एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगितामा मलेसियासँग नेपाल २२ रनले पराजित

फागुन १७, २०७६  |  १५० पटक पढिएको

१७ फागुन, काठमाडौं / नेपालले एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै मलेसियासँग हार व्यहोरेको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २२ रनले पराजय व्यहोर्न पुगेको हो ।

नेपाल पुरा २० ओभर खेल्न नपाउँदै १९ ओभर ४ बलमा १३२ रनमा समेटिन पुग्यो । यसअघि मलेसिया विरुद्धको दुवै टी ट्वान्टी खेल जितेको नेपालले संयमित पारी खेल्न नसक्दा हार व्यहोर्न पुगेको हो । १२ ओभरमा मात्र दुई विकेटको क्षतिमा ८९ रन जोडेको नेपालले थप ४३ रन जोड्न आठ विकेट गुमाउन पुग्यो ।

२२ रनमै ओपनर कुशल मल्ल र पारस खडकाको विकेट गुमाएर दबावमा आएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीको ६७ रनको साझेदारीले सहज स्थितिसम्म पुर्याएको थियो । तर दुबैजना सामान ३८ रनको योगदान गरेर पेभेलियन फर्किएपछि नेपाली पारी सम्हाल्ने अन्य कुनै ब्याट्सम्यान उभिएनन् । पवन सर्राफले आवश्यक रन रेट पुर्याउन मात्र १४ बलमा १९ रन बनाएर हयात दुर्रानीको एलबीडब्ल्युको धरापमा परे ।
नेपालका मध्यक्रम तथा अन्तिमका ब्याट्सम्यान बिनोद भण्डारी सात, आरिफ शेष पाँच, करण केसी, सन्दीप लामिछाने एक र सुशन भारी डक आउट हुन पुगेका हुन् ।

मलेसियाका लागि शर्विन मुनिएन्डीले सर्वाधिक चार विकेट लिए । खैजर हयात दुर्रानी, सैज्रुल एजत इद्रुस र पवनदीपसिंहले समान दुई दुई विकेट लिए ।

यसअघि टस जितेर मलेसियाले नेपाल समक्ष १५५ रनको औसत लक्ष्य प्रस्तुत गरेको थियो । थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम पाँच ओभरमा मात्रै ५७ रनभन्दा बढी खर्च गरेपछि मलेसियाले औसत योगफल तयार गर्न सफल भयो ।

थाइल्याण्डको टर्डथाइ क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय रन बनाएको हो । १५ ओभरपछि ९७ रनमा पाँच विकेट गुमाएको मलेसियाले अन्तिम पाँच ओभरमा मात्र एक विकेट गुमाएर ५७ रन जोडेको हो । मलेसियाका लागि मोहम्मद अनवर अरुद्दीनले ३१ तथा सैयद अजिज सैयद मुबारकले अविजित रहनुहुँदै मात्र ३५ बलमा अर्धशतकीय पारी खेले । अमीनुद्दीन राम्लीले २९ रनको योगदान दिए । अहमद फैज मोहम्मद नूर ३० रन बनाएर अविनाश बोहराको शिकार भए ।

नेपालका लागि सन्दीप लामिछानेले पारीको तेस्रो तथा आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर मलेसियालाई दबावमा राखेका थिए । अविनाश बोहराले चार ओभरमा ३९ रन खर्चिएर २ विकेट हात पारे । सन्दीपले चार ओभरमा मात्र २२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिएका थिए ।

पारस खडका विकेटविहीन बन्न पुगेपनि उनले तीन ओभरमा मात्र सात रन मात्र खर्चिएका थिए । पवन सर्राफले दुई ओभरमा १७ रन दिए । सुशन भारीले तीन ओभरमा २६ रन खर्चिदा प्रमुख बलर करण केसीले चार ओभरमा २९ रन खर्चेर एक विकेट हात पारेका हुन् । नेपालले आफ्नो दोस्रो खेलमा आइतबार हङकङको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार