२०७९ माघ २४, मंगलबार

किन रोकियो प्रवेश परीक्षाको नतिजा !

चैत्र १३, २०७५  | ११७९ पटक पढिएको

१३ चैत्र, बेलझुण्डी (दाङ) / नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान अन्तर्गत सञ्चालित बिएएमएस तह प्रवेश परीक्षाको नतिजा रोकिएको छ । सामान्यतया दुइदिनभित्रै प्रकाशन गर्नुपर्ने नतिजा दुईसातासम्म पनि सार्वजनिक हुन सकेको छैन । यसले आम विद्यार्थिहरुमा आक्रोस पैदा भएको छ । तर प्रवेश परीक्षा लिएर नतिजा सार्वजनिकको कामसँग जोडिएका पदाधिकारी तथा इकाइहरु जवाफदेहि देखिएनन् । एकले अर्कालाइ आरोप थोपर्न पदाधिकारीहरु अभ्यस्त छन् ।

उत्तरपुस्तिका परीक्षणको नतिजा अफिसियल्ली सार्वजनिक हुन नपाउँदै समितिमा नतिजा प्रकाशन सिफारिस समितिमा बसेका केहि सदस्यले कुनै विद्यार्थि संगठनका नेतालाई यो उत्तिर्ण यो अनुत्तिर्ण जस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएपछि विद्यार्थि संगठनका नाममा कसैले पुनः चेकजांच त कुनैले यसैलाई चाँडै प्रकाशन गर्न भन्दै विश्वविद्यालयमा तालाबन्दी समेत गरियो । अन्ततः उपकुलपतिले हस्तक्षेप गरी छानवीन समिति बनाएर त्यसको काम सुरु गर्न समेत निर्देशन दिए ।

सम्भवतः छानवीनको समयावधि आज बुधवार सकिंदै छ । परीक्षा फागुन २५ गते भएको थियो, नतिजा फागुन २८ सम्म निस्कनुपथ्र्यो । त्यसकालागी डिन कार्यालयको संयोजनमा एउटा ५ सदस्यीय प्रवेश परीक्षा सञ्चालन, तथा नतिजा प्रकाशन सिफारिस समिति बनेको थियो । समितिका संयोजक र सदस्यहरुको नाम गोप्य राखिएपनि विश्वविद्यालय श्रोतका अनुसार त्यसका संयोजक मंगलाकान्त झा थिए । सो समितिले २९ गते मात्र रजिष्टार कार्तिकेय झा संयोजक रहेको परीक्षा समितिमा अन्तिम नजिताको सिफारिस पठायो । तर गोपनियता भंग भएको हल्ला सामाजिक सञ्जालमा छाउन थालेपनि रजिष्टारले पनि नतिजा प्रकाशनमा चासो देखाएनन्, बरु उनी घरायसी काम देखाएर वा अफिसियल काज बनाएर राजधानीतिर लागे । विवाद यहि परीक्षालाई सदर गर्ने वा पुनः परीक्षा गराउने सन्दर्भमा चुलिंदै छ । आफ्ना विद्यार्थिलाई जसरी पनि पास गराउने पक्षमा एउटा संगठन लागेको छ, अर्को परीक्षा गराएरै पनि । छानबिन यो सन्दर्भमा पनि सुरु भएको छ, कतै उत्तरपुस्तिकामा केरमेटगरी वा टिपेक्स लगाएर तलमाथि गरिएको त छैन ?

डिनको कार्यालयले किन तीन दिनसम्म नतिजा सिफारिस गर्न रोक्यो ? त्यसपछि यतिका दिनसम्म राजिष्टारको कार्यालयले किन शिलबन्दी नतिजा प्रकाशन गर्न रोक्यो ? आम परीक्षार्थिहरुले यहि जवाफ सोधिरहेका छन् । तर विश्वविद्यालयका पदाधिकारीहरु यो विषयमा बोल्ने नैतिक हैसियत समेत राख्दैनन् ।

अन्ततः चौतर्फि दबावपछि उपकुलपति कुलप्रसाद कोइरालाले रजिष्टारले गरेको ढिलासुस्तीको हस्तक्षेप गरी एउटा समिति बनाएर छानवीन सुरु गरेका छन् । ‘उत्तरपुस्तिका पुनः परीक्षण देखि सबै अधिकार सम्पन्न छानवीन समिति बनेको छ, संभवतः आज साँझ सम्म नतिजाको विषयमा प्रतिवेदन आइपुग्ने छ’— उपकुलपति कोइराला भन्छन्, पदाधिकारीको पदिय जिम्मेवारीकै अभावले यो समस्या आइपरेको हो । समितिले दिएको प्रतिवेदन अनुसार गैरजिम्मेवार काम गर्ने समितिलाई जवाफदेहि बनाउने काम विश्वविद्यालयबाट गरिने पनि उनको भनाइ छ ।

उत्तरपुस्तिकाका विषयमा आइतवारदेखि छानबिन सुरु भएको छ । प्रवेशपरीक्षाको नतिजा सार्वजनिक हुनुअघि नै केहि विद्यार्थिको नतिजा बाहिर आएको आशंका व्यापक हुँदा विश्व विद्यालयमा तालाबन्दी समेत भएपछि विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले छानवीन समिति गठन गरेका हुन् । समितिको संयोजकमा प्राध्यापक प्रेम कुमार आचार्य र सदस्यद्वय योगराज शर्मा र उपप्राध्यापक सुधिर कुमार शर्मा रहेका छन् । समितिले आइतवारदेखिनै सिलबन्दी उत्तरपुस्तिकाका विषयमा छानवीन सुरु गरेको छ । समितिलाई उत्तरपुस्तिका पुनः परीक्षण समेतको जिम्मेवारी दिइएको बताइएको छ ।

उच्च पदस्त अधिकारीबीचनै आशंका उत्पन्न हुँदा परीक्षा भएको करिव २ साता सम्म पनि नतिजा सार्वजनिक हुन सकेको छैन । यसले परीक्षार्थिहरुमा आशंका सँगै अन्योलता समेत सृजना भएको छ । विश्वविद्यालयका तीन क्याम्पसहरुकालागी तोकिएको जम्मा १ सय २० सिटकालागी १ सय ९३ जनाले आवेदन भरेका थिए ।

परीक्षामा १७२ जना सहभागि भएका थिए । विश्वविद्यालय माताहतका तीन वटा क्याम्पसहरुमा बिएएमएस पढाइ हुँदै आएको छ । एउटा क्याम्पसमा ४० जना विद्यार्थिहरुले अध्ययन गर्ने कोटा निर्धारण गरिएको छ । तीनवटै क्याम्पसमा पढ्नकालागी नेपालभरका सबै विद्यार्थिहरुको प्रवेश परीक्षा केन्द्रिय कार्यालय बेलझुण्डीमा भएको थियो ।

आयुर्वेद अध्ययन संस्थानका डिनको अध्यक्षतामा बनेको परीक्षा समितिले बिएएमएस प्रवेश परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन सिफारिस समिति बनाएको थियो । सो समितिले परीक्षाको उत्तरपुस्तिका सहितको नतिजा डिनको कार्यालयमा सिफारिस गरेको थियो । २५ गते भएको प्रवेश परिक्षाको नतिजा सामान्यतया दुईदिनभित्रै सार्वजनिक हुने गरेको थियो । तर डिनको कार्यालयबाट नतिजा प्रकाशनको अन्तिम निर्णयकालागी रजिष्टारको संयोजकत्वमा बनेको परीक्षा समितिमा पठाएको थियो । तर रजिष्टारले सो सिफारीसको कुनै सुनुवाइ नगरी
नतिजा प्रकाशनमा ढिलाइ गरेको आरोप लगाउंदै विद्यार्थि संगठनहरुले विश्वविद्यालय केन्द्रिय कार्यालयमै तालाबन्दी गरेका थिए । नतिजा प्रकाशनका सन्दर्भमा रजिष्टार कार्तिकेय झाले कुनै अभिव्यक्ति नदिएर काठमाण्डौ गएपछि आशंका झनै चर्कंदै गएको एक कर्मचारीले बताए ।

डिनको कार्यालयले भने नतिजा प्रकाशनका सवालमा आफ्नो तर्फबाट कुनै ढिलाइ नभएको दावी गरेको छ । तर डिनको कार्यालयले बनाएको परीक्षा सन्चालन समितिका सदस्यलेनै नतिजा सार्वजनिक अघि कुनै विद्यार्थिलाइ उत्तिर्ण भएको बताएपछि गोपनियतामै आशंका
उत्पन्न भएको थियो ।

यसैबीच छानविन समितिले उत्तरपुस्तिकाका विषयमा तीन दिनभित्र छानवीनको काम सम्पन्न गर्ने जनाएको छ । विद्यार्थिहरुले एउटै प्रश्नको जवाफ खोजिरहेका छन्, किन रोकियो प्रवेश परीक्षाको नतिजा ?

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस