श्रमजीवीहरु (कविता)

बैशाख १९, २०७७  |  १२८ पटक पढिएको  |   साक्षी खबर

ए श्रमजीवीहरु हो
पंचायतकालमा
हलो जोत्ने श्रमिकहरु हो
तिम्रो पसिनाले सिञ्चित माटोमा
सुन फल्दा
सामन्ति पञ्चेहरु मोटाए
तिमी भोक भोकै मर्यौ
तिम्रो श्रमले बहुदल आयो, लोकतन्त्र आयो
ठूलो रुखको ओत लाग्दा
गरिवीको एक झरी पानी ओत्छ
भन्ने भ्रमले फेरी श्रम गर्यौ
रुखहरु रोप्यौ
आफ्नै पसिनाले हुर्कायौ बढायौ
ति रुखहरुले सामन्तहरुकै दरबार ठडिए
सामन्तिकै सत्ताका कुर्सी बने
तर तिम्रो झुपडी उजाडिए
आशाको दिप धिपधिपायो
अनि तिम्रो अँध्यारो झुपडीमा
सूर्यको सुनौला किरणहरुले
गरिवीको अन्धकारलाई चिर्दै
समृद्धिको सुनौलो विहानी ल्याउने
भन्ने भ्रमको खेति गरियो
सुनौलो बिहानीको आशमा
हँसिया हथौडा हातमा लिएर
फेरि पनि श्रम गर्यौ
तर भ्रम, भनसुन र भ्रष्टाचारको आडमा
फेरि पनि सामन्तहरुकै घरमा
सुनका हँसिया हथौडा भित्रिए
तिमी खिस्स पर्यौ
तिम्रै श्रमले
कैयन् सिंहदरबार ठडिए
तिम्रै श्रमले
कैयन् सत्ता पल्टिए, सरकार बने
तर तिमी श्रमिक
सधैँको पाजी प्रजा
भ्रमको खेती गर्ने सामन्तहरु
सधैँ तिम्रा राजा
याद गर श्रमजीवीहरु हो
सामन्तहरुले खेति गर्ने भ्रमले
तिम्रो श्रमको शोषण गरिरहन्छ, गरिरहन्छ

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार