मेरो पत्रकारिता

पुष २२, २०७७  | १५३ पटक पढिएको

एउटा कलम, डायरी
एउटा माईक, क्यामेरा
अनि मन भरी आफ्ना गुनासो लिएर
म सधैं निस्कन्छु अरूको गुनासो सुन्न,
आफूले खाली पेट कम्मर कसेर
म भोज भइरहेको ठाउँमा रिपोर्टिङ गरिरहेको हुन्छु
म आफ्नो दुःखलाई आफैमा लुकाएर
अरूको हाँसोलाई फोकस लगाई खिचिरहेको हुन्छु

म अचेल आफूलाई,
पिजडा को सुगासँग तुलना गर्छु,
जस्ले जे गर भन्छ त्यही गर्ने
जस्ले जे बोल भन्छ त्यही बोल्ने
कहिले काँही लाग्छ म एउटा मेसिन हुँ
छन् त छन् हजार शब्द आफूमा,
तर म त्यही लेख्छु जो अरूले लेखाउँछ
अझ भनौं लेख्न बाध्य बनाउ“छ
थाहा छैन म के भोगिरहेछु
तर म आफ्नो पेसामा स्वतन्त्रता खोजिरहेछु

दैनिकी जसोतसो चलेकै छ
साँझ बिहान घरमा आगो बलेकै छ
तर कसरी भन्ने कुरा सोच्दा आफै दुःखी हुन्छु
तिर्न बाँकी छन् चिया पसलमा उधाराहरू
अनि छिमेकीसँग लिएको चामलको पैँचो पनि
साथीसँग बसेर चिया नखाको धेरै भएछ,
क्या मज्जाका छन् साथीहरु,
भन्छन् त खूब मेहनती छस्,
त धेरै माथी पुग्छस्
म त्यही खोजीमा छु
आफै दुःख गरेर माथि पुग्ने
तर, म आफूले लेखेको पढ्न सक्दैन
आफूले देखेको देखाउन सक्दैन
मैले त्यही देखाउनु पर्छ जो अरूले देखा भन्छ,
मैले त्यही सुनाउनु पर्छ जो अरूले सुना भन्छ,
म के गर्दै छु ? आफूलाई सोधिरहेछु
म आफ्नो पेसामा स्वतन्त्रता खोजिरहेछु

मैले आज बेस्सरी सोचेर भन्दै छु
बिस्तारा मुनि थन्किएका मेरा लेखहरु
म सबैलाई सुनाउने छु पालै पालो
सुन्न चाहाने नचाहने सबैलाई
घरघरै पुगेर भए पनि
मेरो घा“टीमा झुन्डिएको मेरो आइडी कार्डलाई
म मज्जाले प्रयोग गर्ने छु,
म निडर भएर आफुले लेखेको आफै पढ्ने छु,
आफूले देखेको सबै देखाउने छु
हेर्न चाहाने नचाहने सबैलाई
मन भित्र लुकेको मेरो डर हटाएर
मेरो स्वतन्त्रता को लागि
म सधैं तयार हुने छु
म आज धेरै सोचिरहेछु
किनाकि म आफ्नो पेसामा स्वतन्त्रता खोजिरहेछु

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार