२०७९ माघ १३, शुक्रबार

सभामुख महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

चैत्र २४, २०७५  | ८९५ पटक पढिएको

“सगरमाथा देखि समुद्र सम्मको सम्बन्ध प्रगाढ हुन्छ” : सभामुख महरा

२४ चैत्र, दाङ / सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आउनुभएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

भेटका अवसरमा सभामुख महराले नेपाल–कतार सम्बन्ध कूटनीतिक मात्र नभई जनस्तरसम्म प्रगाढ रहेको बताउनुभयो । उहाँले समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई अझैं थप मजबुत र प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।
‘समुन्द्रदेखि सगरमाथासम्मको सम्बन्धलाई प्रगाढ बनाउन कतारको भूमिका निकै महत्वपूर्ण छ, सभामुख महराले भन्नुभयो, ‘यसका लागि नेपाल–कतार सम्बन्ध थप मजबुत बनाउन जरुरी छ ।’

दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन संसदीय मैत्री संघ प्रभावकारी भएको चर्चा गर्नुहुँदै सभामुख महराले आफूहरुले नेपाल–कतार संसदीय मैत्री संघ गठन गरिसकेको जानकारी गराउनुभएको थियो ।

छोटो अवधिमै कतारले आर्थिक तथा भौतिक निर्माणका क्षेत्रमा गरेको प्रगति विश्वका लागि उदाहरणीय भएको सभामुख महराले बताउनुभयो । नेपालमा विकासको थुप्रै सम्भावनाहरु रहेको भन्दै सभामुख महराले नेपालको कृषि, पर्यटन, ऊर्जा र भौतिक संरचना निर्माणमा लगानी गर्न कतारलाई आग्रह गर्नुभयो ।

कतारमा ४ लाख बढी नेपाली जनशक्ति विभिन्न क्षेत्रमा काम गरिरहेको भन्दै सभामुख महराले उनीहरुको पेशागत सुरक्षा र सेवा सुविधाका बारेमा परराष्ट्रमन्त्री अल थानीसँग चासो व्यक्त गर्नुभएको थियो ।

‘कतारमा अहिले ४ लाख बढी नेपालीहरु विभिन्न पेशा र क्षेत्रमा काम गरिरहेका छन्, सभामुख महराले भन्नुभयो, ‘उनीहरुको पेशागत तथा भौतिक सुरक्षा, सेवा सुविधाका लागि सरकारी तहबाट आवश्यक पहल र चासो भइरहनेछ भन्ने हाम्रो चाहना हो ।’

नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिएको जानकारी गराउँदै सभामुख महराले परराष्ट्रमन्त्री अल थानीलाई नेपाल भ्रमणका लागि निम्तो समेत गर्नुभयो । साथै सो अवसरमा सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताका लागि शुभकामना पनि व्यक्त गर्नुभएको थियो ।

सभामुखसँगको शिष्टाचार भेटका क्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री अल थानीले सभामुख महरासहितको नेपाली संसदीय प्रतिनिधि मण्डललाई कतारमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

अल थानीले आइपियूको १४० औं सभाको सन्दर्भमा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको भ्रमणले कतार–नेपाल सम्बन्ध थप प्रगाढ बनाउन सहयोग मिलेको बताउनुभयो ।

नेपाल भ्रमणका लागि आफूले पहिलेदेखि नै कोशिस गरिरहेको भन्नुहुँदै अल थानीले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभयो । कतारमा थुप्रै नेपाली जनशक्ति रहेको र उनीहरुको सुरक्षा, सुविधाका बारेमा आफूहरु सचेत रहेको बताउनुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस