आँखा अस्पतालमा हेल्प डेस्क स्थापना

चैत्र ०७, २०७६  |  ६४ पटक पढिएको  |   साक्षी खबर

७ चैत, तुलसीपुर / विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलीएको बेला नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले सबैलाई सजकता अपनाउन आग्रह गरेको छ । त्यसका साथ साथै कोराना भाइरसको रोकथाम र सुरक्षा अपनाउनका लागि आँखा अस्पतालहरुमा सहायता कक्ष स्थापनाका साथै त्यसबाट बच्ने उपायहरु अवलम्बन गरिएको आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले जानकारी दिएका छन् ।

संघद्वारा सञ्चालित लमही आँखा अस्पतालमा कोरोना भाइरस सतर्कताका लागि हेल्प डेष्क स्थापना गरिएको छ । सहायता कक्षमा अस्पतालमा आउने बिरामीहरुको इनफ्रारेड लेजर थर्मोमिटरबाट ज्वोरो चेकजाँच, साबुन पानीले हात धुन सिकाउनुका साथै कोराना संक्रमणबाट बच्ने उपायको बारेमा सचेतना दिन सुरु गरिएको वरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले जानकारी दिएका छन् ।

अस्पतालमा आउने सबै बिरामीहरुको लेजर थर्मोमिटरबाट ज्वोरो चेकजाँचका साथै त्यसबाट बच्ने उपायको बारेमा हेल्प डेस्कमा सचेतना दिइने छ । बिहिवार स्वास्थ्य सहायक कक्षको सुभारम्भ गर्दै नेपाल नेत्रज्योति संघ दाङका उपसभापति रेशमबहादुर खड्काले यसको जोखिमलाई न्यूनिकरण गर्न सबै लाग्नुपर्ने बताए । साथै अस्पतालमा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीहरुलाई पाक्सको प्रयोग अनिवार्य गर्ने गराउने निर्णय समेत भएको छ ।

त्यसैगरी छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालमा कोरोना भाइरस सतर्कताका लागि सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा अस्पतालमा आउने बिरामीहरुको इनफ्रारेड लेजर थर्मोमिटरबाट ज्वोरो चेकजाँचका साथै कोराना संक्रमणबाट बच्ने उपायको बारेमा सचेतना दिने गरिएको प्रशासक जसराज विश्वकर्माले जानकारी दिए । सहायता कक्षको सुभारम्भ प्रतिनिधि सभाका सदस्य माननिय अभिषेक प्रताव शाहले गरेका थिए ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य, आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरी, सचिव सुरेन्द्र खड्का, कोषाध्यक्ष श्यामप्रकाश आचार्य, प्रशासनिक समितिका संयोजक सारदा चौधरी, अस्पतालका नि. मेसु डा. ज्योति सापकोटा, डा. रविन्द्रसिंह ठकुरीलगायतले कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएको समयमा अस्पतालमा पनि सतर्कता अपनाएको बताएका थिए ।

त्यसैविच नेत्रसहायक कक्षाहरु समेत केहि दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । नेत्रसहायक कक्षा सञ्चालन समितिका संयोजक सुरेन्द्रबहादुर खड्काको अध्यक्षमा बसेको बैठकले विश्वभरि फैलिएको कोरोना भाइरसका कारणले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले अर्को सूचना जारी नहुँदा सम्म सेमेष्टरका परीक्षाहरु सञ्चालन गर्ने भएसंगै नेत्रसहायकको कक्षाहरु समेत बन्द गर्ने निर्णय भएको हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार