२०७९ माघ २४, मंगलबार

“प्रम हुरीबतास प्रभावित क्षेत्रमा” : राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

चैत्र १८, २०७५  | १००२ पटक पढिएको

१८ चैत, काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओलीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाका बारेमा जानकारी दिनुभएको थियो ।

गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीसम्बद्ध सांसदको एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका ओलीले राहत र उद्धारमा खटिन पार्टीका नेता कार्यकर्तासँगसमेत आग्रह गर्नुभएको छ ।

प्रम ओली कलैया अस्पताल निरीक्षणमा

यसैगरी कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका घाइते पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका डा सचेन्द्रकुमार यादवले उपचार गराइरहेका घाइतेको अवस्थाबारे जानकारी गराउनुभएको थियो । आइतबार साँझ ७ः३० बजेतिर आएको हुरीबतासबाट सबभन्दा बढी बारा जिल्लामा धनजनको क्षति भएको छ । बारामा मृतकको सङ्ख्या २८ पुगेको तथा पर्सामा एक जनाको मृत्यु भएको सम्बन्धित जिल्ला प्रहरी कार्यालयले जनाएका छन् । अहिलेसम्म क्षतिको पूर्ण विवरण आउन नसके पनि घाइतेको सङ्ख्या बढ्न सक्ने सुरक्षा निकायले अनुमान गरेको छ ।

प्रधानमन्त्रीको उक्त टोली पर्साको वीरगञ्जस्थित नारायणी उपक्षत्रीय अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बुझ्न त्यसतर्फ प्रस्थान गरेको छ । यसअघि गृह सचिव प्रेमकुृमार राईले हावाहुरीबाट व्यापक जनधनको क्षति भएको बारा जिल्लाको फेटा गाउँपालिका–७ पुरैनिया गाउँको स्थलगत निरीक्षण गर्नुभएको थियो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीले पनि सो ठाउँको निरीक्षण गर्नुभएको थियो । कलैया अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिसमेतले बुझी घाइतेको उपचारमा राज्यले कुनै कसर बाँकी राख्न हुँदैन भन्नुभयो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस