२०७९ माघ २६, बिहीबार

भव्यरुपमा मनाइयो ६२ औं सहकारी दिवस

चैत्र २०, २०७५  | १११० पटक पढिएको

 उदिराम चौधरी

तुलसीपुर २० चैत, दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा एक कार्यक्रमका बिच आज बुधबार तुलसीपुरमा भव्यताका साथ मनाइएको छ । जिल्ला सहकारी संस्था लिमिटेड दाङ शाखाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

जिल्ला सहकारी संस्थाका सचिव शुक्रराज भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विश्वव्यापीरुपमा एकै शासन पद्धतिबाट चलेको सहकारीको तुलसीपुरमा १५ हजार शेयर धनीहरुको लगानी रहेको बताए । त्यस्तै सहकारीका माध्यमबाट स्थानीय स्तर, गाउँमा, नगरमा अर्थतन्त्र वृद्धि गर्न आग्रह गरे । मेयर पाण्डेले सहकारी संस्थाले आर्थिक रुपमा सक्षम बनाउनुका साथै विकट स्थानहरुबाट पनि दिगो विकासका लागि लागिपरेको बताए । उनले साना, छरिएर रहेका तथा झोलामा मात्र सीमित रहेका सहकारीहरुले आर्थिक रुपमा सफलता दिन सक्दैन, १ हजार देखि १० हजारसम्मको सदस्यता रहेको सहकारी विस्तार गर्न आग्रह गरेका छन् । अहिलेको समयमा सहकारीहरु एकीकृत र ठूलो सदस्यता भएको सहकारीको आवश्यकता रहेको बताए ।

सहकारीबाट नमुना अर्थतन्त्र, नमुना नगर बनाउन सकिने भएकाले सहकारीलाई सफल र दिगो बनाउन सबैका लागि एक र एकका लागि सबै हुन जरुरी रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीकै कारण नागरिकहरु मजदुरबाट मालिक बनेको बताए । सहकारी सिमान्तकृत, गरिब र किसानहरुको लागि सहजता ल्याएको बताए । सहकारी धेरै खोल्ने भन्दा पनि बलियो बनाउन तर्फ लाग्नु पर्ने बताए ।

कार्यक्रममा हेमन्त गौतम, रमा आचार्य, हेमन्त योगी, भूपबहादुर केसी, सूर्यबहादुर डाँगी, टोपबहादुर केसी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । सहकारी दिवसको अवसरमा तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरबाट सुरु भएको झाँकी जुलुससहितको ¥यालीले तुलसीपुर बजार परिक्रमा गरेको थियो । ¥यालीमा उपस्थित उत्कृष्ट झाँकी जुलुसलाई पुरस्कार सहित सम्मान पनि गरिएको थियो ।

कार्यक्रम सफल बनाउन ३६ वटा सहकारीहरुको उपस्थिति रहको थियो । त्यस्तै सहकारीको साताव्यापी कार्यक्रम अभियान अन्तर्गतका विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

जिल्ला सहकारी संस्थाका सचिव शुक्रराज भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संस्थाका लेखा सुपरिवेक्षण संयोजक हेमराज गौतमले गरेका थिए भने कार्यक्रमको सहजीकरण रुपबहादुर खत्रीले गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस