‘गुमराहमा बाँचेको मान्छे’

जेठ १८, २०७७  |  ३९६४ पटक पढिएको

कसैले लेखेको याद आएको छ, पुरानो समाज युद्ध, भोकमरी र महामारीको प्रकोपले ध्वस्त हुन्थ्यो, अहिलेको समाज आन्तरिक रूग्णताले सखाप हुँदैछ । त्यो रुग्णता पक्कै पनि पाखण्ड, भ्रष्टाचार, उदासीनता, मूल्यगत विचलन नै हुनुपर्दछ । आजभोलि चोरलाई ‘चोर’ भन्न नपाइने भइसकेको छ, भ्रष्टलाई ‘भ्रष्ट’भन्न नपाइने भएको छ । ती शब्दमा क्रिम, पाउडर लगाएर बोल्नुपर्छ । सिधा भनिनुपर्ने कुरालाई घुमाईघुमाई बिस्तारै भन्नुपर्ने भएको छमानौँ तिनको संवेदना आहत हुन्छ, तिनको मर्म दुख्यो भने कुरा बिग्रिन्छ रे । सत्य कुरालाई असत्यको जलप लगाएर सत्य बनाउन खोज्नु अर्को असत्य हो । यसबाट समाजमा कथित नयाँ सभ्यताको जन्म त भएको छ तर मान्छेको मौलिक स्वभाव टुक्रिएर क्षतविक्षत भएको छ । यसले मान्छेलाई सहज, नैसर्गिक हैन, कृत्रिम बनाएको छ ।

केही समयपहिले गाउँमा रमाइला घटना सुनिन्थे र देखिन्थे पनि । घरकै अनुभव पनि मजाका छन् । जब गाउँमा कसैको झगडा पर्दथ्यो, तिनीहरू बाझाबाज गर्दथे । मुखले ‘तेरो टाउको काटिदिन्छु, चिहानमा भाटिदिन्छु’ समेत भन्थे, त्यस्तै घरमा बाबुआमाले पनि बच्चाबच्चीलाई गलत काम गर्नबाट रोक्न’ यस्तो फेरि गरिस् भने तेरा खुट्टा भाँचिदिन्छु’ भन्दथे । म स्वयंले यस्ता चेतावनी कतिपटक भोगेको हुँ तर न गाउँलेले आफ्ना वक्तव्यलाई कार्य रूपमा अमल गरे न त बाबुआमाले । तिनताका गालीका शब्द अत्यन्तै भद्धा र अश्लील हुन्थे तर व्यवहारमा फेरि उस्तै कोमलता कायम देखिइहाल्दथ्यो । यो एउटा प्राकृतिक ग्राम्य जीवनको मिठास थियो ।

आजभोलि हेरौँ त, सँगै बसेका छन्, सँगै बात मारेका छन् तर एकले अर्कालाई चिन्न नसकिने भएको छ । कसले कसलाई कहाँनेर छिट्किनी हानेर ढाल्ने हो पत्तै छैन । बाहिरी व्यक्तित्व भव्य देखिन्छ । त्यो स्वरूप हेरेर यति नीचतामा खस्ला भन्ने विश्वास नै लाग्दैन तर भइरहेको छ त्यस्तै । यहाँ हरेकले मौका कुरेर बसेको छ । हरेकले पासो थापेर बसेझैँ देखिन्छ । मौका पर्दा साथ घात गर्ने योजनालाई साकार पार्ने र त्यसलाई सुन्दर शब्दावलीले न्यायसङ्गत बनाउने काइते उपाय रेडिमेड छ ।

धेरै टाढा जानै पर्दैन । भर्खरै प्रेम, प्रकरणमा सामूहिक हत्याको तात्तातो खबर व्याप्त छ । मान्छे मरेको प्रत्यक्ष प्रमाण हुँदाहुँदै त्यसलाई अनेकन् डेन्टपेन्ट लगाएर घटनालाई सहज, सामान्य बनाउने टीकाटिप्पणी आइरहेका छन् । यो मानवीयताको स्खलन हो, मान्छेको भित्रको चेतना मरेको प्रमाण हो ।

सत्य र असत्यको परिभाषा गुमराहमा परेको छ । जसले जहाँबाट गफ दिन सक्यो र जति धेरै ताली पायो त्यही नै स्वीकृत सिद्धान्त बन्दैछ ।

समाजमा यस्तै यस्तै संस्कार विकसित हुँदै छ । जिम्मेवारले तलमाथि गरेर भ्रष्टाचार गर्छ, अर्कोले त्यसलाई स्वाभाविक रूपमा लिन्छ । एउटाले अर्कोलाई सिध्याउँछ, समाजले अभियुक्तको दोषभन्दा पहिले पीडितको कमजोरी कोट्याउन थाल्दछ । यस्तो तरिकाले विचार र स्थापित चिन्तनहरू खण्डित हुन थालेका छन् । सत्य र असत्यको परिभाषा गुमराहमा परेको छ । जसले जहाँबाट गफ दिन सक्यो र जति धेरै ताली पायो त्यही नै स्वीकृत सिद्धान्त बन्दैछ ।

एउटा रमाइलो कथा सन्दर्भ छ, कुनै गाउँमा एक मान्छेले अर्कोलाई हत्या गरेछ । अदालतमा मुद्धा दायर भएछ । वादीप्रतिवादी दुवै सम्पन्न रहेछन् । दुवैले घागडान वकिल राखेछन् । पक्षविपक्षमा बहस गर्ने वकिलले आफ्ना बेजोड तर्क राखेछन् । न्यायाधीशलाई निर्णय सुनाउन बडो गाह्रो पर्न थाल्यो । ८, १० वर्षसम्म मुद्धा फैसला नै हुन सकेन । दुवैका तर्कहरू उत्तिकै अकाट्य छन् । एक दिन न्यायाधीश नै हुक्किएछन् । उनले हत्यामा आरोपित अभियुक्तलाई वकपत्र गर्ने कोठामा उपस्थित हुन आदेश दिँदै भनेछन्– ‘म यो मुद्धाको फैसला गर्न असमर्थ भएँ, हत्याको आरोप तिमीलाई लागेको छ, त्यसैले यो मुद्धाको फैसला अब तिमी नै गर, भन– ‘तिमी हत्यारा हौ कि होइनौ ?’

अभियुक्तले भन्यो– श्रीमान्, सुरुसुरुमा त अपराधी म नै हुँ जस्तो लाग्थ्यो, किनकि म‌ैले नै हत्या गरेको थिएँ । जब यतिका वर्षसम्म फैसला हुन सकेन र मेरा वकिलले मलाई बारम्बार निर्दोष भएको जिरह गरिरहनुभयो, उहाँका तर्क सुन्दासुन्दा अब मैले हत्या गरेकै होइन भन्ने लागिरहेको छ । त्यसैले अब म भन्नै सक्दिनँ ।’
यो हो समाजको अवधारणा । जब कुनै झुटो कुरा पुनरुक्ति हुन थाल्छ, अथवा अपराधलाई स्वाभाविकताको आँखाले हेर्न थालिन्छ त्यसप्रति आम मान्छेको भरोसा बढ्न थाल्दछ, त्यो विश्वसनीय बन्दै जान्छ अनि सबै नाजायज कुरा पनि जायज बन्न थाल्दछन् र जायज कुरा गर्नेहरू समाजमा पङ्गु हुन थाल्दछन् । सायद यही नै मान्छेको आन्तरिक महाव्याधि हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार