२०७९ माघ २६, बिहीबार

च्याउ खेतीबाट लाखौंको आम्दानी

फागुन ०५, २०७५  | १६६६ पटक पढिएको

बिमल योगी
दाङको पक्वैका महिलाहरुले च्याउ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । एफ.वान. साना किसान कृषक समूह गठन गरी च्याउ खेती गर्न थालेका उनीहरुले पछिल्लो ६ महिनामा च्याउ खेतीबाट एक लाख ४० हजार रुपैया आम्दानी गर्न सफल भएका हुन । पहिलो चरणमा दुई वटा टहराबाट च्याउखेती सुरु गरेका उनीहरुले ९ सय किलो च्याउ बिक्री गरेको समूहका सचिव मनकुमारी चौधरीले जानकारी दिइन् ।

पहिलो पटक एक सय ५० पोका च्याउ खेती गरेकोमा ४ सय किलो र दोश्रो पटक ४ सय पोका च्याउ खेती गरेकोमा ५ सय किलो बिक्री गरेको उनको भनाई छ । पक्वैका २४ घरधुरी मिलेर गरेको च्याउखेती फस्टाउदै गएपछि अहिले ५ वटा टहरा निर्माण गरी १ हजार ४ सय वटा पोकामा च्याउ राखिएको र दैनिक १५।२० किलो च्याउ बिक्री भईरहेको समूहकी अध्यक्ष कुमारी चौधरीले जानकारी दिइन् । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको साना तथा मझौला कृषक आयस्तर वृद्धि परियोजना रिजमको ३ लाख ४४ हजार ५ सय ४८ रुपैया र समूहको १ लाख ९३ हजार ७ सय ३७ रुपैया गरी ५ लाख ३८ हजार २ सय ८५ रुपैयामा च्याउ खेती गरिएको हो । यसैबिच एफ.वान.साना किसान कृषक समूहले अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । समूहकी अध्यक्ष कुमारी चौधरीको अध्यक्षता तथा रिजमका कार्यक्रम अधिकृत हरि शर्माको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै समूहका सदस्य शर्मिला चौधरीले च्याउ खेतीबाट दैनिक घर खर्च चलाउन सजिलो भएको बताइन् । यसअघि खेर गईरहेको समयको सदुपयोगसंगै च्याउ बिक्रीबाट आएको रकमले घर खर्च चलाउन निकै सजिलो भएको उनको भनाई थियो । समूहकी उपाध्यक्ष वसन्ती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सार्वजनिक सुनवाई कार्यक्रममा रिजमका कार्यक्रम अधिकृत हरि शर्माले जिल्लाका ५ वटा समूह र संस्थामा २५ लाख बढीको लगानी गरिरहेको जानकारी दिए ।

घोराहीको पक्वै र लखवार, तुलसीपुर उपमहानगरपालिका १८ हेमन्तपुर र वडा नम्बर ४ रक्षाचौर तथा गढवा गाउँपालिका वडा नम्बर १ धानखोलामा स्थानीय समूह तथा संस्थालाई च्याउखेतीका लागि ३ लाखदेखि १० लाखसम्म अनुदान दिइएको उनको भनाई छ । सो अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर ६ का सदस्य कुन्ता सिजवाल, नेपाल पत्रकार महासंघका प्रदेश पार्षद विमल योगी, उद्योग वाणिज्य संघका प्रतिनिधि श्रीराम चौधरी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस