२०७९ असार २३, बिहीबार

संस्कृत विश्वविद्यालयको अबको नेतृत्वसामु देखिएका चुनौति र अवसरहरु

असोज १४, २०७७  | ४६४ पटक पढिएको

नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपि शर्मा ओलीले असोज १२ गतेका दिन संस्कृत विश्वविद्यालयको १० औ उपकुलपतिकारुपमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेलाई नियुक्त गर्नुभएको छ । स्थापनाको चार दशक नजिकिंदै गर्दा विश्वविद्यालयमा नौ जना उपकुलपतिले नेतृत्व सम्हाली सक्नुभएको छ । संस्थापक उपकुलपति हरिदेव मिश्र, चुडानाथ भट्टराय, श्रीकृष्ण, माधवराज गौतम, आचार्य पूर्णचन्द्र ढुंगेल, शिवहरी मरहठ्ठा, विदुर पौडेल, कुलप्रसाद कोइराला, कार्यवाहक उपकुलपतिमा रमेश ढकालले विश्वविद्यालयको उपकुलपतिकारुपमा दर्ज भइसक्नुभएको छ । योगी नरहरी नाथले चिम्टा गाडेर दाङको भूमिमा संस्कृत विश्वविद्यालय स्थापना गर्ने जुन पर्यत्न गर्नुभयो माधवराज गौतमको नेतृत्व छँदा केही चहलपहल देखिएता पनि अरुको नेतृत्वमा त्यस्तो युगान्तकारी परिवर्तन भएको देखिंदैन । शिवहरी मरहठ्ठाको नेतृत्वमा संस्कृततर्फको आयुर्वेद क्षेत्रको भौतिकस्वरुप परिवर्तनको काम भए पनि समग्र संस्कृत क्षेत्रकै बारेमा खासै प्रगति भएको देखिदैन । यसका धेरै कारणहरु रहेका छन् । पहिलो कारण यस क्षेत्रमा देखिने चरम राजनीतीकरण र दलीयकरण हो । नेतृत्व एउटा भिजन र मिसनका साथ अघि बढ्न खोजे पनि त्योअनुरुप सहयोग नपाउँदा पनि समस्या देखिएको हुन सक्छ । अबको नेतृत्वसामु केही चुनौति छन् यी चुनौति एउटा अवसरकारुपमा समेत देखा परेका छन् । जग्गा जमिनका दृष्टिकोणले नेपाल संस्कृत विश्वविद्यालय जत्तिकै अन्य विश्वविद्यालयसँग जग्गा जमिन छैन । जुन दाताहरुले पेट काटेर विश्वविद्यालयका सामु जग्गा हस्तान्तरण गरे त्योअनुरुप उपलब्धि प्राप्त गर्न सकिरहेका छैनन् । विश्वविद्यालयले गति लिन नसक्नुमा निम्न कारणहरु रहेका छन् ।

राज्यको उदासिनताः राज्यले त्रिभुवन विश्वविद्यालयलाई जुन दृष्टिकोणका साथ अघि बढेको देख्न चाहान्छ त्योअनुरुप यो विश्वविद्यालयलाई व्यवहार गरेको देखिदैन । विश्वविद्यालय अनुदान आयोगले जसरी अन्य विश्वविद्यालयले अघि सारेका कामहरुमा बजेट विनियोजन गर्न मुटु काम्दैन तर यो विश्वविद्यालयका नेतृत्वमा पुगेका व्यक्तिहरुले स्पष्ट भिजन सहित राम्रा कुरा अघि सारे पनि बजेट दिने कुरामा ध्यान दिएको पाइदैन । देश संघीयतामा गए पनि शासन अझै काठमाडौं केन्द्रित देखिन्छ । जसका कारण विश्वविद्यालयले गति लिन सकिरहेको छैन ।
नेतृत्वको ढुलमुले नीतिः यो पंक्तिकार समेत यसै विश्वविद्यालयको उत्पादन भएकाले पनि यति लेख्न बाध्य छु । यहाँको नेतृत्वकर्ताहरुको ढुलमुले नीति एउटा उदाहरण दिन उपयुक्त देखिन्छ । जुन समयमा विद्यार्थी संघसंगठनहरुले आयुर्वेद स्नातक तह विश्वविद्यालयले सञ्चालन गर्नुपर्छ र त्यसका लागि दाङमै भवन निर्माण गर्नुपर्छ भन्ने जोडदारका साथ माग अघि बढ्यो । तत्कालीन नेतृत्वले यो मागप्रति पुरै बेवास्ता गरिराख्यो । सरकार बजेट दिंदैन, त्यत्रो रकम तिरेर कसले पढ्छ जस्ता नाजायज तर्क दिने काम भयो तर बारम्बार विद्यार्थी संगठन अझ भनौ तत्कालीन स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व सम्हालेका मोहनसिंह सुनारको टोलीले दुई महिनासम्म आन्दोलन गरेर आयुर्वेद स्नातक तह कक्षा सञ्चालनका लागि बाध्य तुल्यायो । तत्कालीन कुलसचिव हाल नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव आदरणीय गुरु प्राध्यापक जगतप्रसाद उपाध्यायको विशेष पहलमा आयुर्वेद शिक्षण भवन निर्माण कार्य सम्पन्न भयो । साहेद त्यो बेलाका विद्यार्थीहरुलाई म निकै दुरगामी भिजन नेतृत्वकर्ताकारुपमा परिचित गराउन चाहान्छु । आज त्यही भवन देश डुबिरहेका बेला कोरोना विशेष अस्पतालकारुपमा रहेको छ । आज कयन व्यक्तिहरु त्यहाँ रहेर उपचार गराइरहेका छन् । दाङका लागि गौरव गर्न लायक बनेको छ । साहेद हिजोको नेतृत्वले आजको भविष्य देख्न चाहिरहेको थिएन । भन्नुको तात्पर्य नेतृत्व कति भिजनकारी थियो त भन्ने कुरा यहीँबाट प्रष्ट हुन्छ ।
दक्ष जनशक्तिको अभावः विश्वविद्यालयमा अर्को खड्किरहेको पक्ष भनेको दक्ष जनशक्तिको अभाव छ । जबसम्म कर्मचारी र प्राध्यापकहरुमा हाटा(हाजिर गर्ने टाप कस्ने) अभियान जारी रहन्छ तबसम्म यो विश्वविद्यालय अधोगतिमा बढिरहन्छ । भन्नुको अर्थ सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु त्यो लयमा छन् भन्न खोजिएको कदापि होइन तर पनि जनशक्तिको अभाव नै छ । आज ई–लाइब्रेरीको कुरा अघि उठेको छ । कोभिड–१९ ले आक्रान्त तुल्याइरहेको बेला हाम्रा गुरुहरु ल्यापटप बोकी विद्यार्थीहरुलाई पढाउन समर्थक हुनुहुन्छ । पक्कै पनि केही पछि स्थापित हुनुभएका युवा गुरुहरुमा त्यो जाँगर र हिम्मत होला अरुमा भन्न सकिदैन । त्यसैगरी कर्मचारीहरुमा पनि त्यस्तै नै छ । हाजिर लगाएर टाप कस्ने प्रणालीको अन्त्य गर्न अबको नेतृत्व सामु निकै चुनौतिपूर्ण देखिन्छ ।
भू–उपयोग नीतिको अभावः विश्वविद्यालयको १५ सय बिगाहाभन्दा बढी जग्गा जमिन रहेको छ तर हालसम्म उपयोगमा आउन सकिरहेको छैन । कतै सुकुम्बासीका नाममा हुकुम्बासीहरुले कुम्ल्याइरहेका छन् । कतै रोपिएका रुखहरु त्यहीँबाटै हराइएका दृष्टान्तहरु हाम्रा सामु ताजै छन् । कस्तो खालको भू–उपयोग नीति ल्याउने भन्ने कुरामै अन्यौलता देखिएको छ । हाम्रो भूमि सहीरुपले प्रयोग गर्न सक्यौ भने राज्यसँग माग्न पर्दैन अझ राज्यलाई विश्वविद्यालयले सहयोग पनि गर्न सक्दछ । हालसम्मका नेतृत्वमा यो कुरालाई गम्भीरतापूर्वक अघि बढाएको देखिदैन । तत्काल भूमिको सहि उपयोग नीति ल्याउनुपर्छ र सुकुम्बासीका नाममा हडपिएको जग्गा जमिन विश्वविद्यालयकै मातहतमा ल्याउनुपर्दछ । त्यसका साथै विश्वविद्यालयले आयुर्वेद स्नातक तह कक्षा समेत सञ्चालन गरेकाले यहीँबाट जडिबुटीहरु उत्पादन गरी यहीँ नै औषधी, चूर्ण तयार पार्ने प्रविधि निम्त्याउनुपर्छ । यसबाट विद्यार्थीको सिकाई उपलब्धिका साथै यहाँ रोजगारका आयामहरु प्रशस्त मात्रामा अघि बढ्न सक्छन् ।
पाठ्यक्रम परिमार्जनः हिजो हजुर बाले पढ्नुभएको राम आज नातिको पालामा पनि त्यही नै छ कम्तिमा अब त्यो परिमार्जन, परिस्कृत भएर आउनुपर्छ । अरु विश्वविद्यालय चार वर्षे पाठ्यक्रम निर्माण गरी पढाइ सुरु गरे यहाँ भर्खर पाठ्यक्रम निर्माणको चरणमा अघि बढेको छ । आजको युवा हिजोको चाणक्य शास्त्रको साथमा आजको माक्सवाद पढ्न चाहान्छ । राजनीतिक विषयमा चाणक्यवाद र माक्सवाद किन सँगै मिसाएर पढ्न सक्ने पाठ्यक्रम तयार नपार्ने । हिजोको कोक शास्त्र र आजको फ्रायडवाद सँगै मिसाएर आजको विद्यार्थी साहित्य पढ्न चाहान्छ त्यो पाठ्यक्रम किन तयार पार्दैन विश्वविद्यालय । आज संस्कृत व्याकरणका सूत्र जुन कम्प्युटर प्रणालीका लागि योग्य ठानिएका छन् । त्यो शैलीमा किन पाठ्यक्रम तयार पार्न नसक्ने । धर्मशास्त्रमा हिजोको मनुस्मृति पढाइरहँदा आजको मुलुक ऐन किन नपढाउने, त्यो पाठ्यक्रम तयार पारेको खोइ, हिजो पोखरी माथि कुहिरो लाग्दा धुवा अर्थात् अग्नीको ज्ञान भएको कुरा आज त्यो पानीमा आगो पनि छ भन्ने कुराको ज्ञान हिजो नै थियो भन्नेको कुराको प्रमाािणत गर्ने न्याय शास्त्र कता छ । यी यावत् विषयहरुको परिमार्जित, परिस्कृत रुप खोइ ? आजको विद्यार्थी प्रश्न गरिरहेछ ।
घट्दो आकर्षणः आयुर्वेद विषयतिर बढ्दो आकर्षण भए पनि संस्कृततर्फ आकर्षण निकै घट्दो क्रममा रहेको छ । हाम्रा उत्पादित जनशक्तिहरुको परिचालन भएको देखिदैन । संस्कृत किन पढ्ने केका लागि पढ्ने । देशमा प्राविधिक धारका विषयहरुको बाढी आइरहेको बखत हामी पनि त्यहीँ बाढीमा बग्ने वा बाढी भेल के हो पानीको बहाब के हो भन्ने कुरामा अघि बढ्ने । यो आकर्षण बढाउने उपायहरु खोज्नुपर्ने देखिन्छ । अब सिकाई कक्षा कोठा केन्द्रितभन्दा पनि प्रविधिको उपयोग केन्द्रित बढाएर विद्यार्थी संख्या बढाउनुपर्ने देखिन्छ । आयुर्वेद क्षेत्रलाई अझ बढाउने, योग, प्राकृतिक चिकित्सातर्फ पाठ्यक्रम तयार गरी अध्यापनको कार्यलाई अघि बढाउनुपर्ने देखिन्छ ।
भगिनीः यो विश्वविद्यालयले भारत, चीन, बेलायत, जापान, अमेरिकामा रहेका विश्वविद्यालयहरुसँग भगिनी सम्बन्ध कायम गरी विद्यार्थीहरु बिच ज्ञान आदान प्रदानको कामको समेत थालनी गर्नुपर्दछ ।
जनशक्तिको परिपूर्तिः जुन विश्वविद्यालयका लागि आवश्यक जनशक्ति थियो आज छ त पक्कै पनि छैन । तत्काल जनशक्ति आंशिकरुपमा भए पनि पुरा गर्नतर्फ लाग्नुपर्दछ ।
माथि उल्लेख गरिएका चुनौतिहरुलाई अवसरकारुपमा लिएर वर्तमान नेतृत्व अघि बढ्नुपर्ने देखिन्छ । जुन कार्यका लागि तीन वटै तहका सरकारहरुको सहयोग साथ अपरिहार्यता देखिन्छ । स्थानीय, प्रदेश र संघीय सरकारबाट समन्वयात्मक भूमिका निर्वाह गर्न सके पक्कै विश्वविद्यालयले काँचुली फेर्नेछ । नेतृत्वले इच्छा, चाहाना राख्यो भने पक्कै हरेक असम्भव कार्यहरु सम्भव तुलिन्छन् । नेतृत्वले समग्रमा भौतिक पूर्वाधार, पाठ्यक्रम परिमार्जन, भू–उपयोग नीति, दक्ष जनशक्ति उत्पादन, जनशक्तिको सही व्यवस्थापन, योग प्राकृतिक चिकित्सा, भगिनी सम्बन्ध, ई–पुस्तकालयको व्यवस्थापन, प्रविधिमैत्री शिक्षण क्रियाकलापतर्फ आफ्ना योजनाहरु अघि सार्दै काममा अघि बढ्नुपर्ने देखिन्छ ।

प्रष्ट भिजन र मिसनका साथ अघि बढियो भने पक्कै बजेटको अभाव हुने देखिदैन । तसर्थ अबको नेतृत्व मुलतः संस्कृत शिक्षाको उपयोग नीति अबलम्बन गर्दै अघि बढ्नुपर्छ यी माथि उल्लेख गरिएका चुनौतिहरुलाई अवसरकारुपमा लिइनुपर्दछ अनि मात्र हाम्रो विश्वविद्यालय राम्रो विश्वविद्यालयका रुपमा विकास हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस