२०७९ माघ २४, मंगलबार

फिल्म समीक्षा : नारी उत्पीडनको अव्यक्त कथा ‘बुलबुल’

फागुन ०४, २०७५  | २२१६ पटक पढिएको


‘बिहेको भिडियो’ र अहिले फटाफट बनिरहेका नेपाली चलचित्रबीच के भिन्नता छ ? जवाफको लागि ‘फरक छुट्याउ’ शैलीमा घोत्लिनुपर्छ । यसको प्रष्ट संकेत के भने, नेपाली सिनेमाबाट निर्देशकीय उपस्थिति हराउँदैछ ।

नतिजा, ६ दशक लामो फिल्मी अभ्यासपछि पछि पनि हामी ‘सिनेमा कस्तो हुनुपर्छ’ भन्ने आधारभूत प्रश्नमा अल्झिएका छौं ।

यो प्रश्नको गाँठो केही हदसम्म फुकाउनेछ, फिल्म ‘बुलबुल’ले ।

हरेक दृश्य, अझ भनौं हरेक शटमा निर्देशकको रचना-शिल्प कसरी पोतिन्छ ? घतलाग्दो जवाफ छ, बुलबुलसँग । विनोद पौडेल निर्देशित फिल्ममा कथाको दस्तावेज छैन, उपदेश छैन, आर्दश छैन, सन्देश छैन, तर्क छैन । अव्यक्त कथा छ, अदृश्य पीडा छ । र, त्यसलाई पोख्ने रहरलाग्दो ‘सिनेम्याटिक’ भाषा छ ।

कस्तो छ कथा ?

 

आवरणमा यो एक ट्याम्पु चलाउने महिलाको कथा जस्तो लाग्छ । कथाका सूत्रधार हुन् रणकला (स्वस्तिमा खड्का), जो ट्याम्पु चलाएर जेनतेन आफ्नो जीवन घिसार्ने यत्नमा छिन् ।

कलिलै उमेरमा विवाह गरेकी उनी शहरको कुनै साँघुरो कोठामा भाडामा बस्छिन् । छोरीलाई होस्टल राखेर पढाएकी छिन् । डेरामा पक्षघातले थलिएका ससुरा (दीपक क्षेत्री) छन् ।

मस्त जवान रणकला विवाहित भएर पनि दाम्पत्य सुख-भोगबाट विमुख छिन् । उनका पति वैदेशिक रोजगारमा गएको ६ वर्ष नाघिसक्यो, फर्कने सुरसार छैन ।

एक साथी छिन् ट्याम्पु चलाउने भीमा (लक्ष्मी बर्देवा), जो बेलाबखत उनको घाउ आलो बनाउन आइपुग्छन्, कहिले सेकताप गर्न । भीमालाई थाहा छ, रणकलाले आफूभित्रै कति भयानक आँधी गुम्साएकी छिन् ।

मस्त जवान, त्यसमाथि एक्ली महिला । अनेक स्वार्थले जोडिन आउने पुरुषबाट बच्न उनलाई सहज छैन । यसैबीच, एक पुरुष पात्र आइपुग्छन्, चोपेन्द्र भुसाल (मुकुन भुसाल) । अर्घाखाँचीतिरका यी भोला अधवैंशे नाइट ड्युटी गर्छन्, सेक्युरिटीको । दिवा सेवाचाहिँ, रणकलाको आसपासमा झुम्मिने ।

आफ्नो ट्याम्पुको अघिल्लिो सिटमा बसेर वेपर्वाह यात्रा गर्ने चोपेन्द्रसँग रणकलाको सम्बन्ध कसरी अघि बढ्छ ? चोपेन्द्रको आगमनले रणकलाको आँधी साम्य हुन्छ ? यस्तै उत्सुकताले डोहोर्‍याउँदै २ घण्टा लामो फिल्मले बिट मार्छ ।

किन हेर्ने ?

ट्याम्पु चलाएर जीवन गुजार्न कति कठिन छन् वा ट्याम्पु चालक महिलाले कस्तो दशा भोग्छ भन्ने सतही र खस्रो दृष्टान्त होइन, बुलबुलको कथ्य-संचारना ।

बरु एक नारी उत्पीडन र अझ त्यसभित्र पैदा हुने ज्वराभाटाको सदृश्य अनि सजीव तस्वीर हो यो । बुलबुलले कथा भन्दैन । मानवीय भाव-आवेगलाई दृश्य भाषामा बदल्छ । सामाजिक मूल्य र मान्यताको खोक्रो अवशेषले मानवीय संवेगलाई कसरी दबाउँछ ? बुलबुलको गुदी यत्ति हो ।

 

अहिले हामीलाई सिनेमाका लागि कन्टेन्ट चाहिएको छ, सार चाहिएको छ, सन्देश चाहिएको छ । हासो-रोदन चाहिएको छ, द्वन्द्व चाहिएको छ, उत्कर्ष चाहिएको छ, उपसंहार चाहिएको छ । यी सबै तत्व घुलनसील भएर पनि दृश्य निर्माण उराठलाग्दो एवं टिठलाग्दो हुन्छ । जबकि यावत् तत्व भन्दा एउटा निर्देशकले आफ्नो परिकल्पनामाथि खिप्ने दृश्य-शिल्प नै सिनेमाका निम्ति खास हुन्छ ।

‘बुलबुल’ निर्देशक विनोद पौडेलले खिपेको यस्तै दृश्य-शिल्प हो ।

ट्याम्पु चलाउने एक जवान महिलालाई माध्याम बनाएर निर्देशक पौडेलले यस्ता अव्यक्त-भावको क्यानभास पोतेका छन्, जो मोहक र माधुर्य छ । कथ्य-रचनाको हिसाबले होस् वा दृश्य-भाषा निर्माणको, बुलबुल एक अब्बल उदाहरण हो ।

रणकला ति समग्र नारी हुन्, जो वैशालु वयमा नितान्त एक्लिएका छन् । पितृसतात्मक चिन्तनले ओडाइदिएको आदर्श र मान्यताको घुम्टोभित्र उनले आफ्नो इन्दि्रयलाई बन्धक बनाउनुपरेको छ । रणकलामा वैंशालु मात जरुर चढेको छ तर उनी देह-सुखको खातिर भौतारिएकी छैनन् । उनलाई दाम्पत्य-स्नेह र आड-भरोसाको खाँचो छ । तर, उनको यो रिक्ततालाई समाजले ‘चरित्रहिन’ भनी नकार्ने गर्छ ।

यही मूल मर्मलाई दृश्यभाषामा बदल्न प्रयोग गरिएका शट, ध्वनि, बिम्ब कम्ता कसिलो र झरिलो छैन ।

रणकलाले हतार-हतार चुरोटको सर्को लिएर सर्वाङ्ग शरीरमा पानी खन्याएको, शिवलिंगमा पानी चढाएको, भीमाले केरा खाएको जस्ता बिम्बात्मक दृश्यले अव्यक्त नारी कुष्ठा दर्शाउँछ । पुरुषको सामिप्य र स्पर्शका खातिर रणकलाले सम्पूर्ण व्यवस्था मिलाउँछिन्, तर आफ्नै मनको बन्दोबस्ती गर्न सक्दिनन् । टेम्पुको टायरलाई बिम्ब बनाएर रणकलाको मनोदशा देखाइएको छ ।

 

यसको सशक्त पक्ष पाश्र्व-ध्वनी हो । निर्देशकले हरेक दृश्य जसरी खिपेका छन्, त्यसको लयमा ध्वनीको समायोजन गरेका छन् । बाँसुरीको सुर, मेघ गर्जन, अविछिन्न पानी तप्किएको, घडीको टिकटिक जस्ता पाश्र्व-ध्वनीले ‘बुलबुल’को कलात्मकता थप गहिकिलो बनाइदिएको छ ।

पात्रको प्रवृत्ति, हुलिया, बोलीचाली, हाउभाउ हरेक स्वभाविक र प्राकृतिक लाग्छ । फिल्ममा भरमार संवाद छैन । तर, नबेलेरै धेरै कुरा व्यक्त हुन्छ । शब्द-गठन, लवजमा आफ्नै मिठास छ । अर्घाखाँची-गुल्मीतिर बोलिने भाषा-लवज चोपेन्द्रको मुखबाट बोल्न लगाएर बेग्लै स्वाद पैदा गरिएको छ । यो एक अनुकरणिय अभ्यास हो, रैथाने भाषा-शैलीलाई समेट्ने ।

फिल्मका कुनैपनि दृश्य यस्ता छैनन्, जसमा खेलाँची गरिएको होस् र हचुवाको भरमा कैद गरिएको हो । जस्तो ससुरालाई दायाँ भागमा पक्षघात भएको देखाइको छ र यर्थाथमा दायाँ भागमै पक्षघात भएका व्यक्ति बोल्न सक्दैनन् ।

स्वस्तिमाले अहिलेसम्मकै उत्कृष्ट अभिनय गरेका छन्, यसमा । मुकुन, लक्ष्मी बर्देवाले आफ्नो चरित्रलाई रोचक र स्वभाविक तुल्याएका छन् ।

के छ जोखिम ?

फिल्ममा मसला खोज्नेहरुले फिल्म नरुचाउन सक्छन् । यसको क्लाइमेक्सले पनि फर्मुला फिल्मका दर्शकलाई चित्त नबुझाउन सक्छ ।

फिल्म कमेडी होइन, लभस्टोरी होइन, एक्सन होइन । हल्काफुल्का मनोरञ्जनको डोज बुलबुलमा खोजेर पाइदैन । किनभने निर्देशकले बजार लक्षित फिल्म बनाएका होइनन्, यसमा आफ्नो शिल्प खिपेका हुन् । हाम्रो जस्तो संवेदनशिल फिल्म बजारमा यो एक जोखिम हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस