२०७९ माघ २१, शनिबार

#NepaliSat-1 नेपालको पहिलो भू–उपग्रह अमेरिकाको भर्जिनिया तटबाट प्रक्षेपण

बैशाख ०५, २०७६  | ८०३ पटक पढिएको

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह केहीबेरअघि अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ ।

सानै आकारको भए पनि नेपाली भू–उपग्रह प्रक्षेपण भएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले सामाजिक सञ्जालमा खुशी व्यक्त गरिरहेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ः३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा प्रक्षेपण गरिएको हो ।

त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ ।

ल्भउबष्क्बित(ज्ञ (नेपालीस्याट–१) नाम दिइएको नेपाली भू–उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखिएको छ।

त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।

बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू–उपग्रहलाई पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पुर्‍याउने कार्यक्रम रहेको थियो ।

बर्डस्–३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू–उपग्रह अन्तरिक्षमा पठाइएको हो ।

यो पहिलो पाइला हो

न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू–उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट–१ करिब एक किलो तौलको छ ।

उनको भनाइमा यो प्रविधिमा नेपालले अझै धेरै काम गर्न बाँकी छ ।

उनले भने, –‘नेपाल सरकारबाट पहिलो पटक लगानी आएकोले यो सम्भव भयो । आफ्नै भू–उपग्रह अन्तरिक्षमा लामो समयसम्म राख्ने चुनौती बाँकी नै छ । यो हाम्रो पहिलो पाइला हो ।’

उनको भनाइमा भू–उपग्रह प्रविधिमा नेपालले फड्को मार्न अझै धेरै काम गर्न बाँकी छ । त्यसको मतलब निरन्तर नेपाल सरकारले विज्ञान प्रविधि र भू–उपग्रहको विकासमा लगानी गर्न आवश्यक छ ।

भू–उपग्रहको फाइदा के के ?
मास्केका अनुसार यो भू–उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ ।

यो भू–उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग् भनिने प्रविधिको फाइदा लिन सक्छ ।

यसको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ ।

मास्केका विचारमा ती तस्बिरहरू सञ्चारमाध्यममा छाप्न उपयुक्त हुने खालका हुनेछन् । नेपालीस्याट–१ भू–उपग्रह लामो समयसम्म अन्तरिक्षमा रहने छैन ।

मास्केको अनुमानमा यो भू–उपग्रह अन्तरिक्षमा तीन महिनादेखि एक वर्षसम्म सञ्चालनमा रहनेछ ।

लामो समय सञ्चालनमा रहने भू–उपग्रह निर्माण गर्न र प्रक्षेपण गर्न नेपालले ठूलै लगानी गर्नुपर्ने उनको धारणा छ ।

यो भू–उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ ।

त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ । बिबिसीबाट

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस