श्रममै रमाँउछन् जेष्ठ नागरिक

साउन २१, २०७७  |  १८६ पटक पढिएको

२१ साउन, दाङ / बबई गाउँपालिका वडा नम्बर ५ का टोपबहादुर पुन उमेरले सत्तरी पुग्नै थाले । सरकार जेष्ठ नागरिकको सम्मान स्वरुप भत्ता दिन्छ तर पुन भनेँ अझै केहीवर्ष श्रममै रमाउँने इच्छा जाहेर गर्छन् ।

गाउँपालिकाका अध्यक्ष सहितको टोली पुनको तरकारी खेती हेर्न पुग्दा उनी काममै व्यस्त देखिन्थे । खेतमा लगाइएका भन्टा लटरम्म फलेका थिए ।

अध्यक्ष ज्यू गतवर्ष सिचाईको अभावका कारण भिन्डी खेतीबाट फाइदा लिन सकिएन सिँचाईको उचित व्यवस्था गर्नुपर्यो पुनले भने ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल कृषकहरुलाई जोत्नका लागि हाते टेक्टर खरिद प्रक्रिया अघि बढाएको र ड्याम निर्माण गरेर सिचाईको व्यवस्थापन गरिने बताएका थिए । टोपबहादुरले खेतमा भन्टा, काउली, साग, खुर्सानी रोपेका छन् ।

खेत आफ्नै भनेँ होइन लिजमा ल्याएर तरकारी खेती गर्दै आएका पुन स्वास्थ्यले साथ दिंदासम्म काम गर्ने बताउँछन् । भारतमा १४ वर्षसम्म जग्गामा लिजमा ल्याएर तरकारी खेती गरेका पुन त्यहाँको सीपलाई नेपालमा उपयोगमा ल्याइने बताए ।

तरकारी व्यवसायबाट घर गृहस्थी टार्न सहज भएको पुनले बताए । लिजमा ल्याएको खेतको वार्षिकरुपमा दलित सेवा संघले ३० हजार खेत धनीलाई बुझाउँदै आएको छ ।

टोपबहादुर मात्र होइन बबई ४ का टेकबहादुर वलीको दैनिकी बंगुरसँग बित्ने गरेको छ । उमेरले उनी पनि सहत्तरी पुगि सकेका छन् । वली भन्छन् ‘अझै दशवर्ष त यही व्यवसाय नै गर्ने सोचमा छु’ । पाँच वटा माऊ बंगुरबाट व्यवसाय सुरु गरेका वलीका हाल ३० वटा माउ रहेका छन् ।

यसै वर्षमात्रै उन्नत जातका बंगुरका माउ थपेका वलीले व्यवसायिकरुपमै अघि बढाउँने सोच बनाएको बताउँछन् । बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म बंगुरको स्याहार सुसारेमै बिताउने गर्नछन् ।

बबई गाउँपालिका वडा नम्बर ४ हापुरेमा रहेको उनको फर्ममा अहिले बच्चा, भाले, पोथी ७० वटा छन् । एउटा पोथीले वर्षमा २० वटा बच्चा पाउने गर्दछ ।

मासुका लागि भन्दा बच्चा बिक्रि गर्दा फाइदा हुने वली बताउँछन् । एउटा बच्चाको मूल्य पाँच हजार पर्दछ । दानापानी, औषधीका वार्षिक ८ देखि १० लाख खर्च हुने गरेको वली बताउँछन् । वार्षिक २० देखि २२ लाखसम्म आम्दानी हुने गरेको वली बताउँछन् ।

उनले पालेका बंगुर १ सय ५० किलोसम्म तौल हुने गरेका छन् । हाल बजार मूल्य बंगुरको मासु ३ सय ५० प्रतिकिलो रहेको छ । व्यवसायमा घरमा श्रीमती र बजारका लागि छोराले सहयोग गर्दै आएको बताए । मासुका लागि कम्तिमा ६ महिना पाल्नुपर्ने बताए । हालसम्म कुनै निकायबाट सहयोग अनुदान प्राप्त नभएको वली बताउँछन् ।

घर परिवारको सहयोग साथले र शरीरले साथ दिंदासम्म व्यवसाय जारी राख्ने वली बताउँछन् । बंगुर पालनबाट घर गृहस्थी सम्हाल्न र दुई नातिलाई काठमाडौमा पढाउन पुगेको वली बताउँछन् । वली भन्छन् ‘हाम्रो खेतबारी, पेशा व्यवसाय भनेकै यही नै हो, यहीबाट घर परिवारको आवश्यकता पुरा गर्न सकेका छौ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार