कोरोना ! कोरोना !! कोरोना !!!

चैत्र ०१, २०७६  |  १२९ पटक पढिएको  |   साक्षी खबर

यो कोरोनाको रोनाधोनाले दिक्क पारिसक्यो । ‘हल्लाचाहिँका….. के जाते ठुला भन्छन् । विश्वैभरि मान्छेलाई यसको जगजगीले ‘त्राहिमाम्’ बनाएको छ । चीनबाट उम्रेको यो भाइरसले सारा युरोपलाई डामेको खबर आइरहेका छन् । घाँटी जोडिएको नेपालमा भने एउटालाई पनि छुने हिम्मत गरेको छैन । नेपालीको रोग पचाउने शक्तिलाई ताली पिट्नै पर्छ । त्यसो त नेपालीको पाचनशक्ति अद्वितीय छ । विदितै छ– हाम्रो जठराग्निले बालुवाटारको जग्गा पचाउँछ, वाइड बडी पचाउँछ, एयरपोर्टमा आउने सुनै पचाउँछ । जाबो आँखाले देख्न नसकिने फिस्टे कोरोना नपचाउने कुरै भएन ।

यो कोरोना पचाउने गुह्य अर्को तागत देख्छु म नेपालीहरूमा । त्यो के हो भने साङ्ला डुबेको मिनरल वाटर पिउने, मुसा मिसिएको समौसा खाने, आन्द्राभुडी र मोजा मिसाएर बनाएको दारु पिउने, रासायनिक खाद हालेका उत्पादन स्वाद मानेर खाने, म्याद गुज्रेका वस्तु उपभोग गर्ने, बाह्रै मास धुँवा र धुलोको साम्राज्यमा रमाउने हाम्रो आदत छ । यो आदतले हाम्रो शारीरिक इन्जन बडो तगडा भएको छ ।

हामीले देखेकै छौँ– सुङ्गुर गुहु र मूतको आहालमा बस्छ, उसलाई झाडापखाला लागेर स्लाइन पानी चढाएको देखिँदैन । कुत्ताबिरालाहरू डाङ्ग्राका कुहेका छाला थुतुनामा च्यापेर हिँडेका हुन्छन्, तिनलाई पनि कुनै कमलपित्त लागेको देखिँदैन । झिँगामाखाको कुरै के गरम् र, चौबीसै घण्टा बिस्टासँग सहवास गरेका हुन्छन्, तिनलाई कहिल्यै रगतमासी पर्दैन । आखिर शरीर जस्तो बनायो त्यस्तै न बन्ने हो । 

गुणस्तरहीन जिन्दगी जिएपछि समृद्ध रोग कसरी लाग्न सक्छ ? एक राजाले मात्रै अर्को राजालाई भेट्न सक्छ । भिखारीलाई कहाँ त्यो अवसर ? फेरि भिखारी र भिखारीका बीचमा आत्मीय सम्बन्ध हुन्छ । त्यहाँ सहकार्य र सहयोगको विनिमय हुन्छ । भिखारी र राजाका बीचमा पुँजीवादी र साम्यवादीको जस्तै प्रतिद्वन्द्विता निहित हुन्छ । त्यसैले त्यहाँ आक्रमण र प्रत्याक्रमणका सिलसिला चल्छन् । दृष्टान्त काफी छ, चीनको साम्यवादी कोरोना अमेरिका, युरोपका पुँजीवादीलाई हमला गर्न गएको छ । हाम्रो जीवनशैली र कोरोना भाइरसका बीचमा सुमधुर सम्बन्ध स्थापित छ । कारण हाम्रो धार मिल्छ । चीन पनि समाजवादी, हामी पनि समाजवादी । त्यसैले कोरोना हाम्रो मित्रशक्ति हो । यसले हामीलाई पटक्कै छुँदैन । कोरोना विवेकी छ ।

सच्चा कोरोनाले हाम्रो बालको बाँका त गर्दैन तर नक्कली कोरोनाले पो सिध्याउन थाले । नक्कली जहिल्यै घातक हुने रहेछ । नक्कलीको एउटा छद्म चरित्र के हुने रहेछ भने ऊ सबैभन्दा सक्कली देखिन्छ यार् । मान्छेहरूले सक्कलीलाई नक्कली र नक्कलीलाई सक्कली ठान्दा रहेछन् । भन्छन् नि– ‘नक्कली जोगीले बढ्ता खरानी घस्छ ।’ खरानी घसेको छ कसरी जोगी नभन्नु ! जोगी भनेर श्रद्धा जाहेर गरौँ, उसैबाट लुटिन्छौँ हामी ।

यस्ता नक्कली कोरोनाले अहिले आफ्नो भकारी भर्ने भए, हाम्रा गोजी रित्याउने भए । पिर हिँत्तिन छ । सरकार भन्छ– ‘क्यै चिन्ता नगर, हामी ग्यास दिन्छौँ, पेट्रोल दिन्छौँ, खाद्यान्न मनग्ये जगेडा राखेका छौँ, मास्क, हात धुने तरल पदार्थको अच्छा जोहो गरेका छौँ ।’ बजारमा गयो, नक्कली कोरोनाहरूले गिज्याउँछन् । उता तरकारी पसलमा गयो हिँजोको भाउले आज लिङ्गो चढेको देखिन्छ । सुन किन्न पाइन्छ, नुन पाइन्न ।

यी त फुटकर कोरोनाका करामत हुन् । ठुला कोरोनाले यसैमा कति रामराज्यको आनन्द लुट गरेका होलान् । जस्तै सेमिनार, गोष्ठी, प्रगोष्ठी, क्वारेन्टिन जाँच, हेल्प डेस्क, पर्चापम्पलेट आदि । म त भन्छु, सरकार यो धन्दा गर्दै नगरुम् । पत्रिका, रेडियो, टिभी, फेसबुक, युटुब सबै सञ्चारका स्रोतलाई दुई चार महिना आराम गर्न दिऊँ । ठुला कोरोनको आफै महापरिनिर्वाण हुन्छ, सक्कली कोरोनालाई त हामीले आफै पचाइरहेका छौं ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार