‘प्रतिशोध’ कि ‘पुरुषार्थ’ ?

जेठ ०२, २०७७  |  ७७१ पटक पढिएको  |   साक्षी खबर

भूपू राजा ज्ञानेन्द्रलाई गुँडमा फर्कन सरकारले बाधा हालेको खबर सुनियो । कमिलाका प्वाँख उम्रिएको भनेको यही हो । म राजाप्रेमी हैन तर राजामाथिको यो झुर व्यवहार मलाई अपच भएको छ । राजालाई गृहनगर आउन नदिनुमा एउटा तर्क त देखिन्छ तर त्योभन्दा ठूलो कारण अमानवीय प्रतिशोध मात्रै छ । उनलाई निषेध गर्नुको कारण राज्यले जारी गरेको नियम सबैलाई एउटै हो भन्ने बाहेक अर्को देखिँदैन । मैले यतिखेर हाम्रा काँठतिरको उखान सम्झिरहेको छु, ‘दाजुसित सक्दिनँ भाउजूसित सक्छु ।’ अर्को उखान पनि यसकै नजिकमा प्रदक्षिणा गर्दछ, ‘सौताका रिसले पोईको काखमा सु …. गर्नु ।’

कुनै काम ठिकसित गर्न नसक्ने सरकारले राजाको गृहप्रवेशको अनुमति रद्द गरेर ठूलै भ्यागुतो मारेको पुरुषार्थ देखाएको छ ।

यता सीमा थिच्चिएकोमा सरकारको चुइँक्क गर्ने हुती छैन । कोरोना व्यवस्थापनमा उसको अनुहारमा कालिमा पोतिँदै छ । कछुवा तालको उदेक लाग्दो टेस्टिङ प्रणाली, झपाझप पास वितरण, जनप्रतिनिधिका हैकमी आग्रहमा मान्छेको ओसारपसार , सिमानामा पर्याप्त निगरानीको अभावले मान्छे छिरेका छिर्यै गरे । त्यो बेला सरकारले कानमा ठेँटी कोचेर सुत्यो । परिणाम यतिखेर सङ्क्रमितको सङ्ख्या चुलिँदो छ । यसले सरकारको लोकप्रियता सङ्कुचित भइसकेको छ । वैदेशिक रोजगारीमा गएका नागरिकहरूले अभिभावकत्व धारण नगरिदिएकोमा सरकारलाई धारे हात लगाएका छन् । कुनै काम ठिकसित गर्न नसक्ने सरकारले राजाको गृहप्रवेशको अनुमति रद्द गरेर ठूलै भ्यागुतो मारेको पुरुषार्थ देखाएको छ ।

माथि नै भनेको छु, ‘म राजावादी हैन । त्यसमा पनि यी राजाप्रति मेरो आस्था झन् च्युत छ । यिनका विगतका लीला राम्रैसित देखेको छु । यति हुँदाहुँदै पनि मानवीय संवेदना र भूपूकै हैसियतले उनको याचनालाई नसुनिदिनु गृह प्रशासनको छुच्च्याइँ नै ठान्दछु म । राजाले विनम्रतापूर्वक अनुमति मागेका थिए । कदाचित् उनी बिना अनुमति नै हिँडेको भए पनि उनलाई केरकार गर्नै हैसियत कसैको हुने थिएन, यो मेरो ठोकुवा हो । उनी आफ्नै गाडी चढेर आउने वाला थिए । देशका मन्त्री, सांसदलाई कोरानाले छोएको छैन भने राजालाई नछोएको प्रस्ट हुन्छ । उनी यता आएर भुइफुट्टा तालमा जनतासित हात मिलाउँदै हिँड्ने पनि होइनन् । यो स्थिति जान्दाजान्दै सरकारले दादागिरी किन देखाएको हो ? मलाई कुरीकुरी लागेको छ । नियम सबैलाई समान लागू हुन्छ । तर व्यक्तिको उमेर, स्तर र विगतको साख पनि त हुन्छ !

समान कानुन लाग्ने देशमा गाउँ, नगर र महानगरपालिकाका सदस्यहरू खुल्लेआाम सडकमा महाराजझैँ ठमठम हिँडेका देखिन्छन् । ज्ञानेन्द्र विगतका राजा नै हुन् । यो देशका भूपू नेताहरूले अझै राज्यको सुविधा हसुरेकै छन् । तिनका अघिपछि सुरक्षा गार्ड र भत्ता उपलब्ध भएकै छ । भूपू राजाकै हैसियतले उनलाई पनि राज्यले सुरक्षाको प्रबन्ध गरिदिएकै छ । यसमा समान नियम कसरी लागू भएको छ त ? यी नजिरले समानताभित्र पनि सकारात्मक विभेदको नीतिलाई प्रस्ट पारेका छन् ।

जनमतको कदर नै गर्ने हो भने यतिखेर नेताप्रति वितृष्णा बढेको छ र राजाप्रति झन् श्रद्धा बढ्दै गएको देखिन्छ । राजा उमेरले पाकेका छन् । उनलाई राज्यद्रोहको आरोप लागेको छैन । गैह्र कानुनी तरिकाले राज्यमा कुनै वितण्डा खडा गरेका पनि छैनन् । उनले सरकारी हेलिकोप्टर मागेका पनि हैनन् । जनता भड्काउन हिँडेका पनि होइनन् । जब कि नेपाल वायु सेवा निगमको जहाजले एक जना कर्मचारी वेदप्रसाद शर्मालाई मात्रै जापानबाट बोकेर आएको खबर आएको छ । यस्तो परिस्थितिमा राजाको याचनालाई ठाडै तिरस्कार गरेको यो दृश्य हग्नेलाई भन्दा देख्नेलाई लाज भएको छ । निर्णय बडो अचम्मलाग्दो छ । सरकार यस्तै उरन्ठ्याउलो काम गरेर जग हँसाउँछ ।

बाबु, बाजेले सात सालको क्रान्तिमा सानो भूमिका खेलेकोमा खडकुँला भरीको तर चाट्ने नेताहरू नदेखेको होइन, जेल जाँदैमा शासन गर्ने सम्पूर्ण अधिकार आफूमै निहित भएको दाबी गर्ने कथित नेता ज्युँदै छन् यहाँ ।

यी राजा भूपू भइसकेका छन् । यिनलाई फेरि रजाइँ गर्ने रहर होला रे । त्यसका लागि संविधानले उनलाई हक दिएको छ । केही राजावादीहरूमा उनी सिंहासन चढेको हेर्ने मनसुवा होला रे । मनका लड्डु खाने अधिकार सबैलाई छ । कानुनका परिधिमा उनी बसेकै छन्, मुकुट फुकालेकै छन्, दरबार उनले छोडेकै छन्, दाजुका सम्पत्ति पनि छोडिदिएकै हुन् । हो, समयसमयमा देशको गाईजात्रामा सानो टिप्पणी पनि गर्छन् । उनलाई आफ्ना अग्रजले सिर्जेको मुलुकप्रति चिन्ता लाग्नु स्वाभाविक छ । बाबु, बाजेले सात सालको क्रान्तिमा सानो भूमिका खेलेकोमा खडकुँला भरीको तर चाट्ने नेताहरू नदेखेको होइन, जेल जाँदैमा शासन गर्ने सम्पूर्ण अधिकार आफूमै निहित भएको दाबी गर्ने कथित नेता ज्युँदै छन् यहाँ । विचरा ज्ञानेन्द्रले कति ठूलो माग राखेका थिए र ? मात्रै घर जान पाऊँ भनेका हुन् । राजाका बारेमा हाम्रो पेटमा किन बेतुकको कब्जियत हुन्छ ? उनले थोरै बोलेकोमा हामीभित्र सोला गुडगुडाउँछन् किन ? उनले तीर्थाटन गरेको र देश घुमेकोमा हाम्रो कुर्सी किन थरथर काँप्छ ? यहाँसम्म कि उनले सङ्कटको घडीमा सरकारलाई सहयोग (१ करोड) दिँदा पनि गम्भीर प्रश्न उठ्छ किन ? आफूले दिन नसक्ने तर राजाले दिएको त्यो पैसा सुमोर्न लाज लाग्दैन किन ?

यी सबै तथ्य हेर्दा सरकार राजासित त्रस्त छ । सरकार जनतासित भयभीत छ । उसलाई थाहा छ, उसले केही गरेकै छैन । उसलाई थाहा छ, उसले सुशासन दिएकै छैन । उसलाई थाहा छ, यहाँ गडबडी मात्रै भएको छ । उसलाई राम्रो हेक्का छ, एउटा राजा फालेर धेरै राजाको पदस्थापन गरिएको छ । र गजबसित थाहा छ, यहाँ हुनुपर्ने कुरा नभएर नहुनुपर्ने कुरा मात्रै ज्यादा भएको छ ।

यो पृष्ठभूमिमा मनमा हुरीबतास चल्नु कुनै अनौठो होइन । तब भन्न सकिन्छ, यो प्रतिशोध नभए के हो त ?

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार