‘मुखमा राम, पेटमा हराम’

चैत्र २०, २०७६  |  ५९८८ पटक पढिएको  |   साक्षी खबर

‘राम हुन् परात्मा ती कहाँ विकारी ?’
रामका सन्दभर्मा रचित कवितांश हो यो । राममा कुनै चरित्रगत मयल छैन । देवता त्यही हो जसमा धेरैभन्दा धेरै शुभ भाव हुन्छन् । देवता बन्न केही गर्नुपर्दैन । मनवचन र कर्ममा तादात्म्य हुनुपर्छ । राम देवता हुन्, विश्वास नलागे मर्यादापुरुषोत्तम हुन्, त्यो पनि नमान्ने हो भने प्रजावत्सल, निरहङ्कारी, प्रजातान्त्रिक र भ्रष्टाचाररहित शासक हुन् ।

रामसित हाम्रो संस्कार कसरी जोडिएको छः ‘रामो राम’ किरिया खाने हाम्रो बोली । ‘राम ! राम !’– शोकवाचक हाम्रो दुखेसो । ‘रामराज्य’– हाम्रो उच्चतम आकाङ्क्षाको विम्ब । ‘रामकहानी’–हामीले भोगेका कष्टहरूको विवरण । ‘राम जाने’– अज्ञेयका पनि ज्ञाता । ‘रामलीला’– रामका चरित्रहरूको सामाजिक प्रदर्शन । ‘राम नाम सत्य हो’– मुक्तिको कामना र सत्य साबिति बयान । ‘रामबाण’– अचुक र दृढनिश्चयको पर्याय ।

‘राम, दो , तीन…’ आर्थिक व्यवहारमा ठगी नहोस् भन्ने सचेतता । रामबहादुर, रामकृष्ण, रामभरोस, धनीराम, मनीराम, सेवकराम, रामेश्वर, बुद्धिराम, रामानन्द, भक्तिराम, नन्दाराम, बलराम, शान्तिराम, खुसलराम, खोपीराम, रामगोपाल, रामलाल, यी लौकिक नामकरणमा रामको चरित्र वरण गर्ने ज्योतिषीय अभीष्ट छ । यस अर्थमा तनमा राम, मनमा राम । मोतीराम भट्टको रामप्रतिको हृदयोल्लास– ‘यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन्, उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।’ यहाँसम्म कि गीत गाउने गन्धर्वले समेत रामलाई हृदयमा सजाएका छन्– ‘राम राम राम गए वनमा, रामको मितज्यू प्याउली वनैमा ।’
शिरोमणिले राम राज्यको भिडियो शब्दमा यसरी खिचेका छन्ः

पसेको छ महाराज ! राज्यमा न्याय–बन्चरो
बिउलाई पनि छैन कतै अन्यायको जरो ।।
देखेको छैन राजेन्द्र ! प्रजाले दुःखको मुख
जगत् छोपी बसेको छ सुखरूपी ठूलो रूख ।।

शासकले रामको स्मृतिमा एक दिन बिदा दिने कि ? राम राज्य निर्माण गर्ने ? यक्ष प्रश्न यो छ । आदर्श जीवित राख्न राज्यलिप्सा छाड्ने कि छिट्किनी हानेर सत्ता हत्याउने ? सबाल यो छ ? जनताको आलोचना सुनेर पत्नीलाई समेत त्याग्ने कि घरमा श्रीमती हुँदाहुँदै परस्त्रीगमनमा चुर्लुम्म डुब्ने ? ‘ह्वाट’चिन्ह यहाँ छ । एक अकिञ्चन शबरीको जीवन धन्य बनाउने कि व्यापारीसँग घाँटी जोडेर द्रव्यपिचास बन्ने ? हलो यहीँ अड्केको छ । सबभन्दा ठूलो कुरो मालिक बन्ने कि सेवक ? गुह्य यहीनेर छ ।

राम शस्त्र उठाउनका लागि मात्रै नजिर बनेका होइनन्, राम आफ्नो सत्ताप्राप्तिका लागि मात्र जातीय दमनमा परेका मान्छेसँग भलाकुसारी गरेका होइनन्, राम फगत् पत्नीहरण गर्ने रावणका विरुद्ध मात्रै जाइलागेका होइनन् । उनको समग्र चरित्र देशभक्ति,जनकल्याण, सहिष्णुता, सरलता, धार्मिकता, नैतिकता र क्षमाशीलतामा प्रोज्ज्वलित छ । लोकनिन्दालाई प्राणघातक ठान्ने रामका ससुराली खलक हामीले कति सजिलै त्यो विष पिइदिन्छौँ र समाजमा छाती फैलाएर हिँडिदिन्छौँ । देशप्रेमको स्पन्दनमा सुनको लङ्कालाई तुच्छ ठान्ने रामको गाथा पढिरहँदा हामी भने आकण्ठ भ्रष्टाचारमा लिप्त छौँ । प्रजातन्त्र, गणतन्त्र, लोकतन्त्रको ‘भैलो’ भट्ट्याउँदै नागरिकको चरम तिरस्कारमा दसगजामा आँसुले याचना गरिरहेका ‘बिचरा’हरूलाई पाइलो टेक्न दिँदैनौँ । छिः छिः हामी मुखमा राम छौँ, पेटमा हराम छौँ, हामी आधुनिक युगका रावण नै हौँ ।

प्रतिक्रिया दिनुहोस