जलबिन्दुका विरामीहरुलाई हेलचेक्रयाई नगर्न विशेषज्ञको सुझाव

जेठ १४, २०७७  |  ४२३९ पटक पढिएको

१४ जेठ, तुलसीपुर / जलबिन्दु भएका आँखाका विरामीहरुले नियमित औषधिको प्रयोग गर्नु साथै समस्या देखिए तुरुन्त अस्पतालमा आउन आँखा अस्पतालले सबैमा अनुरोध गरेको छ । सामान्य हेलचेक्रयाईले जलबिन्दुका कारण दृष्टि गुम्न सक्ने भएकाले यस तर्फ सबैले समयमै ध्यान दिनुपर्ने आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर नेत्र विशेषज्ञ डा. सुलक्ष्मी कटुवालले जानकारी दिइन् ।

लामोसमयको लकडाउन औषधीको अभाव तथा अन्य समस्या देखिए सम्बन्धित निकायमा सम्पर्क गरि नियमित औषधी प्रयोग र चेकजाँच गर्न उनको सबैलाई आग्रह रहेको छ ।

‘यदि कसैलाई जलबिन्दुको समस्या छ र नियमीत औषधि प्रयोग गर्नुभएको छ भने औषधि नछुटाउनहोस्, नियमित प्रयोग गर्नुहोस्, लकडाउनसँगै केहि समस्या छ भने पनि सम्बन्धित निकायमा सम्पर्क गर्नुहोस् उनले भनिन् ।

जलबिन्दुको समस्या समयमै पहिचान गरी उपचार शुरु गर्न सकेको खण्डमा र चिकित्सकको सुझाव अनुसार नियमित औषधि प्रयोग गरेर यसबाट हुनसक्ने अन्धोपनबाट बच्न सकिन्छ डा. कटुवालको भनाई छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पातल, छन्द कालोबावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज र लमही आँखा अस्पतालमा तथा नजिकैको आँखा अस्पतालमा आवश्यक पारे सम्पर्क गर्न आग्रह गरिएको छ ।

जलबिन्दुमा हाल आँखाको भित्रि चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’ को मात्र उपचार गर्न सकिन्छ । यसका लागि आँखामा राख्ने थोपा औषधीहरु अत्यन्त प्रभावकारी रहेका छन् । यी औषधीहरुले प्रेसरलाई केही घटाउन र दीर्घकालिन रुपमा नियन्त्रणमा राख्न मद्धत गर्दछन् । थोपा औषधीहरुले आँखाको भित्री चाँप घटाउन नसकेको अवस्थामा शल्याक्रिया गर्नुपर्ने समेत हुनसक्छ । हरेक ६ महिनामा आफ्नो आँखाको जाँच गराएर जलबिन्दुको समयमै पहिचान गरी उपचार गराउनु उपयुक्त हुने डा. कटुवालको सुझाव छ ।

जलबिन्दु एक किसिमको आँखाको रोग हो । यसले आँखाको दृष्टि सम्वन्धि स्नायु (अप्टिक नर्भ)मा क्षति पुर्याउँछ । जलबिन्दुको प्रारम्भिक चरणमा केहि लक्षणहरुमात्र देखिने वा कहिलेकाँही कुनैपनि लक्षण नदेखिने पनि हुनसक्छ । समय समयमा आँखाको जाँच नगराउने र सानातिना समस्या भन्दै आँखाको उपचारमा हेलचेक्रयाई गरेमा जलबिन्दुले मानिसलाई दृष्टिविहीन समेत बनाउन सक्छ ।

विशेषज्ञहरुद्वारा आँखाको भित्रि चाँप ‘इन्ट्रा अक्युलर प्रेसर’, आँखाको तरल बग्ने प्रणालिको कोण र अप्टिक नर्भ, पेरिफेरल भिजन भिजुअल फिल्ड टेस्ट लगायतको सम्पूर्ण जाँच गराएर जलबिन्दु निदान गर्न सकिने नेत्रविशेषज्ञ डा. कटुवालको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार