काउन, अन्याय सहेर बस्न, जस्तोसुकै समस्यामा पनि परिवार, समाज र राज्य कतै कसैलाई प्रतिप्रश्न नगर्न र आज्ञाकारी छोरी र आदर्श बुहारी बन्न महिलालाई मात्रै सिकाएको देखेकी छु, छोरीको सपना र रहरको वास्ता गरेको देखेकी छैन ।

यदि यो हाम्रो सस्कार हो भने, छोरालाई चाहिँ किन सिकाइदैन होला ? संस्कार छोरीलाई मात्रै सिकाउने हो र ? यसर्थ लाग्छ सस्कारका नाममा धेरै छोरीलाई बन्धक बनाइदै छ, असल र संस्कारी बन्ने नाममा सहन नसकिने पीडा सहेका हुन्छन् छोरीहरूले ।

छोरीहरूले धेरै कुरा सोचेर गर्नुपर्छ बोल्न, खान, बस्न, उठ्न, लाउन, सबै सबै, यसै यसै अल्झिरहेका छन् महिला । जन्मनुपूर्व नै आमाबुबाको चित्तमा पर्नुपर्छ, त्यसो भएन भने गर्वमा नै मारिन्छ कतिपय छोरीलाई । यसो गरिरहँदा सोचिदैन, बहुप्रतिभावान, साहसी महिला पनि छन् ।

आ–आफ्नो कर्मले परिचित बनेका जस्ले आ–आफ्नो क्षेत्रमा वर्चश्व कायम गरेका छन् । उदाहरणका लागि नेपालको प्रथम राष्ट्रपतिमा विद्यादेवी भण्डारी २०७२ सालमा चुनिएसँगै नेपाली महिलामा एक किसिमको उत्साह सिर्जना भएको छ । त्यस्तै सुशिला कार्की न्यायाधीश बनेसँगै महिलाको उपस्थिति ऐतिहासिक बनेको छ, उनी नेपालको प्रथम महिला न्यायाधीश बनिन् ।

यस्तै शाहसीक महिला खेलाडी, मिरा राई, नेपाल प्रहरी संगठनमा आबद्ध किरण बज्राचार्य, प्रसिद्ध समाजसेवी अनुराधा कोइराला, यी उत्कृष्ट महिला जसबाट छोरीहरूले पनि सक्छन् भन्ने प्रश्नको उदाहरण सहित प्रस्ट हुन्छ । यसरी अबका महिलाहरु चुलो चौकामा मात्रै सीमित हुनु हुँदैन, म सक्दिन कि भन्ने चिन्तनको आफैंबाट अन्त्य हुन जरुरी छ ।

अझै पितृसत्तात्मक प्रभुत्वले समाजमा महिलालाई दोस्रो दर्जाको रुप दिएको छ । नेपालमा महिलाका समस्या के हुन् ? कसरी समाधान गर्ने ? त्यो सब चिनिएको छ तर आश्चर्य छ समस्या सुल्झाउन सकिएको छैन ।

महिलाले गरेको कामको उच्च मुल्यांकन गर्ने वातावरणको विकाश भएको छैन, हरेक कुराहरू भाषण, घोषणापत्र, र आदर्शहरुमा मात्रै सीमित छन् । समान कामका लागि समान ज्याला माग गर्दै झण्डै एक शताब्दी अघिदेखि अमेरिका लगायत विभिन्न ठाउँमा महिलाहरुले आन्दोलन सुरु गरेको तर अझै विभिन्न ठाउँमा महिला पुरुष भनेरै छुट्याइएको पाईन्छ । अब त यसो हुनु हुँदैन । आफ्ना आकांक्षा पुरा गर्न कुनै श्रीमती श्रीमानको शरणमा पर्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।

सदियौंदेखि हाम्रा आमाहरु चुलो चौकामै सीमित हुँदै आउनुभयो अबका महिला त्यसरी मात्रै अल्झनु ह्ँदैन । अब सोचहरु परिवर्तन हुन आवश्यक छ आवश्यक मात्रै होइन जरुरी छ । छोरीले पनि चोट सहन सक्नुपर्छ, लड्न, उठ्न, ठोक्किन सिक्नुपर्छ । सपना देख्ने र पुरा गर्ने साहस गर्नुपर्छ ।

यो भुल्नु हुँदैन महिलाको पनि सोच्न सक्ने शक्ति छ, जस्लाई भुत्ते होइन क्रेटिभ बनाउन जरुरी छ । अतः छोरी अभिसाप होइन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार