२०७९ माघ २१, शनिबार

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

चैत्र ०८, २०७५  | ११९५ पटक पढिएको

८ चैत, काबुल / अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो ।

अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ ।

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा छ जनाकोे मृत्यु भएको एक दिन पछि नै नेटो सेनामाथि आक्रमण भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायले पर्सियाली नयाँ वर्ष मनाइरहेका समयमा भएको विस्फोटमा छ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते थिए ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट नेटोआवद्ध प्रायः सैनिक ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा आएको छ । सुरक्षाको जिम्मा अफगान सैनिकको काँधमा आएपछि अफगानिस्तानमा अमेरिकी सैनिक हताहत नाटकीय रुपमा कमी आएको थियो ।

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्ति प्रक्रियाका लागि विदेशी समुदायसँग परामर्शको लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतसँग भेटवार्ता र परामर्श गरिरहनुभएको छ ।

केही समय अघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिबानका प्रतिनिधिबीच विभिन्न चरणमा कतारमा वार्ता भएको थियो । रासस/एएफपी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस