२०७९ माघ १७, मंगलबार

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बिहिबार औपचारिक उद्घाटन

बैशाख ०६, २०७६  | १०५१ पटक पढिएको

नेपालगञ्ज र दाङमा हुने प्रतियोगितामा ३५ खेल, ५२ सय ११ खेलाडी

६ बैशाख, दाङ / ०३८ देखि सुरु भएको देशको खेलक्षेत्रकै प्रतिष्ठित र सर्वाधिक अपेक्षित राष्ट्रिय खेलकुद प्रतियोगिता ३३ वर्षपछि नियमित भएको छ । ०७३ मा विराटनगरमा सातौँ संस्करण सम्पन्न भएको दुई वर्षपछि नेपालगन्जमा आठौँ संस्करण आयोजना गरिएको हो । ०४२ पछि प्रतियोगिता नियमित हुन सकेको थिएन ।

चैत्र २७ बाट सुरु भएको प्रतियोगिताको बिहीबार नेपालगन्ज रंगशालामा भव्य कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गरेकी हुन् । प्रतियोगितालाई आगामी मंसिरमा नेपालमै हुने १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि छनोटको आधार मानिएको छ । उद्घाटनमा सातै प्रदेश, एनआरएनए, विभागीय टिमलगायत सहभागी खेलाडीले मार्चपास गरेका थिए । त्यस्तै सांस्कृतिक कार्यक्रम, झन्डोत्तोलन, ओलम्पिक टर्चको प्रदर्शनी गरिएको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिता शरदचन्द्र शाहको अवधारणामा सुरु भएको हो । ०३८ (काठमाडौं) देखि लगातार ०४० (पोखरा), ०४२ (नारायणी) मा बृहत् राष्ट्रिय खेलकुद आयोजना भयो । त्यसपछि तीन दशकसम्म नियमित भएन । देशको आन्तरिक समस्याका कारण नियमित प्रतियोगितामा अवरोध पुग्यो । चौथो राष्ट्रिय खेलकुद नेपालगन्ज (०५५), पाँचौँ काठमाडौं (०६४), छैटौँ धनगढी (०६८) र सातौँ विराटनगर (०७३)मा सम्पन्न भयो । आठौँ खेलकुद भएसँगै ३३ वर्षपछि राष्ट्रिय खेल नियमित भएको छ ।

प्रतियोगितामा छनोट चरण पार गरेर आएका ३५ खेलका पाँच हजार दुई सय ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा पुरुषतर्फ दुई हजार आठ सय २५ र महिलातर्फ दुई हजार तीन सय ८६ खेलाडी छन् । बिहीबारसम्म १४ खेल सम्पन्न भइसकेका छन् । प्रतियोगिताको औपचारिक समापन ११ वैशाखमा हुनेछ ।

दुईपटक प्रतियोगिता आयोजना गर्ने नेपालगन्ज मोफसलको पहिलो सहर
दुईपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउने नेपालगन्ज मोफसलको एक मात्र सहर भएको छ । ०५५ मा यो सहरले पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको थियो ।

०३६ मा बनेको नेपालगन्ज रंगशालामा पहिलो खेल आयोजना गर्दा भौतिक पूर्वाधार कमजोर थियो । यसपटक भने नेपालगन्जको मुहार फेरिएको छ । पूर्वाधार निर्माणका लागि मात्रै एक अर्बभन्दा बढी प्रदेश ५ मा खर्च गरिएकोमा नेपालगन्जमा सर्वाधिक भएको छ । नेपालगन्ज रंगशालामा १८ करोड खर्चमा ‘ग्रान्ड स्ट्यान्ड’ स्टिलमार्फत ३५ सय क्षमताको प्याराफिट निर्माण गरिएको छ ।

खेलकुद विकासका लागि अवसर
उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खेलक्षेत्रमा प्रतियोगिताले उल्लेखनीय योगदान पु(याउने बताइन् । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नेपाली खेलक्षेत्रका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता महत्वपूर्ण भएको बताए । समृद्ध मुलुक निर्माणका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले ३३ वर्षपछि पहिलोपटक प्रतियोगिताले निरन्तरता पाएको भन्दै आगामी दिनमा खेलक्षेत्रले प्रगति गर्दै जाने बताए ।

ओलम्पिक टर्च प्रज्वलन
पूर्वओलम्पियन सुरेन्द्र हमालले ओलम्पिक टर्च प्रज्वलन गरेका छन् । दुईपटक ओलम्पिकमा सहभागी हमालले दक्षिण एसियाली खेलकुदमा पदक जितेका थिए । ओलम्पिक टर्चलाई प्रतियोगिता उद्घाटनअघि सातै प्रदेश पुर्याइएको थियो । उक्त टर्चलाई पूर्वओलम्पियन खेलाडीले देशभर भ्रमण गराएका थिए । S. nayapatrika

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस