‘होली “Holy” बनिदिओस् न !’

फागुन २६, २०७६  |  १२७ पटक पढिएको  |   साक्षी खबर

होलीको पौराणिक पक्ष अत्यन्त सुन्दर र मननीय छ तर आधुनिक प्रयोग असाध्यै उत्ताउलो छ । अग्निदहनबाट सुरक्षित हुने वरदान पाएमी आसुरी प्रवृत्तिकी होलिकाले आफ्नो दाजु हिरण्यकशिपुको आज्ञापालन गर्दै सत्यकामी प्रह्लादलाई काखमा राखेर आगोमा प्रवेश गर्दा ऊ मरी तर प्रह्लाद बाँचे । यसैको खुसियालीमा होली मनाउने प्रचलन बस्यो । कथा सार यत्ति हो । हो यसमा अरु पनि सन्दर्भ जोडिन्छन् ।

सायद लीलावतारी श्रीकृष्णले खाण्डव वनमा आजकै दिन गोपिनीसित रङ खेलेर नाचेका थिए, जसलाई ‘राशलीला’ भनिन्छ । अझ सृष्टिकर्ता ब्रह्माजीले संसारको सृष्टि गरेको दिन पनि आजै हो भन्ने ब्रह्मपुराणमा लेखिएको छ– ‘चैत्र मासे जगत् ब्रह्म ससर्ज प्रथमेSहनि’ । भगवान् विष्णुले सर्वप्रथम मत्स्यावतार ग्रहण गरेर प्रलयकालमा राजा सत्यव्रतलगायत अन्य जीवको संरक्षण गरेका थिए र हयग्रीव नामक राक्षसलाई मारी ऊद्वारा चोरिएका वेदलाई फिर्ता ल्याएर ऋषिहरूलाई फिर्ता दिएका थिए । यसरी हेर्दा यो चैत्र(फाल्गुणी पूर्णिमाका विविध महत्त्व देखिन्छन् । तर अन्य पाटालाई गौण रूपमा हेरिए पनि होलिका दहनको उल्लासस्वरूप मनाइने होली पर्व भने अझै प्रचलित छ र यसको बाह्य ढर्रा प्रदर्शन भइरहेको छ ।

मैले तराईमा होलीको उत्सव देखेको छैन, उता भारततिर यसको अनुष्ठान कसरी गरिन्छ त्यो पनि देखेको छैन । आफ्नो गृह जिल्ला दाङ र वर्तमानमा काठमाडौँमा होली मनाइने तौरतरिका देखेको छु जसलाई सम्झँदा पनि ‘यो होली किन आउँदो हो’ को पिरलो छुट्छ । हुन त यो पर्व हामीजस्ता प्रौढलाई भन्दा केटाकेटीलाई बढी रमणीय लाग्छ । सानामा हामी पनि खूबै आकर्षित हुन्थ्यौँ । हामीसित बेलुन–पिच्कारी किन्ने पैसा र बजारको पहुँच पनि थिएन । अघिल्लो दिन एउटा बाँस काटेर त्यसको आँख्लोमा सानो प्वाल पारी लौरोमा कपडाका लत्ताले बेरेर क्वाचार क्वाचार पार्दै सिमीका पातको हरियो पानीले होली छ्याप्ने चलन थियो ।

रङहरूको पर्व भनिए पनि रङ देख्नै पाइँदैनथ्यो । यदाकदा आमाले धूपदानीमा पूजा गर्न राखेको पक्की रङलाई चोरेर पन्यालो बनाई होली खेलिन्थ्यो । बाटा हिँड्ने बटुवालाई छाडेर आफ्नै दौँतरीका बीचमा छ्यापाछ्याप गर्दै हाम्रो होली सकिन्थ्यो । वास्तवमा त्यतिखेर यसको पौराणिक, दार्शनिक वा आध्यात्मिक मर्म थाहा नै थिएन । पछि आएर चिन्तन, मनन गर्न थालिएपछि यसको महत्ताबोध भयो । होलीले सत्यको अनुसरण गर्नुपर्छ, असत्यसँग डग्नु, बिक्नु हुँदैन भन्ने आशय बुझियो । साथै परस्परमा मैत्री भावनाको विकास गराउने र मनलाई उमङ्गित बनाउने पक्ष पनि राम्रै मान्नुपर्छ । सबैभन्दा महत्त्व त यो बालबालिकाका लागि रहेछ ।

आजभोलि बालविकासका निम्ति अनेक उपाय रचिएका छन् । तिनको कल्पना, सिर्जना बढाउनका लागि मनोरञ्जनका साधन बनाइएका छन् । हाँस्ने, उफ्रने, नाच्ने, रमाउने वातावरणले स्वस्थ मनस्थिति निर्माण हुन्छ । होलीलाई शास्त्रले पनि बालविकासको आधारशिला प्रदान गरेको छ । उनीहरू हातमा बेलुन, पिच्कारी लिएर आपसमा छ्यापाछाप गर्दा उन्मुक्त हाँस्न पाउँछन् । आधुनिक बालमनोविज्ञानको निष्कर्षलाई लिङ्गपुराणले पहिल्यै सम्बोधन गरिसकेको छ– ‘फाल्गुने पौर्णमासी च सदा बालविकासिनी ।’

मैले माथि नै उल्लेख गरेको छु कि आजभोलि यसको मर्ममाथि प्रहार भएको छ । यो सुखदायी भन्दा दुःखदायी भएको छ । आफ्नो रमाइलोका निम्ति परपीडन गर्ने पर्व हुन पुगेको छ । सडेका टमाटर, अन्डाले बाटा हिँड्ने बटुवालाई हिर्काएर उसको हुर्मत लिने काम गरिन्छ, मुखभरि पेन्ट, मोबिल लगाई युवतीहरूलाई सताउने अवसर बनेको छ । फोहर पानीले छ्यापेर हाँस्ने पुरुषार्थ बनेको छ । रक्सी खाएर केटीहरूलाई होली मनाउने बहानामा स्पर्श गर्ने सजिलो माध्यम बनेको छ । यस्ता फोहरी क्रियाकलापले होलीको शुद्धतालाई पर धकेलिदिएको छ । यो दुर्घटना बढाउने, अपराधलाई प्रश्रय दिने चाडमा अनुवाद हुँदा मलाई यसप्रति वैराग्य जागेको छ । हुन त कुनै पनि संस्कृतिले विकृतिलाई वरण गरेको हुँदैन । हामी हौँ, जसले सुन्दरतालाई छिटै विद्रुपतामा परिणत गर्दछौँ । मूर्खका लागि अमृत विष हुन्छ भने विष अमृत । भारत र तराईमा यसको आफ्नै मौलिक र चोखो महत्त्व छ । त्यहाँ आपसी सम्बन्धको गाढापन, प्रेमको विस्तार र मनोमालिन्यको विसर्जन हेतु रमणीय पाराले मनाइन्छ रे । निश्चित समयसम्म होली खेलेर आ–आफ्ना घरमा मित्रमण्डलीलाई निमन्त्रणा दिएर मिष्ठान्न भोजन गराइन्छ रे ।

स्वस्थ मनोरञ्जनका लागि ‘महामूर्ख सम्मेलन’को आयोजना गरी सबैलाई हँसाउने काम गरिन्छ रे तर पानीबिनाको देशको राजधानीमा फोहर पानीले मान्छेलाई हायलकायल बनाउने आधुनिक होलीको कुसंस्कृतिले मजस्तै धेरैलाई दिक्क पारेकाले मलाई यहाँको होली मन पर्दैन । होली जातीय÷धार्मिक सम्प्रदाय मेटाउने अत्यन्तै वैज्ञानिक पर्व हो, यो केवल भारतवर्षमा सीमित छैन । कुनै न कुनै रूपमा विश्वभरि यो पर्व मनाइन्छ, विश्वले मनाउने यो पर्वमा हाम्रा पौराणिक, आध्यात्मिक गाथा लुकेका छन् छैनन् म भन्न सक्दैन तर म्यान्मारमा ‘टिङ्गुला’ पोल्यान्डमा ‘आरसिना’, चीनमा ‘च्वेज’, अमेरिकामा ‘हेलोइन’, थाइलेन्डमा ‘ साक्रान’, इटलीमा ‘रडिका’ र अफ्रिकामा ‘ओगेना बोगा’का नामले मनाइने रङ्गीबिरङ्गी र हँसीमजाकका पर्वहरू हाम्रा होलीजस्तै हुन् तर त्यहाँ सभ्यतापूर्वक मनाइन्छ, हाम्रोमा थप भन्नै परेन ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार