‘आशंकाको तुवाँलोमा जनताको पिरलो’

फागुन १९, २०७६  |  १६० पटक पढिएको  |   साक्षी खबर

अनिष्टको तुफान आकाशमा उड्न थाल्दैछ । कोरोना भाइरसको जगजगीले विश्व मानव समुदाय त्रस्त छ । आर्थिक मन्दिको चपेटामा कयौँ मुलुक पर्दैछन् । चीनबाट फैलिएको संक्रमण युरोप–अमेरिका र मध्यपूर्वमा समेत हाहाकार मच्चाउँदैछ । चीनसँग लपक्कै जोडिएको देश नेपाल झन् बढी खतराको केन्द्रमा छ । यदि यतातिर पनि यसको प्रकोप मोडियो भने हाम्रो के हविगत होला ? कल्पना गर्दा पनि जिउ सिरिङ्ग हुन्छ । सामान्य अवस्थामा पनि यहाँका रोगीले अस्पतालबाट भरपर्दाे सेवा पाउन सकेका छैनन् । कतै बेड अपर्याप्त छन्, कुनै अस्पतालमा जाँच्ने मेसिन बिग्रिएका छन् । डाक्टर आफ्नो डिउटीमा भन्दा ज्यादा क्लिनिकमा लम्पट छन् । अस्पतालको सरसफाई झन् डरलाग्दो छ । बेडरूम र त्यहाँ प्रयोग भएका बेडहरूमा सुत्दा अर्काे रोग बल्झिने अवस्था छ । सरकारले संक्रमण प्रभावित मुलुकबाट नेपाल पस्ने आगन्तुकहरूको परीक्षण गर्ने भर पर्दाे व्यवस्था नै गरेको छैन । धन्न पशुपतिनाथले बचाएका छन् हामीलाई ।

एकातिर यो प्राकृतिक विपत्तिको सन्त्रासले गाँजेको छ हामीलाई, अर्काेतिर सरकार ढल्ने र ढाल्ने हावा चल्दै छ । झन्डै दुई तिहाइको सरकार पनि ढल्नुपर्ने नियति आउन खोज्नु अर्काे महाविपत्ति हो हाम्रा लागि । समृद्धिको प्यास बोकेका नेपाली जनताले यो सरकारको अल्पायुको कामना गरेकै छैनन् । सरकार ढल्दा केहीलाई नाफा–घाटा होला तर जनतालाई भने फगत् क्षति हुनेछ । साढे दुई दशकमा स्थिर सरकार बनेको छ । यसले “आहा !“ भनिहाल्ने काम गरेको छैन । गुनासा त ज्युँका त्युँ छन् । थिती राम्ररी बसेकै छैन तथापि सरकार भङ्ग भइहालोस् भन्ने रहर पनि छैन । चुनाव जनताका लागि महङ्गो व्यापार हो । यसले नागरिकको श्रम खोसिदिन्छ, मान्छेलाई योजनाबद्ध रूपले काम गर्न दिँदैन । यही बेमौसममा प्राकृतिक स्रोतसाधनमा अवाञ्छित तत्त्वले लुट मच्चाउन थाल्छन् । हत्याहिंसाका शृङ्खला बढ्न थाल्छन् । चुनाव महङ्गो हुँदै गएकाले राज्यस्रोतको पनि अपव्यय हुन जान्छ । जनताका लागि यो निल्नु न ओकल्नुको गाँस हो । देश बनाउने नेताले भन्छन् । यही कुरा गर्दागर्दै जुनी बितिसकेको छ । जनताले चुनावमा सक्रियता देखाएकै छन् । पार्टीका घोषणापत्रमा आस गरेकै छन् । कहिले एउटालाई जिताएकै छन् र कहिले त्यसैलाई हराएकै पनि छन् । अखण्ड शासन गरेको काङ्ग्रेसबाट अपेक्षित सुशासन नपाएर अहिले कम्युनिस्टलाई सत्तारोहण गराएका छन् । कम्युनिस्टको शासनमा सीमान्तिकृत जनताको मर्म बुझिन्छ कि भन्ने आम मान्यता पनि छ । यिनीहरू सर्वहाराको बीचबाट आएका हुन्छन् । यिनी आफै विपन्नताको ढाकर बोकेका प्राणी पनि हुन् । स्वयं भुक्तभोगीले असहायको पीडालाई नजिकबाट आत्मसात् गर्नुपर्ने हो । तर यिनी पनि सहरको रमझममा लठ्ठिएका छन् । यिनका कर्मका दृश्य दैनिक अपच बन्दै छन् ।

कोही जग्गा काण्डमा मुछिएका छन्, कस‌ैलाई कमिसनको नसा लागेको छ । कोही व्यापारीको तुष्टीकरणमा देशलाई भँडखालोमा पार्न उद्धृत छन् । यसको हिसाबकिताब र लेखापरीक्षण त समयमा जनताले गरिहाल्लान् । त्यो समय अझै आएको छैन । अझै तीन वर्ष बाँकी छ । तर अमुक व्यक्तिलाई शिखण्डीका रूपमा तेर्स्याएर “कि वार कि पार”को जुवा खेल्ने जुन धृष्टता देखिँदै छ त्यो त अधम कदम नै हो । नेकपामा किन यस्तो असहिष्णु रोग पसेको छ ? गिरिजाप्रसाद कोइरालाको मध्यावधि चुनावको फैसलाले काङ्ग्रेस नित्य पत्रु बन्दै गएको हो ।

सत्ता समीकरणका लागि सांसदहरू भेडाबाख्रासरह खरिद भएको कालो इतिहास साक्षी छ । त्यस बेलादेखि मुलुक निरन्तर एउटा राजनीतिक भुमरीमा फस्दै गएर माओवादी सशस्त्र विद्रोह, राजतन्त्रको विलयमा आएर पूर्ण विराम लागेको हो । युद्धबाट कतिका आँसु बगे, राज्यका संरचनाको कति विनाश भयो र जनताले कति त्रासदी भोग्नुपर्याे त्यसको अङ्कगणितीय हिसाब छैन । गणतान्त्र घोषणापश्चात् पनि संविधान सभाको निर्वाचनमा स्पष्ट बहुमत नआउँदा जनतालाई वाक्कदिक्क भइसकेको कहानी अझै आलो छ । बल्ल बल्ल स्थिर सरकार बनेका बखत प्रतिपक्षीले कुनै हङ्गामा खडा नगरी शालीनता र भद्रता देखाइरहेको अवस्थामा आफ्नै साख्खै पार्टीका घागडान नेताहरू ऐँजेरुका रुपमा प्रस्तुत हुनु र “नरहे बाँस नबजे बाँसुरी” बन्न खोज्नु यदुवंश विनाशको कथा दोहर्याउनु हो ।

यदि साच्चै तुच्छ स्वार्थका लागि सत्ता विघटन र मध्यावधि निर्वाचनको कुरुक्षेत्रमा उभिने हो भने जनताका अगाडि कुन मुख लिएर भोट माग्न जाने हो ? दुई वर्षमै आन्तरिक विग्रहको रडाकोमा फस्नु थियो त किन यो घाँटी जोडेको हो ? के कम्युनिस्ट नामक सिद्धान्तले सधैँ उपयोगितावादलाई मात्रै आफ्नो कार्यनीति बनाउँछ वा जनताको जीविकाको सबाल र उनीहरूको मनोविज्ञानलाई पनि सम्बोधन गर्दछ ? जुँगाको लडाइँमा टाउके नेताको भविष्यसँग यतिखेर जनतालाई कुनै सरोकार छ‌ैन, यहाँ काले आउनु र गोरे बस्नुले जनताको आङमा पारिलो घाम लाग्ने होइन बल्की राज्य लामो घडीसम्म अनिश्चितताको चक्रव्युहमा फस्छ र दुस्ख पाउने पनि तिनै दुखारी जनता हुनेछन् भन्ने पिरलो मात्रै हो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार