२०७९ असार २३, बिहीबार

भैरव मजगैंया जीवन एक, पाटा अनेक

- गोकर्ण पौडेल  |  असोज ०८, २०७७  | ६५२ पटक पढिएको

भदौ ३० गतेको दिन बिहानै, विनय काकाले फोन गर्नुभयो, बाबु गोविन्दको फोन नम्बर अफ रहेछ यहाँ भैरवको घरमा तुरुन्तै पठाइदिनुपर्योे । काकाको हतास फोन, घरमा आएर फेसबुक खोल्दा भैरव काकाका नाममा हार्दिक श्रद्धाञ्जली अपर्ण गरिएका स्टाटसहरु थिए । भैरव सरको बारेमा यति जानकारी छ । उहाँको बुवा र मेरा बाजेले वनासरमा सँंगै पढ्नुभएको रे । सानो छँदा अलि अलि याद छ बा भन्नुहुन्थ्यो ‘भैरवको घरमा बा वनासर पढ्ने बेलाको फोटो छ रे, ल्याएर बाको फोटो ठुलो बनाएर राख्नुपर्यो ।’ तर बाको त्यो सपना उहाँको जीवनमा पुरा भएन, यद्यपि अहिले भने घरको भित्तामा भैरव सरका बुवा र मेरा बाजेको तस्बीर छ । भैरव मजगैयाका जीवन एक पाटा अनेक छन् । शिक्षा क्षेत्रमा प्राध्यापक भैरव मजगैया, सामाजिक क्षेत्रमा खानेपानी, अस्पताल विकास समितिमा भैरव मजगैया । एक महिना अघि प्रादेशिक अस्पताल बिजौरीमा कार्यरत डाक्टर रामकामेश्वर ठाकुरको सरुवा भए पश्चात् आयोजना गरिएको बिदाईका कार्यक्रममा मजगैया गहभरी आसु लिदै बिदाई मन्तव्य दिंदै हुनुहुन्थ्यो । मेरी चेलीले पठाइदिएको अमृत फेरि पठाउँदै छु । जसरी मेरै नेतृत्व रहँदाखेरी यो अस्पतालको काँचुली फेर्ने काम भयो फेरि यो अस्पतालको अवस्था उही रहला कि पुरानै अवस्थामा फर्किएला ? मन्तव्य व्यक्त गर्दै गर्दा धेरै भक्कानिनुभयो, वातावरण स्तब्ध भयो । उहाँ अन्तिम कालसम्म पनि अस्पतालका सेवा सुविधाका बारेमा निकै चिन्तित हुनुहुन्थ्यो । साहेद प्रेमाभाव उहाँमा निकै थियो । हक्कि स्वभावका मजगैया जहाँ भेटे पनि ए पत्रकार कहाँ जान थालिस्, नयाँ खबर सुना, सधैँ उहाँ यस्तै भाषा, शब्द प्रयोग गर्नुहुन्थ्यो जहाँ मायाको भाव बढी छचल्किन्थ्यो । खासगरी आज बेलझुण्डी खानेपानी जुन बृहत आकारमा विस्तार भइरहेको छ । यो संस्थागत गर्ने सवालमा उहाँको भूमिका निकै महत्वपूर्ण रह्यो । खानेपानी संस्थाका पूर्व अध्यक्ष ईश्वर पोख्रेल भन्नुहुन्छ ‘बेलझुण्डी खानेपानी संस्थालाई संस्थागत गर्ने र जग हाल्ने काम भैरवबाट नै सम्भव भएको हो ।’ २०५६ सालमा साविक बिजौरी गाउँ विकास समितिबाट भैरवप्रसाद मजगैयाको नेतृत्वमा तदर्थ समिति गठन गरी संस्था दर्ताको कार्य पुरा गरिएको थियो ।

बेलझुण्डी खानेपानीको सवालमा जीवनका अन्तिम दिनहरुमा समेत उहाँ निकै सक्रिय हुनुहुन्थ्यो । उहाँको एउटा सपना चाहिँ अधुरै रहेको छ । जसरी बेलझुण्डी खानेपानी संस्था यहाँका राजनीतिक दलहरुको क्रिडास्थल बनेको छ । अनेक बहानामा संस्थालाई जीवन दिनेभन्दा मृत अवस्थामा पु¥याउन थालिएकोमा निकै चिन्तित देखिनुहुन्थ्यो । उहाँको सपना थियो बेलझुण्डी खानेपानी संस्थाको ऐतिहासिक, वर्तमान र भविष्यका लक्ष्य, योजना सहित मुखपत्र प्रकाशन गर्ने तर राजनीतिक दलहरुकै अकमण्र्यताका कारण भन्छु म । खानेपानी संस्थाले मुखपत्र प्रकाशनका लागि प्रकाशन समिति गठन गरी काम, प्रक्रिया अघि बढाएको थियो । तर समयमै निर्वाचन प्रक्रियाको काम यथावत् रहेकाले पुरा हुन सकिरहेको छैन । प्राध्यापन क्षेत्रतिर भएका कारणले होला अनुसन्धान, प्रकाशन क्षेत्रमा उहाँको रुचि निकै थियो । प्रकाशन समितिमा सबैभन्दा कनिष्ठ म भएर होला उहाँले समितिका सदस्यहरु सम्पूर्णलाई खबर गर्न, बैठक बसाल्न, समन्वय गर्न पटक पटक निर्देशन दिनुहुन्थ्यो । समितिको बारम्बार तोकिने निर्वाचन र रोकिने प्रक्रियाका कारण त्यो काम अझै सम्भव भएको छैन । साहेद खानेपानी संस्थाले जुन जिम्मेवारी तोकिदिएको छ, पुनः खानेपानीमा आउने नेतृत्वले हेक्का राखोस् र तत्काल यो कामको प्रक्रिया अघि बढाओस् । प्रकाशनका लागि केही आलेखहरु सुरक्षित अवस्थामै रहेका छन् ।

भैरव सरको मिहिनेत खेर नजाओस् अनि मात्रै उहाँप्रति संस्थाले गरेको सच्चा श्रद्धाञ्जली हुनेछ । बेलझुण्डी खानेपानी जिल्लामा यस्तो संस्था हो, अरु संस्थाहरु जमिनको पानी निकाली उपभोक्ताहरुलाई वितरण गरिरहेका छन् तर यो संस्थाले दर्ता गरेका मुहानहरु व्यवस्थित गर्न सक्यो भनेँ अझै तीस, चालिस वर्षसम्म भूमिगत स्रोतमा भर पर्नु पर्दैन । जसरी मुहानको पानीलाई स्वच्छ पवित्र ठानिन्छ त्यसो त भूमिगत स्रोतलाई ठानिदैन । त्यसैगरी उहाँसँग प्रत्यक्ष रहेर अध्ययन गर्ने मौका त मिलेन तर यदाकदा मेरो विषय पनि नेपाली र उहाँ पनि नेपाली विषयकै प्राध्यापक भएकाले कुनै समस्या आए उहाँ समक्ष पुग्ने गर्थे । महेन्द्र बहुमुखी क्याम्पसमा समेत प्राचार्य पदमा रहेर काम गर्नुभएको थियो । हरेक समस्याको समाधान गरेरै छाड्नुहुन्थ्यो । खासगरी प्रादेशिक आयुर्वेद चिकित्सालको भौतिक र जनशक्ति व्यवस्थापनमा उहाँ जीवनको पछिल्लो कालमा सक्रिय हुनुभयो । शैयामा थलिरहेको अवस्था फेरि १६ वर्षे किशोरावस्थामा फर्किएको छ । यहाँका जनताहरु स्वास्थ्य उपचार पाइरहेका छन् । खासगरी भौतिक अवस्था सुधारका कार्यमा समेत उहाँ खट्नुभयो । उहाँले अस्पतालमा सुधार गरेका कार्यहरुको नतिजा देख्न केही वर्ष त पर्खिनै पर्ला तर अपेक्षित सुधार भइरहेका छन् ।

यसरी भैरव सरको भौतिक शरीर त हाम्रा सामु रहेन तर उहाँका सपनाहरु, सामाजिक क्षेत्रमा लिइएका लक्ष्यहरुलाई भने पछ्याइरहेका छौ । शिक्षा क्षेत्रमा उहाँका हजारौ शिष्यहरु छन् । जुन समाजका हरेक क्षेत्रमा छरिएर बसेका छन् । शैक्षिक, सामाजिक क्षेत्रमा उहाँहरुले पुर्याएको योगदानको कदर गर्ने हाम्रो पिँढीको हो । हामी भैरव सरबाट जीवनमा पीडा, मर्म, दर्द भएर पनि समाजका लागि केही योगदान पुर्याउन सक्छौ भन्ने प्रेरणा प्राप्त गर्न सक्छौ । खासगरी जेष्ठ सुपुत्रको असामयिक निधनसंगै उहाँका गहिरो चोट पुगेको थियो । भैरवप्रसाद मजगैया अध्यापनका क्रममा समेत विद्यार्थीहरुलाई झर्को लाग्ने गरी कहिल्यै पढाउनु भएन भन्ने कुरा उहाँहरुका शिष्यहरु बताउने गर्नुहुन्छ । भैरवप्रसाद मजगैयाप्रति हार्दिक श्रद्वाञ्जली । यो भूमिले सधै उहाँको कर्मको सम्झना गरिरहनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस