२०७९ असार २३, बिहीबार

बोकाले मलाई पो खसी बनायो

असोज १६, २०७७  | ३८७ पटक पढिएको

खसीबोकामा पनि यति धेरै भोजन साम्प्रदायिकता हुँदो रहेछ । म अक्षरको व्यवसाय गर्नेलाई बोकाको आडम्बरी भनौँ वा उसको जिद्दीले भनौँ हैरान पारेको छ । कोरोनाको लामो गुप्तवासपछि भूतले खाजा खाएझैँ म यतिखेर गृह जिल्लामा आएको छु । मेरा पोथी र बचेरा पनि साथमा सँगै आएका छन् । काठमाडौँमा पोलेथिनको जिन्दगी बाँचेका हामीलाई गाउँघरको मुक्त एवं हार्दिक व्यवहारले मुटु छुन्छ । गाउँघरका स्थानीय तरकारी र एवं खाद्यसामग्रीले जिब्रोमा मोहनी लगाइहाल्छ । केटाकेटीहरू दसैँ भनेपछि चिची, पापामा र्‍याल काढिहाल्छन् । राजधानीमा खसी खान मुटु बलियो नै पार्नुपर्छ । हिम्मत गरिहाले पनि धित मरुन्जेल उदरस्थ गर्न सकिन्न, किनकि मासिक तालिकामा ठुलै रेक्टर स्केलको भूकम्प आइहाल्छ । उसैले केटाकेटीहरू दसैँमा मासु ठुङ्न पाइने लालसा गर्दछन् । बाबुआमालाई सन्तानको भोक चढ्दा सन्तोषै लाग्छ । यो सबैको दीर्घ अनुभव नै हो ।

त्यसो त दुई महिना घरमा बस्ने मौका पाएको मेरो मनमा पनि यसपालि एउटा खसी त घरमा झुन्ड्याउनै पर्छ भन्ने थियो । कोरोनाले जीवनको दर्शन नै फेरिदिएको छ । धनसम्पत्तिको सङ्ग्रहभन्दा वर्तमानको भोग नै बुद्धिमत्ता साबित गरिदिएको छ कोरोनाले । मरेको भोलिपल्ट दुई दिन भइहाल्छ भन्ने उखानभित्रको गूढता ‘यावत् जीवेत् सुखं जीवेत्’ को नजिकै देखिन्छ । गत वर्ष आफू दसैँमा नभएकोमा बालबच्चाले आँत नभरिएको हलुका सिकायत गरेको हुँदा तिनको रुख्खिएको आत्मालाई रसिलोभरिलो बनाउन मैले दाङ टेकेको दुई दिनमै ससानो पाठो किनिहालेँ । दसैँका ढिकैमा रोल्पाली, सल्यानी बाख्रा उद्यमीहरू दाङ झर्छन् । बाटैमा घर भएकाले सडक, व्यापारका गतिविधि मेरो दृष्टिगोचरमा परिहाल्ने भए । नभन्दै दुईटा प्रौढहरु खसीबोकाका बथान डोर्याउँदै सडकमा देखा परे । खसीबोकाको मोलमोलाइमा मान्छेहरूका मनोयोग चल्न थाले । कसैले हस्त इसारामा ‘यो ठिक’ भन्छ कसैले ‘त्यसलाई कति ?’ भन्छ । अर्कोले ‘मासु मिठो त यस्तो बाख्राको हुन्छ’ भन्दछ । खसी बेचुवाले चर्को मोल र त्यसमा २/४ सयको भाउ घटाएको स्वाङ पार्दैछ । यस्तैमा कुनै मासु अम्मलीजस्तो लाग्नेले ‘तिख्खर मासु त यो बोकाको हुन्छ’ भनिहाल्यो । उसको ‘तिख्खर’ शब्दले मेरा कान ठाढा भइहाले । अतिख्खर मङ्स किन खाने त ? ’आए आँप गए झटारो’को भाषामा त्यो तिख्खरे बोकाको मोलमोलाई गरियो । उसले सुरुमा निकै हीराको भाउझैँ गर्यो । पछि दर्शकदीर्घाबाट एउटा मूल्य तय गरियो र त्यो भन्दा बढी हाल्न नहुने फुटानी भयो । बोकाको साहु मन्जुर भयो ।

अब मैले बोका डोर्याउने भएँ । पहाडी मान्छेहरूमा चौपाया बाँधेको डोरीको समेत मोह हुन्छ । उसले डोरीको पुछ्यान माग्दै थियो तर मैले दिइनँ । घरमा बोका ल्याउँदा साहुले ‘यसलाई पानी खुब खुवाउनुहोला’ भन्ने उर्दी दिएको थियो । मैले त्यसको तात्पर्य बुझ्न सकेको थिइनँ । दिन ढल्किँदै गयो । बोकालाई जिङट–इपिलइपिल नामक डाले घाँस हालियो । छिटोछिटो मोटोघाटो बनाएर सकेसम्म दसैँमा मासु सित्तै खाने योजनामा म उसलाई धेरैधेरै खुवाउन चाहन्थेँ तर बोकाले घाँस हेर्दै हेरेन । पानी खुवाउनुपर्ने हो कि भनेर पानी खुवाउन थालेँ , त्यो पनि खाँदैन । मलाई दिग्दारी छुट्न थाल्यो । दिनभरि यो घाँस र त्यो डालो काटेको छु , अहँ बोकाले वास्तै गर्दैन । केही उपाय नलागेपछि भातको डल्लातिर मेरो बुद्धि सक्रिय भयो । एक कचौरा भात दिएपछि बोकाले रुचि देखायो । मलाई लाग्यो यसलाई घाँसभन्दा अन्न मन पर्दोरहेछ । बाख्रालाई मकै प्रिय भोजन हुन्छ भन्ने मलाई अवगत थियो । एकैछिनमा गल्ला पसलबाट मकै खरिद गरेर घरमा आउँदा बोकाले जात्रा देखाइसकेको रहेछ । उसले त यसरी छेरेको देखियो कि माथि गुदद्वारबाट तलका खुरसम्म टोटेधारा लगाएको छ । बोका झुङ्ग गरेको छ । ए बाबा ! निमेषभरमा बोकाको बेहाल भएको छ । किनेर ल्याएको मकै खुवाउन म उद्यत भएँ । अहँ, हेर्दै हेर्दैन । भुटेको मकै खान्छ कि त ? मकै भुट्न थालियो, त्यो पनि खाएन । अब पिसेको मकै खान्छ कि त ? अहँ, धुलो मकै पनि खाएन । उता गुदद्वारबाट निरन्तर मूल फुटाएको फुटाई छ । मेरो मन अमिलो भइरहेको छ । हे भगवान् ! यो कुन दशा लागेर मैले यो दुःखको भारी बोकेँ हँ ! अब बोकालाई उपचार गर्नुपर्ने पो देखियो । नजिकैको भेटनेरी पसलमा गई बोका खरिददेखि उसको भोजन अस्वीकृतिको बेलिबिस्तार लगाएँ । गाउँले पसले भाइले भन्यो– ‘तपाई ठग्गिनुभएछ । बोका बेचुवाहरु आजभोलि छट्टु भएका छन् । तिनले खसीबोका मोटो देखाउन रातभरि नुनेपानी खुवाएर ल्याउँछन् । त्यसले तौल पनि बढ्छ । नुनेपानीले खसीबोकालाई छेर्ने बनाउँछ । तपाईँले पहाडी बोका किन्नुहुँदैनथ्यो । त्यस्ता बोकामा अन्न र यहाँका डाले घाँसको आदत हुँदैन । पहिला ओैँषधि खुवाउनुस्, पछि बानी पर्दै जान्छ ।’

उसको ओैषधि लिएर म घरमा आएँ । करिब चारपाँच मात्रा खाएपछि छेरौटी अलिअलि कम भएको छ । डाले घाँस छोएकै छैन, बोको कति विलासी र सामन्ती छ भने अरुले खोजेर मुखमा लगाइदिएको दुबोजस्ता जमिनी घाँस ठुङ्छ, तर आफ्ना मुखले मरिगए खाँदैन, मर्दैन । भर्खरै बारीमा छोडिदिएको छु, उसलाई फेरि पनि जिङट–इपिलइपिल, पिपल–आँप–बाँस र केराका पात राखिदिएको छु, उसको उदासीनता जारी नै छ, बरू मोराले सुकेका झारपात, प्लास्टिकका डोरी र दुबे झार जाँगर नलाई नलाई घिच्दै छ । अब यो बोकाले मेरो आसन्न दसैँलाई गुल्जार बनाउला त हजुर ? यसो सोच्छु, बोका किन्दाकिन्दै कतै म स्वयं खसी त बनिनँ ???

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस