२०७९ माघ २६, बिहीबार

फर्केला ! मानपुरको सान

चैत्र २७, २०७५  | २८९८ पटक पढिएको

राकेश बस्नेत, विजौरी, दाङ
अघिल्लो साता मानपुर हेल्थ पोष्टमा चौविसै घण्टा गर्भवती सेवा लिन आएकी एक महिला स्वास्थ्यकर्मी नभएपछि अर्को अस्पतालमा पुग्दा निन्याउरो अनुहार लिएर फर्कन बाध्य भइन्, किनकि उनले यस अघि सोहि स्वास्थ्य चौकीमै नियमित चेकजाँच गराउँदै आएकी थिइन् । संयोग त्यो दिन साँझ स्वास्थ्यकर्मी बाहिरिइसकेका थिए, अनुकलमा सम्पर्क भएन । तीन दशक अघि त्यहि स्थानमा मेदिनी डाक्टरलाई जँचाउन घोराहीदेखि देउखुरीसम्मका बिरामीहरुको भिडभाड हुन्थ्यो । मेदिनी डाक्टरको नाम नलिने सायदै दंगाली कमै थिए त्यो बेला ।

तीन दशक अघिको उज्यालो मानपुर स्मरण गराउँदा सायद पत्याउनै गाह्रो होला, तर ६ दशक अघिनै मानपुर बजारमा सडक बत्तिले झलमल हुन्थ्यो । तात्कालीन अञ्चलाधिसको पहलमा मानपुर बजारको सडकभरी गाडिएका पोलहरुमा विजुली बत्ति होइन, मट्टितेल भरेका लाल्टिन झुण्ड्याइएका हुन्थे, जसको प्रकाशले सडक झलमल्ल । तर अहिले विद्युत सेवा पुगे पनि मानपुर बजारमा सडक बत्ति छैन । स्थानीयबासी कुमुदराज शर्मा भन्छन्, ‘सडकमा लाल्टिनको उज्यालो अझै याद छ ।’ पञ्चेधारामा नुहाएको उनलाई ताजै छ । हरेक नवदुर्गामा देखाइने रामलिला उनलाई झलझल्ती याद छ ।
त्यो बेला घोराहीबाट जुलेवी खान मानपुर आउंथे पारखीहरु । बनारसी मिठाइहरु, लालमोहन, पेडा वरफि बजारमा छ्यापछ्याप्ती पाइन्थ्यो, कपडा किन्न सल्यान रुकुम र प्युठानका मान्छे आउंथे, नुन चिनी र भेलीको व्यापार मानपुरमा मात्रै थियो । अर्थात कोइलाबास पछिको ठुलो बजार मानपुर थियो । स्थानीयबासी शेरबहादुर बस्नेत(शम्भु) सम्झन्छन्, तर मानपुरको मुख्य बजारमा अहिले एउटा चियापसल समेत छैन । चिया नास्ताका लागि बिजौरी बजार धाउनु पर्ने बाध्यता रहेको छ । जडिबुटि व्यापारको डिलरदेखि गल्ला व्यापारसम्म । भारतीय व्यापारीहरुको बाहुल्यता । रैथाने पनि बने कतिपय भारतीय व्यापारीहरु । केहि गुप्ता समुदायको यतै घरजम समेत बन्यो । काममा आएका केहि नेवारी समुदायका कालिगढहरुले पनि यतै घरजम समेत गरेका छन् । भारतीयहरु भारतको बलरामपुरबाट कोइलाबास हुँदै व्यापारका शिलशिलामा मानपुर आएका थिए । अहिले धेरैजसो उतै फर्के, केहि तुलसीपुर पलायन भएका छन् ।
त्यो स्कुल, जुन वि.सं. २०११ सालमा स्थापना भएको थियो । पछि पञ्चायतकालमा सहयोग बढी ल्याउन सकिने आसमा युवराज दिपेन्द्रका नाममा दिपेन्द्र मावि नामाकरण गरियो । दुई दशक अघिसम्म कम्तिमा १ हजार ६ सय विद्यार्थी अध्ययन गर्ने स्कुलमा अहिले ५ सय विद्यार्थी छन् ।
घोराही तुलसीपुर सडकले मानपुर नछोएसंगै स्कुल पनि चपेटोमा प¥यो, भौतिक पूर्वाधार पनि पर्याप्त निर्माण हुन सकेन । ‘अहिले २÷४ वर्षदेखि स्टेवलको अवस्थामा छ, भौतिक पूर्वाधारको जोहो गर्न स्थानीय सरकार मात्रै पर्याप्त छैन’ –स्थानियबासी तथा वडाध्यक्ष थलराज पुरी भन्छन्, भौतिक पूर्वाधारको बजेट जुटाउने र विद्यार्थी बढाउने मुख्य अभिभारा शिक्षक र व्यवस्थापन समितिमा निहित रहन्छ । शिक्षकहरु अल्छी हुनु नै विद्यालयमा बर्षेनी विद्यार्थी घट्नुको मुल कारण हो भन्ने विषय स्वयम् शिक्षकले बुझ्नु पर्ने अध्यक्ष पुरीको धारणा रहेको छ । विद्यालयको भौतिक अवस्था पनि जीर्ण छ । बर्षेनी परेको सानो बजेटले शौचालय भन्दा बढी केहि बन्दैन । तारवारको समेत व्यवस्थापन हुन सकेको छैन, त्यो बुढो स्कुलमा । स्थानीयबासीका अनुसार खासमा वि.सं. २०५७ सालदेखि क्रमशः विद्यार्थी घट्न थाले सो स्कुलमा ।

मानपुर झिंगैका स्थानीयबासी कृष्णबहादुर बुढाथोकी भन्छन्, ‘सामान किन्न गएकाबेला मान्छे हुलमा हराउने डर हुन्थ्यो, तर अहिले बजार भन्दा पनि विश्वासै नलाग्ने अवस्था देखिएको छ ।’ उनी पनि त्यो बेलाको मानपुरका भुक्तभोगी हुन् । त्यहाँको स्कुल, पञ्चेधारा, अञ्चलाधिस कार्यालय, इलाका हुलाक कार्यालय, हवाइ अड्डा, राष्ट्रिय बाणिज्य बैंक थियो । पछि मात्रै तुलसीपुर सरेको हो । ढिकपुर साझा सहकारी लगायतका अन्य सरकारी कार्यालयहरुको उपस्थितिसंगैको मानपुर उनी पनि झल्झल्ती सम्झन्छन्, तर त्यो स्मरण अबको पुस्तामा रहन सक्ने छैन । किनकि नलेखिंदै मेटिन थालेको छ मानपुरको इतिहास ।
मानपुर जिनुवागाउँ निवासी समाजसेवी तुल्सी गिरीको पनि आस अझै मरेको छैन । त्यो बेलाको मानपुर बजार झलझली सम्झदैं भने– यहाँका केहि जमिनदारले जग्गाको व्यवस्था नगरिदिदाँ मानपुर बजार तुलसीपुर सरेको ठोकुवा गर्छन् र पनि आशावादी छु यो बजार अब पहिले जस्तै हुन सक्छ तर यस क्षेत्र कृषिको पकेट क्षेत्र बनाइयो भने न्याय दिन सकिन्छ । यहाँ पानीको राम्रो सिचाई छ । मानपुर क्षेत्रलाई अब कृषि पकेट बनाउन आग्रह गरे ।
मानपुर त्यहि बेलादेखि सुक्न थाल्यो, जुनबेला जग्गाको कारण देखाउंदै अञ्चलाधिस कार्यालय तुलसीपुरमा सारियो । घोराही–मानपुर–तुलसीपुर सडकको एलाइन्मेन्ट चेन्ज भएर घोराही–बिजौरी–तुलसीपुर बन्यो । तात्कलीन अञ्चलाधिस चन्द्रमान थकालीकै पहलमा बाटोको एलाइन्मेन्ट चेन्ज भएको स्थानीयको बुझाइ रहेको पाइन्छ । यद्यपि यसको लिखित दस्तावेज भने छैन । दुर्भाग्य सुरु भो मानपुर बजारको । अहिले त त्यो बेलाको अस्तित्व नै मेटिइसकेको छ । एउटा जिवन्त इतिहास बाँकी छ, मानपुर जरुवाको पञ्चेधाराको । एउटा इलाका हुलाक र त्यसबेला बनेका ऐतिहासिक भवनको भग्नावशेष मात्रै ।

मानपुरको पञ्चेधारा

दश वर्षभित्रै कमव्याक
मानपुरको ज्युंदो इतिहासलाई पुर्नजिवित बनाउने स्थानीयबासीको सपना अझै मरेको छैन । अबको दश वर्षमा फेरी मानपुरलाई पहिलेकै अवस्थामा फर्काउन सकिने स्थानीयको सोंच छ । वडाध्यक्ष तथा स्थानीयबासी थलराज पुरी भन्छन् –‘हामी फेरी पनि आशावादी छौं, किनकि मानपुरलाई फेरी आधुनिक बजारका रुपमा स्थापित गर्न सक्ने छौं । त्यसका लागि स्थानीय सरकारले मार्गचित्र कोरी सकेको पनि उनले बताए । ‘रोल्पाको होलेरीबाट बिजौरी हुंदै मानपुर पुगेर पुर्वपश्चिम राजमार्गको जलकुण्डी जोड्ने सडक एउटा मुख्य आधार हो’ –वडाध्यक्ष पुरी भन्छन्, जुन सडकले मानपुरलाई फेरी कमव्याकको अवस्थामा लैजाने छ ।
वि.सं. २०२० सालतिरै मानपुर–जलकुण्डी सडकमा टेक्टरको आवत जावत हुन सक्थ्यो । जुन सडक अहिलेको अमिलिया तुलसीपुर सडक भन्दा २१ किलोमिटर छोटो पनि छ । त्यसैगरी हेमन्तपुर–निमुवार–मानपुर–साइपुर हुंदै तुलसीपुरको महेन्द्र हाइस्कुल जोड्ने सडक समेत सञ्चालनको तयारीमा छ । चौखोलामा पुल बनेपछि सडक सञ्चालनको अन्तिम तयारीमा रहेको पनि मानपुरबासीको आशा छ । पूर्व अवस्थामा फर्किन सक्छ फेरी मानपुर । फेरी फर्कने छ, मानपुरको मान….।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस