धारापानी सामुदायिक वनमा मनोमानी वन फडानी

जेठ १४, २०७७  |  ३९७२ पटक पढिएको

उपभोक्ताको सहमती र समन्वय विनै वन पातलो गराउने अभ्यास, काठदाउरा मनोमानी रुपमा समितिद्वारा बिक्रि

१४ जेठ, तुलसीपुर / नेपाल सरकार वन मन्त्रालयको कार्ययोजना बमोजिम जिल्ला वन कार्यालयको निगरानीमा सामुदायिक वन तथा सरकारी वनहरुमा थिनिङको काम सुरु भएको छ । वैज्ञानिक वन व्यवस्थापनको अवधारणा अनुरुप वन पातल्याउने काममा मोनोपोली देखिएको छ । नियम मिचेर वन फडानी भैरहेको तुलसीपुर उपमहानगरपालिका—७ स्थीत धारपानी सामुदायिक वनका उपभोक्ताहरुले दावी गरेका छन् ।

कार्यसमितिले उपभोक्ताको समन्वय र सहमती विनै मनोमानी ढंगले वन फडानी गरिरहेको तथा उपभोक्ताहरुलाई हरीष र एक भारी दाउरा समेत नदिएर
व्यापारीलाइ काठ बिक्रि गरेको पनि उपभोक्ताहरुको आरोप छ । घाटगद्धि गरेर काठ बिक्रिगर्नुपर्नेमा संबन्धित फिल्डमै ट्याक्टर लगेर ढालिएका काठहरु
ओसारपसार भैरहेको पनि उपभोक्ताहरुको आरोप छ । पटक पटक यो समस्या समाधानकालागी वर्तमान कार्यसमितिलाइ आग्रह गरिएपनि उपभोक्ता समिति अध्यक्ष नन्दा जिसिले यो विषयमा आफु इतरका उपभोक्ताले राखेका कुराहरुनै नसुन्ने गरेको तथा सम्बन्धित टोल विकास संस्थालाई समेत वास्ता नगरेको बताइएको छ ।

बुधवार दिउसो सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा टोलविकाश संस्थाका पदाधिकारी र उपभोक्ताहरुसंगै बसेर समस्या समाधान गरिने बताइएपनि वन भवनमा समुहका पदाधिकारीहरु भने कोहि आएनन् । कार्यसमितिका पदाधिकारीहरु कोहि नआएपछि वन समुहको कार्यालयमा भेला भएका दर्जनौं उपभोक्ताहरु फर्किएका थिए ।

‘मनोमानि ढंगले कटान गरिएका काठहरु रातारात बेचिएको छ, म उपभोक्ताका नाताले एउटा हरीस किन्न जांदा पनि दिइएन’—उपभोक्ता भुपालसिंह बुढाथोकिले
भने । आफुहरुले हुर्काए/जोगाएको वन पातल्याउने क्रममा उपभोक्ताहरुलाइ कुनै सहमतीनै नजुटाएर धमाधम कटान भैरहेको अर्का उपभोक्ता विष्णु बस्नेतले
बताएका छन् ।

सयौं उपभोक्ताहरुले मनोमानी ढंगले वैज्ञानिक वन व्यवस्थापनको कार्यविधि विपरीत सिंचाइ कुलो र खानेपानीका मुहानै सुक्नेगरी वन फडानी भएकोमा
महिला उपभोक्ताहरुले समेत तिब विरोध गरेका छन् । ‘रुख कटानका विषयमा हामीलाइ एक पटक पनि जानकारी गराइएन, अर्को कुरा विक्रि वितरण पनि
कार्यसमितिका अध्यक्षको मनोमानीमा भैरहेको छ’, उपभोक्ता भिमा डाँगीले भनिन्, मैले एक भारी दाउरा पनि पाइन । वैज्ञानिक वन व्यवस्थापन होस् वा
थिनिङका नाममा सिमसार क्षेत्रका रुखहरु कटान गर्न नपाइने भनिएपनि सय भन्दा बढि रुख सिमसार क्षेत्रबाट कटान भएको उपभोक्ताहरुको दावी छ । त्यसैगरी आवादी, सडक र सिंचाइका संरचनाको सिमामा रहेका रुखहरु कटान गर्न नमिल्ने भनिएपनि सीमाका दर्जनौं शालका रुखहरु कठान गरिएको छ ।

त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन गर्दा ३० इन्च भन्दा बढि गोलाइका रुख कटान नगर्ने भनिएपनि ९० इन्च सम्म गोलाइ भएका रुखहरु समेत कटान भैरहेको उपभोक्ताहरुको गुनासो पोखिएको छ । यसरी कटान भई बिक्रि गरिएका काठको विल समेत लिने व्यक्तिलाई उपलव्ध गराइएको छैन । वनमा अनियमितताको सन्दर्भमा उपभोक्ताहरुको व्यापक जनगुनासो आउन थालेपनि मात्र काठ किन्नेहरुलाई बिल दिइन् थालिएको उपभोक्ता विष्णु बस्नेतले बताए । यसमा सम्बन्धित वन कार्यालयका कर्मचारीहरुको समेत मिलोमतो भएको हुन सक्ने आशंका उपभोक्ताहरुले गरिरहेका छन् । वन थिनिङका क्रममा कम्तिमा एक करोड मुल्य बराबरका काठ काटिएको अनुमान उपभोक्ताहरुले गरेका छन् । कटान भैसकेका ए ग्रेड र वि ग्रेडका काख विक्रि भैसकेको बताइन्छ । वन समुहको कार्यालय परिषरमा सि ग्रेडका काठ मात्र राखिएको बताइन्छ । तर कार्यसमितिले भने यसको हिसावकिताव उपभोक्ताहरुलाई देखाउन चाहेको छैन । कार्यसमितिका पदाधिकारीहरुको मिलोमतोमा वन पातल्याउने क्रममा वनका कर्मचारीको समेत संलग्नताको आशंका उपभोक्ताहरुको छ ।

मलाई फसाउन खोजियो : अध्यक्ष
यसैबीच धारपानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नन्दा जिसिले यो विषयमा मलाइ फसाउन खोजिएको बताएकि छिन् । ‘कहाँ कटान गर्न हुने र कहाँ
कटान गर्न नहुने भन्ने कटान समितिले आधार बनाएको तथा त्यसलाई उपभोक्ताहरुबाटै बनाइएको अनुगमन समितिले अनुगमन गरिरहेको अवस्थामा अहिले आएर निहित स्वार्थ पुरा नभएका उपभोक्ताहरुले मलाई फसाउन खोजेका हुन्’—अध्यक्ष जिसीले भनिन् ।

केही उपभोक्ताहरुले वन कटानका क्रममा सिँचाई कुलो भत्किएको माग राखेको उल्लेख गर्दै त्यसलाइ निर्माण गरीदिने आफुले प्रतिबद्धता जनाएको बताइन् । तर
लगत्तै उनै उपभोक्ताहरुले सडक निर्माण पनि वनलेनै गरिदिने र त्यहाँबाट निस्केको ढुंगा माटो आफुहरुले बेच्न पाउनुपर्ने माग राखेका थिए । त्यो मागलाई आफुले पुरा गर्न नसक्ने बताएपछि आफुलाई फसाउन खोजिएको पनि उनको अभिव्यक्ति थियो ।

‘सिमसार क्षेत्र र सिमा क्षेत्रमा कटान गर्न मिल्छ पनि भन्छन्, मिल्दैन पनि भन्छन्, त्यो त कानुनले बताउला तर मलाइ यो विषयमा मात्र नभएर अन्य स्वार्थका कारण फसाउने प्रयत्न भैरहेको छ’—अध्यक्ष जिसीले भनिन्, म कानुनी कारवाही भोग्न तयार छु । रुख कठान फागुन महिनामै भएको थियो भन्दै अहिलेसम्म किन यो विषयमा कुरा उठेन भन्दै अध्यक्ष जिसीले केहि उपभोक्ताहरुले वन समुहको कार्यालयमा बोलाएर गालिवेइज्यती र हातपातको समेत प्रयास गरिएको बताइन् ।

छानवीन सुरु
यसै सन्दर्भमा डिभिजन वन कार्यालय दाङले धारपानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनका क्रममा थिनिङको काम भैरहंदा यसमा अनियमितता भएको उजुरी परेको जनाएको छ । ‘थिनिङको काम भैरहेंको सन्दर्भमा केहि कमजोरीहरु भएको भन्ने उपभोक्ताहरुबाट उजुरी आएको छ, त्यसको निष्पक्ष छानविनका लागि अनुसन्धान अधिकारी खटाइसकेका छौं’—डिभिजन वन कार्यालय घोराहीका प्रमुख दिपक ज्ञवालीले बताए । सो सामुदायिक वनमा भैरहेको थिनिङको काम
सेक्टर वन कार्यालय तुलसीपुरको निगरानीमा भैरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार