२०७९ माघ १३, शुक्रबार

तपाइको फाल्गुन महिना कस्तो छ ? हेर्नुहोस् राशिफल

साक्षी खबर  |  फागुन ०४, २०७५  | १६३७ पटक पढिएको

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

महिनाको पूर्वार्द्ध सामान्य रूपमा चल्नेछ। तापनि रोकिएका धेरै काम सम्पादन हुनुका साथै अवसरको वातावरण तयार हुनेछ। उत्तरार्द्धमा भने भाग्यले साथ दिनेछ। चिताएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ आम्दानी बढ्नेछ। अध्ययन–अनुसन्धानमा प्रगति हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। कृषि, पशुधनबाट पनि यथेष्ट धनलाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ। सबै महत्त्वाकांक्षा पूरा नभए पनि दिगो फाइदा हुने काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

समग्रमा यो महिना शुभफलदायी रहनेछ। मेहनत गर्दा महत्त्वाकांक्षी काम बन्न सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउन सक्छ। व्यापारमा फाइदा हुनेछ। उद्योगतर्फ लगानी बढाउनुपर्ने अवस्था आउन सक्छ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट पनि फाइदै हुनेछ। मित्रताको बन्धन कसिलो हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। उत्तरार्द्धमा घरका लागि समय दिन नसक्दा परिवारमा आलोचित भइएला। प्रेममा पनि खटपटी आउन सक्छ। चोटपटकको योग देखिएकाले साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

उपलब्धिका लागि केही संघर्ष गर्नुपर्ला। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। महिनाको उत्तरार्द्धमा परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। अचल सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ। आम्दानी बढ्नेछ। स्वास्थ्य कमजोर देखिए पनि गृहस्थी सुखद रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

कष्टभावमा रहने सूर्यको प्रभावले यो महिना संघर्षपूर्ण रहनेछ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। दुर्भावना राख्नेहरूले दुःख दिनेछन्। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चोटपटकको योग देखिएकाले सवारी एवं हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। कब्जियत वा ढाड–कम्मर सम्बन्धी समस्याले सताउन सक्छ। वैधानिक अवरोध आउने सम्भावना देखिएकाले नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्ला। मेहनतीहरूका लागि चुनौती पार लगाउने समय छ। आँटले चुनौती चिर्ने ऊर्जा प्रदान गर्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले धेरै काम सम्पादन हुनेछन्। स्वास्थ्यका लागि खानपान र आराममा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थीमा केही समस्या आउन सक्छन्। परिस्थितिवश आँटेका काममा केही विलम्ब हुन सक्छ। तापनि समग्रमा यो महिना शुभफलदायी रहनेछ। व्यापारमा लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। व्यावहारिक ज्ञान आर्जन गर्दै नयाँ व्यवसायतर्फ अग्रसर हुने अवसर प्राप्त हुनेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ। मित्रताको बन्धन प्रगाढ हुनेछ। प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्न सक्छ। तर, अरूका विषयमा चासो राख्दा व्यर्थैमा कामको बोझ आइलाग्न सक्छ, सजग रहुनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

प्रतिस्पर्धीहरूलाई उछिन्दै यो महिनामा विशेष उपलब्धि प्राप्त गर्न सफल भइनेछ। पुरुषार्थद्वारा धन र भौतिक साधन जुटाउने समय छ। पहिलेका प्रतिद्वन्द्वीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। विद्या र बुद्धिको उपयोगले कीर्तिमानी काम सम्पादन हुन सक्छ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नयाँ उद्योग अथवा दिगो काम प्रारम्भ हुनेछ। उत्तरार्द्धतिर साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ। आफन्तसँग असमझदारी बढे पनि घरपरिवारमा मंगल कार्य हुनेछ र खुसियाली छाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

महिनाको पूर्वार्धमा केही चुनौती आइपर्नेछन्। विवादास्पद काममा हात हाल्नाले आलोचित भइएला। स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न विलम्ब हुनेछ। तर कर्मयोगको प्रभावले स्थिति अनुकूल बन्दै जानेछ। उत्तरार्धमा शुभचिन्तकहरूले साथ दिनेछन् भने घर–परिवारमा मंगलमय कार्य सम्पादन हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। टाढिएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर प्राप्त हुने सम्भावना छ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन् र मनको डर उत्साहमा रूपान्तरित हुनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सुरुमा महत्त्वाकांक्षाको पछि लाग्दा विवेकले काम लिन नसकिएला। बलजफ्ती गर्ने बानीले आलोचित भइनेछ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा दिइएको वचनले परिबन्धमा पार्ने हुँदा समयमै सजग रहनुहोला। निकटजनहरू बिनाकारण टाढिन सक्छन्। महिनाको उत्तरार्धमा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले परिस्थिति अनुकूल बन्नेछ। कृषि र भूमिबाट प्रशस्त लाभ लिन सकिनेछ। विवेकले काम लिँदा अप्ठ्यारो परिस्थिति समेत अनुकूल बन्नेछ। तत्काल धेरै फाइदा नभए पनि पछिका लागि विशेष कामको थालनी हुनेछ। प्रयत्न गर्दा सानदार सवारी तथा भूस्वामित्व प्राप्त हुन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

महिनाभर विभिन्न अवसर प्राप्त हुनाले उत्साह जाग्नेछ। तीव्र इच्छाशक्तिले नयाँ कामतर्फ अग्रसर गराउनेछ। समयदेखि रोकिएका काम सम्पादन हुनुका साथै आम्दानी बढ्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने उद्योग–धन्दामा पनि सफलता पाइनेछ। आर्थिक रूपमा यो महिना निकै लाभदायक रहनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने शत्रु र रोगबाट छुटकारा मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति जोड्ने समय छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रारम्भमा अवसरका लागि विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। आलोचकहरूले भड्काउने हुँदा सहयोगीहरू टाढिन सक्छन्। खर्च बढ्नेछ भने आयस्रोत कमजोर बन्नेछ। नाम चलेका व्यक्तिले धोका दिन सक्छन्। स्वाभिमानका लागि निकै संघर्ष गर्नुपरे पनि महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउनेछ। महिनाको उत्तरार्धमा चुनौतीहरूलाई पार लगाउन सक्षम भइनेछ। शुभचिन्तकहरूले पनि साथ दिनेछन्। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बहुमूल्य धातु तथा विलासी वस्तुहरू संग्रह गर्ने योग छ। शिर वा आँखाको समस्याले सताउन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

उच्च रक्तचाप, टाउको दुखाइ जस्ता समस्याले सताए पनि कामले उपलब्धि दिलाउनेछ। आम्दानीका स्रोत सबल बन्नेछन् भने भोगविलासमा मन रमाउनेछ। प्रतिस्पर्धाले नयाँ काममा अग्रसर गराउनेछ। परिस्थितिसँग संघर्ष गर्नुपरे पनि राम्रो उपलब्धि प्राप्त हुनेछ। आफन्तसँग असमझदारी बढे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। मनपर्ने वस्त्रलगायत विशेष उपहार हातलागी हुने समय छ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। सोखले खर्च बढाउनेछ भने आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। केही धनमाल हराउने वा ठगीमा परिने सम्भावना देखिएकाले सजग रहनुहोला। अर्थ अभावले सताउन सक्छ। अप्ठ्यारो समयमा आशा देखाउनेहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। वैधानिक कडिकडाउको सिकार भइनेछ। महिनाको उत्तरार्द्धमा स्थिति अनुकूल बन्नेछ। शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। आम्दानी बढ्नाले आर्थिक समस्या समाधान हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ। आफन्तजन टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस