‘भयबाट सिर्जित चुनौती’

जेठ १७, २०७७  |  २६५७ पटक पढिएको

कोभिड–१९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर बन्ने अवस्था देखियो । जिम्मेवार व्यक्ति र निकाय यस विषयमा समयमा नै गम्भीर नहुने हो भने यसले कोभिड–१९ महामारी विरुद्धको संघर्षलाई नै कमजोर बनाउने छ । वास्तवमा भाइरस प्रत्यक्ष सम्पर्कबाट सर्ने हो नजिकको ठाउँमा क्वारेन्टाइन र आइशोलेसन राखेर होइन भन्ने कुरा पनि अझैसम्म स्थापित गर्न सकिएको छैन । यतिसम्मको चिकित्सक र स्वास्थ्यकर्मीमा समेत यस विषयमा पर्याप्त भ्रम देखिन्छ ।

कोरोनाको उपचारका सन्दर्भमा सुरुमा डर मान्ने र पछि सहज हुने अवस्था आम रुपमा देखिएको छ । कोरोनाको उपचारका लागि तयार गरिएका अस्पतालमा बिरामी लगेर नराख्दासम्म डर रहिरहने देखिन्छ । त्यसका लागि सरकारले उपचार हुने सबै अस्पतालमा निश्चित संख्यामा बिरामी पठाएर मानसिक रुपमा तयार गर्नु राम्रो हुन्छ । बिरामीको उपचार गर्न सुरु गरेपछि चिकित्सक र स्वास्थ्यकर्मीमा डर हटेको र मनोबल बढेको देखिन्छ । यतिसम्मकी पछिल्लो समय संक्रमितहरु ठुलो संख्यामा भेटिएका र उपचार पछि निको भएका ठाउँमा आम मानिसमा भय र त्रास कमहुँदै गएको र त्यहाँको परिस्थिति सामान्य बन्दै गएको देखिन्छ ।

क्वारेन्टाइन वा आइशोलेसनका कारणले बस्तीमा सर्छ भनेर रोक्न खोज्ने कुरा अत्यन्त बेठिक र भ्रमपूर्ण कुरा हो ।

क्वारेन्टाइन वा आइशोलेसनका कारणले बस्तीमा सर्छ भनेर रोक्न खोज्ने कुरा अत्यन्त बेठिक र भ्रमपूर्ण कुरा हो । सबैभन्दा पहिले कोभिड–१९ को उपचार गर्ने काठमाण्डौंको सरुवा रोग उपचार अस्पताल रहेको टेकु र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको लगनखेलमा किन संक्रमण फैलिएन ? किन विराटनगर र धरान भन्दा उदयपुर र झापामा बढि संक्रमण देखियो ? किन कोरोना विशेष अस्पताल रहेको बुटवल र भैरहवामा भन्दा बढि कपिलवस्तुमा बढि देखियो ? किन खजुरामा भन्दा बढि नरैनापुरमा बढि देखियो ? किन रोग पत्ता लागेपछि समुदायमा पुगेको कोरोना भाइरस उदयपुर, नेपालगंज र वीरगंजका बस्तीमा समेत नियन्त्रणमा आयो ? कुरा स्पष्ट छ, संक्रमण फैलिनुमा संक्रमित पहिचान नभएर नै हो । संक्रमितलाई पहिचान गरेर आइशोलेसनमा राख्ने हो भने संक्रमण फैलनबाट रोकिन्छ । रोकिदै आएको हाम्रो आफ्नै अनुभव पनि छ ।

यतिबेला क्वारेन्टाइन भित्र संक्रमण बढि देखिनुको कारण बाहिर नै संक्रमित भएर आएका र क्वारेन्टाइनमा बस्नेहरुले एक आपसमा सामाजिक दुरी कायम नगरेका कारणले हो । क्वारेन्टाइनमा ठुलो संख्यामा संक्रमित देखिए पनि त्यो त्यति जोखिपूर्ण छैन । किनकी उनीहरुको ठुलो हिस्सा युवाहरुको छ र उनीहरु समाजमा मिसिएको अवस्था छैन । पहिचान गरी समयमा उपचारको प्रक्रियामा लाने हो भने उनीहरुलाई सहजै निको बनाउन सक्ने देखिन्छ । तर संक्रमितहरु पहिचान नभई समाजमा पुगेर दीर्घ रोगी र वृद्धवृद्धामा संक्रमण फैलियो भने स्थिति जटिल बन्छ । यस्तो कुरामा सबैको ध्यान जानुपर्दछ । सचेत पंक्तिले भन्नु पर्दछ क्वारेन्टाइन राखेका कारणले सम्पर्कमा नपुगेका मान्छेमा भाइरस सरेको छैन र सर्दैन ।

यतिबेला आफ्नो बस्ती र ठाउँमा क्वारेन्टाइन राख्न नदिने नाममा अवान्छित क्रियाकलाप भइरहेका छन् । क्वारेन्टाइमा संक्रमित बढि देखिएका नाममा सिधै घर पठाउनु उपयुक्त हुने तर्क पनि सुनिन थालेका छन् । स्वास्थ्यकर्मी र जनप्रतिनिधिको निगरानी रहेका क्वारेन्टाइमा समेत सामाजिक दुरी कायम गर्न समस्या देखिएको छ । तीनै व्यक्तिहरुलाई सिधै आफ्नो घर र बस्तीमा पठाउँदा के होला ? सहज अनुमान गर्न सकिन्छ । निश्चित छ सिधै बस्तीमा पठाउँदा पहिचानमा नै समस्या हुन्छ । अनि आवश्यक सतर्कता कायम गर्न सकिदैन र संक्रमणको जोखिम बढ्न जान्छ । यस्ता विषयमा सञ्चार माध्यमले विज्ञहरु मार्फत भ्रम चिर्न सहयोग गर्नुपर्दछ । अन्यथा हाम्रो समाजमा कोभिड १९ सँग जोडिएर सिर्जना भएको भय र त्रासले नै हामीलाई महामारीसँग जुध्न कठिन बनाइदिनेछ ।

समाजमा व्याप्त भ्रमका कारणले मृतकको दाहसंस्कारमा पनि समस्या उत्पन्न भएको छ ।

यद्यपी यतिबेला जनसचेतना जगाउन खोज्न व्यक्ति वा समुहलाई पनि अस्विकार गर्ने वा उनीहरुलाई हतोत्साहित गर्ने प्रवृत्ति बढेको छ । सचेतना फैलाउनु पर्नेहरु आफै भ्रमको शिकार भएको पनि देखिएको छ । क्वारेन्टाइन राख्न नदिनका लागि शिक्षकको नेतृत्वमा नै विद्यालय भवन भत्काउने काम भएका समाचार सम्प्रेषण भइरहेका छन् । जनप्रतिनिधिको नेतृत्वमा क्वारेन्टाइन बनाउन नदिन अवरोध सिर्जना गरिएका समाचारहरु आइरहेका छन् । अनि राजधानीकै विद्युतिय शवदाहगृहका संचालकहरु तालाबन्दी गरेर भागाभाग भएका समाचार आइरहेका छन् । अस्पतालमा बिरामी राख्न डाक्टर समेत तयार नभएको कुरा आइरहेका छन् । यस्ता गलत कुराको खासै प्रतिवाद वा विरोध भएको देखिदैन । सम्बन्धित निकायले पनि यस्ता कुरालाई गम्भीर रुपमा लिएर स्पष्टिकरण सोधेको र सचेत बनाएको पनि सुनिएको छैन ।

समाजमा व्याप्त भ्रमका कारणले मृतकको दाहसंस्कारमा पनि समस्या उत्पन्न भएको छ । घाटमा लगेर शव जलाउने कुरा समेत रोकिएको छ । ठुलो संख्यामा मृत्यु हुँदाको अवस्थामा नियमित प्रक्रियामा जान नसक्नु स्वभाविक हो । तर एउटा दुईवटा मृतकको अन्तिम संस्कारमा परम्पराको पालना हुन नसक्नु गम्भीर कमजोरी हो । यतिसम्मकी भयका कारणले परिवारका सदस्यहरु समेत नजिक नपर्ने स्थिति देखिएको छ । जबकी जीवित मान्छेबाट भन्दा मृत मान्छेबाट भाइरस सर्ने सम्भावना कम हुन्छ । किनकी जीवित मान्छे बोल्दा र हात्च्छेउ गर्दा भाइरस शरीरबाट बाहिर आउँछ । तर मृतकको शरीर स्थिरभएको अवस्थामा त्यो सम्भावना हुँदैन । तर यतिवेला भाइरसको डर जिउँदा मान्छेसंग भन्दा बढि मरेको मान्छेसंग देखिन्छ । यो कुरामा पनि आवश्यक सचेतना जगाउने काम हुन सकेको छैन ।

नेपालमा दुईजना व्यक्तिको हकमा दाहसंस्कार पछि मात्र संक्रमणको रिपोर्ट आएको थियो । ती व्यक्तिहरुको दाहसंस्कारमा सामेल भएका व्यक्तिमा संक्रमण देखिएको प्रमाण अझैसम्म पाइएको छैन । जीवित संक्रमितको सम्पर्कको तुलनामा मृतकलाई छुँदा मानिसले बढि सरसफाईमा ध्यान दिएका कारणले पनि संक्रमण नफैलिएको मान्न सकिन्छ । यस्ता कुरा पनि हाम्रा सन्दर्भमा विचार गर्नुपर्ने विषय हुन् । कोभिड १९ महामारी नियन्त्रणको नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालय यस्ता विषयमा गम्भीर र संवेदनशील बन्नुपर्दछ । हरेक घटनाको तथ्यपरक विश्लेषण गरी भय र त्रासको अन्त्य गर्नुपर्दछ । संक्रमित क्षेत्रबाट आएका नागरिक, संक्रमित व्यक्ति र मृतकका सन्दर्भमा मानवीय व्यवहार प्रदर्शन हुने वातावरण सुनिश्चित गर्नु पर्दछ । मानवीय संस्कार र संस्कृतिको रक्षा संकटका बेलामा झनै जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार