२०७९ माघ २४, मंगलबार

“नयाँ आर्थिक वर्ष शिक्षा सुधार वर्षको रुपमा हुन्छ” : अध्यक्ष चौधरी

बैशाख ०२, २०७६  | ११३६ पटक पढिएको

– दिप्तीशिखा चौधरी
२ बैशाख, दंगीशरण (दाङ) / दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले आर्थीक वर्ष २०७६ लाई आफुले शिक्षा सुधार वर्षको रुपमा लिएको बताएका छन् । दंगीशरण गाउँपालिका भित्रका १५ वटा सामुदायीक विद्यालयलाई विद्यार्थीमैत्री विद्यालय बनाई गुणस्तरीय शिक्षा दिनुपर्ने कुरामा जोड दिए । गाउँपालिकाले सहयोग गरेन, हेरेन भन्ने कुरा आरोप लगाउनु भन्दा पहिले गाउँपालिकाबाट भएका सहयोग कत्तिको सहि ठाउँमा सदुपयोग भएको छ भन्ने कुरालाई मनन् गर्नुपर्ने उनले बताए । अबका दिनमा मर्यादित ढंगबाट विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे ।

जनप्रतीनिधी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापकहरुको उपस्थितीमा आज सोमबार विधार्थी भर्ना अभियान कार्यक्रम २०७६ का बारेमा व्यापक रुपममा भएको छलफलमा उनले यस्तो बताएका हुन् । उनले भने — “विद्यालयको शिक्षा सुधारका लागि गाउँपालिकाले कुनै पनि कोणबाट सहयोग गर्न कन्जुस्याँई गर्दैन तपाईहरु प्लान बनाएर छलफलका माध्यमबाट अगाडि बढ्नुस् अबको शिक्षामा प्रविधियुक्त शिक्षा सञ्चालन गर्नुपर्छ ।”

गाउँपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाको संयोजनमा “हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पर्याउँ” भन्ने मूल नाराका साथ आज दंगीशरण गाउँपालिकामा छलफल भएको हो । सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले शिक्षालाई गुणस्तरीय बनाउन शिक्षक मात्र नभएर विद्यालय व्यवस्थान समितिले पनि विशेष रुपमा ध्यान दिनुपर्ने बताईन् । उनले गाउँपालिका भित्रका हरेक बालबालिकाहरु शिक्षित हुन जरुरी रहेको भन्दै उनीहरुको सुन्दर भविष्यका लागि शिक्षालाई मर्यादित ढंगले अगाडि बढाउनुपर्ने बताईन् । कार्यक्रममा वडा नं. ७ का अध्यक्ष एंव शिक्षा समितिका सदस्य विर बहादुर वलीले शिक्षा क्षेत्रमा गाउँपालिकाले ५ करोड ८३ लाख बजेट लगानी गरेको भन्दै यस आर्थीक वर्षमा पनि शिक्षालाई गुणस्तरीय बनाउन गाउँपालिकाले आर्थिक पाटोलाई ध्यानमा राख्ने बताए । जुनसुकै विद्यालयमा कसैलाई पनि आर्थिक रुपमा कमजोर नपार्ने किसिमले शिक्षाको क्षेत्रलाई गुणस्तरीय बनाउँने बताउँदै उनले विद्यालयमा राजनीति नगर्न आग्रह गरे ।

सो अवसरमा प्रमूख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, वडा नं. ५ का अध्यक्ष दिपक गौतम, विद्यालय निरीक्षक चक्र बहादुर भण्डारी, आधारभूत विद्यालय पदमपुरका प्रधानाध्यापक ज्योती चौधरी, आधारभूत विद्यालय सलौराका गोविन्द आचार्य लगायतले आ–आफनो भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण विरेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खिमराज खनालले गरेका थिए ।

नयाँ कर्मचारीलाई स्वागत 
यसैगरी दंगीशरण गाउँपालिकाले आज विभिन्न तहमा समायोजन भई आएका ५ जना कर्मचारीलाई स्वागत गरेको छ ।

गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षता भएको स्वागत कार्यक्रममा प्रमूख प्रशासकिय अधिकृत चन्द्रकात्न पौडेल, लेखा अधिकृत सोमराज डांगी, सहायक स्तर चौथो प्रेम बहादुर चौधरी, दिपक के.सी. र रोजगार संयोजक सन्तोष गिरीलाई गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का लगायतले दोसल्ला ओढाएर स्वागत गरेका थिए ।

विद्यालय निरीक्षक चक्र बहादुर भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अबका दिनमा गाउँपालिकाको कार्य निरन्तर रुपमा अगाडि लैजानुपर्ने बताए । उनले सहकार्यमा कामलाई अगाडि बढाउन कर्मचारीहरुलाई आग्रह गरे । उपाध्यक्ष पिमा कुमारी खड्काले रिसराग दोेष एक आपसमा नथुपारी पारिवारीक पृष्ठभूमिमा रहेका गाउँपालिकाको हक र हितका लागि काम गर्नुपर्ने बताईन् ।

नयाँ अनुहारसंगै नयाँ तरिकाले काम र कर्तव्य पूरा गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा वडाका अध्यक्षहरु, जनप्रतिनिधीहरु, कर्मचारीहरुको उपस्थिति रहेको रहेको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस