‘अनुदानको बिउ फुस्सा’

बैशाख २८, २०७७  |  २१६ पटक पढिएको  |   साक्षी खबर

२८ वैशाख, बिजौरी / करिब ७५ प्रतिशत किसानहरुले मकैखेति सकिसकेको अवस्थामा पनि स्थानीय सरकारले अनुदानको बिउ उपलब्ध गराउन सकेको छैन । जसका कारण किसानहरुले निजि एग्रेभेटबाट महंगो मुल्यमा क्वारेन्टाइन परीक्षण समेत नगरिएको मकैको बिउ खरिद गर्न बाध्य भएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले बैशाख २४ गतेसम्म अनुदानको बिउका लागिकिसानहरुलाई कृषि शाखामा नाम टिपाउन समेत आग्रह गरेको थियो । त्यसैअनुरुप सयौं किसानहरुले कृषि शाखामा नाम पनि टिपाए । तर अनुदानको मल भने उपलब्ध हुन सकेन् । चाँडो मनसुन सुरुभएसँगै जिल्लाका अधिकांश किसानहरुले बारीमा मकै रोपिसकेका छन् ।

मकै रोपिसकेपछिको बिउले किसानलाई राहत नमिल्ने भन्दै स्थानीय सरकारप्रति किसानहरु खिन्न समेत भएका छन् । यद्यपि उपमहानगरपालिकाले भने सोमबारैदेखि मकैको बिउ बिक्रिवितरण गर्ने दावी गरेको छ । लकडाउनका कारण समयमा बिउ आइनपुगेको भन्दै किसानहरुलाई चाहिएको समयमा बिउ बिक्रि वितरण गर्न नसकेको सम्बन्धित शाखाले जनाएको छ ।

अनुदानको मकैको बिउ सम्बन्धित वडा कार्यालय मार्फत किसानहरुलाई वितरणको तयारी भैसकेको बताइएको छ । कृषकहरुलाई सोमबार देखि आवश्यकताका आधारमा मकैको उन्नत जातको अरुण—४ बीउ अनुदानमा वितरण गर्ने निर्णय भएको उपमहानगरपालिका अन्तर्गत आर्थिक विकास समितिका संयोजक माधव वलीले जानकारी दिएका छन् । उनका अनुसार कृषि विकास उपशाखाले केहि दिन पहिले सूचना जारी गरी कृषकहरुलाई आवश्यक पर्ने मकैको बीउ माग गरेको र माग बमोजिम खरिद गरी सोमवार देखि वितरण गर्ने तयारी गरेको वलीले जानकारी दिएका छन् ।

अरुण ४ बीउ चितवनबाट ल्याएर अनुदानमा वितरण गर्ने लागेको हो । पहिलो चरणमा साढे दस क्विन्टल बीउ ल्याउन लागेको र सो मकैको बीउ ५० प्रतिशत
अनुदानमा किसानहरुलाई वडामार्फत वितरण गरिने छ । मकै प्रतिकिलो १ सय ३० रुपैयामा खरिद गरी ६५ रुपैयाँमा किसानहरुलाई उपलब्ध गराइने कृषि शाखाका प्रमुख धनराज गौतमले जानकारी दिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका १९ वडाबाट दुई सय बढी किसानहरुले मकैको बीउ माग गरेको गौतमले जानकारी दिए । लकडाउनका कारण समयमै बीउ उपलब्ध नभएका कारण केही किसानहरुले भने मकै रोपी सकेका छन् । हाल बजारमा मकैको बीउ हाइव्रोट करिब ३ सय देखि साढे तिनसय रुपैयाँमा प्रतिकिलो बिक्री हुँदै आएको छ । त्यस्तै धानको बीउ भने जेठको पहिलो साता सम्म आउने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार