आइपियू अध्यक्ष चुनिएकोमा कतारको संसदका अध्यक्षलाई सभामुख महराको बधाई

२६ चैत्र, दोहा / सभामुख कृष्णबहादुर महराले अन्तर–व्यवस्थापिका संघ (आइपियू)को अध्यक्ष चुनिएकोमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदलाई बधाई ज्ञापन गर्नुभएको छ ।

दोहास्थित होटल सेराटनमा मंगलबार शिष्टाचार भेटका क्रममा सभामुख महराले समकक्षी कतारको संसदका अध्यक्ष अहमद विन अब्दुलाहलाई बधाई ज्ञापन गर्नुभएको हो ।
सो अवसरमा सभामुख महराले आइपियूको १४० औं सभा भव्यतापूर्वक सम्पन्न गरेकोमा कतारको संसद शुरा काउन्सिल, अध्यक्ष अब्दुल्लाह र कतार सरकारको प्रशंसा गर्नुभयो ।

भेटवार्ताका क्रममा सभामुख महराले कतार र नेपालबीचको मित्रता सौहार्दपूर्ण र घनिष्ठ रहेको चर्चा गर्दै आपसी सहयोग र दुई पक्षीय सम्बन्धलाई अझैं प्रगाढ बनाउँदै जानुपर्नेमा जोड दिनुभएको थियो ।
उहाँले राजनीतिक र संसदीय अभ्यास तथा अनुभव आदान प्रदान गर्नका लागि नेपालको संसदले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउँदै मैत्री संघका सदस्यहरुको नामावली हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुल्लाह विन जैद अल मोहमदले कतार–नेपाल संसदीय मैत्री संघ छिट्टै गठन गरेर दुई पक्षीय भेटघाटको अवसर मिलाउने बताउनुभयो ।
आफूलाई आइपियू अध्यक्षको जिम्मेवारीका लागि बधाई दिएकोमा धन्यवाद ज्ञापन गर्दै छिट्टै संसदीय मैत्री संघमार्फत् भेटघाट र आपसी सहकार्य बढाउने विश्वास व्यक्त गर्नुभयो ।
यही चैत्र २३ देखि कतारको दोहामा जारी आइपियूको १४० औं सभाले कतारको संसद शुरा काउन्सिलका अध्यक्ष अहमद विन अब्दुलाहलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस