मोतिबिन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चश्मा, औषधी वितरण


२६ चेत्र, तुलसीपुर (दाङ) / मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिएका आँखाका बिरामीहरुलाई चश्मा तथा औषधी वितरण गरिएकोछ । राप्ती आँखा अस्पतालमा मंगलवार एक कार्यक्रमको आयोजना गरि निःशुल्क चश्मा तथा औषधी वितरण गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ, राप्ती आँखा अस्पतालको प्रविधि सहयोग र तुलसीपुर उपमहानगरपालिकाबिच ‘मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम’ अन्तर्गत शल्यक्रिया गरिएको हो ।

वडा नंं. ८ का ३८ जना ज्येष्ठ नागरिकहरुको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा बोल्दै नगरप्रमुख पाण्डेले मोतियाबिन्दुरहित उपमहानगरपालिका बनाउने अभियानअन्तर्गत विभिन्न स्थानमा आँखा स्वास्थ्य शिविर आयोजना गरी आँखामा देखिएको मोतियाबिन्दुको शल्यक्रिया गरिएको बताए । उनले यस आर्थिक वर्षदेखि मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया तथा उपचार सेवा सुरु गरेका भन्दै सबै नगरवासीलाई उज्यालो प्रदान गर्ने आफुहरुको उद्देश्य रहेको बताए ।

त्यस्तै संघका सचिव खड्काले पैसाको अभावले कोही कसैले पनि आँखा उपचार सेवा पाउनबाट बञ्चित नहुनेगरी साझेदारी कार्यक्रम सञ्चालन गरेको बताए । अस्पतालका चिफमेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नंं. ९ मा भएको आँखा चेकजाँच शिविरमा २९० जनाको आँखा चेकजाँच गरिएको छ । तुलसीपुर–९ दोघरेको वडा कार्यालयमा भएको चेकजाँचमा ३२ जना मोतिबिन्दुका बिरामीहरु भेटिएको नेत्र सहायक सपना गौतमले जानकारी दिइन् । उनीहरुलाई शल्यक्रियाका लागि राप्ती आँखा अस्पतालमा रिफर गरिएकोछ । मोतिबिन्दु भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिने वडा अध्यक्ष घनश्याम ढकालले बताए । गौतम सहित पावर्ती पौडेल, निशा शेरपाइली, विवेक डाँगी सहितको प्राविधिक टोलीले सेवा दिएका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस