सडक स्तरोन्नतिमा ढिलाइ

चैत्र २६, २०७७  | १४४ पटक पढिएको

२६ चैत्र ।

स्तरीय सडक समृद्धिको पहिलो पहिचान हो । त्यसपछि सरसफाईले हरेक नगरीको सुन्दरता र सभ्यताको झल्को दिन्छ । तर स्तरीय सडक नबन्दा यहाँका पालिकाहरुको विकास निर्माणप्रतिको नकारात्मक सन्देश यहाँ आउने जोसुकै आन्तरिक एवं वाह्य पर्यटकहरुले अनुभूति गर्ने विषय हो । यति मात्र नभएर स्तरीय सडकको अपेक्षा नगरपालिकामा गाभिएर पनि दुरदराजमा रहेका बस्तीबासीको हुन्छ । तर यहाँका सडकहरुमा संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाको पनि अर्थपूर्ण उपस्थिति हुन सकेको छैन । जसका कारण नागरिकहरुप्रति नै विकासप्रतिको निराशा छाउन थालेको मात्रै छैन, यी तीनै तहका सरकारका कार्यशैलीप्रति आक्रोशको अवस्था पनि सृजना भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले अघिल्लै आर्थिक वर्ष हरेक वडाको विकास बजेट कटौति गर्दै विकास निर्माणमा एकरुपता ल्याउन र समानुपातिकरुपमा हरेक वडामा स्तरीय सडक निर्माणका लागि तुलसीपुर विकास प्राधिकरण गठन गर्यो । प्राधिकरणको माताहतमा हरेक वर्ष हरेक वडामा कम्तिमा ३ किमि सडक कालोपत्रेको अवधारणा सार्वजनिक गर्यो । तर लक्ष्य अनुरुप अधिकांश वडामा यो वर्ष पनि सडक कालोपत्रेका काम सम्पन्न हुन सकिरहेका छैनन् । विच्छाइएका ग्राभेल समेत छरिएर पुनः ग्राभेल विच्छाउनु पर्ने बाध्यता देखिएको छ । ३३ महिनामा चार लेन सडकका रुपमा स्तरोन्नति गर्ने भनिएको घोराही–तुलसीपुर सडकको कार्यप्रगति दुई वर्ष वित्दा पनि यो र त्यो वाहनामा कामले गति लिन सकेको छैन । जताततै भत्काइएका सडक धुलाम्मे र हिलाम्मे छन् । पछिल्लो समयमा यसकै कारण दाङ वायु प्रदुषणको चपेटोमा समेत परेको छ । यो दुर्भाग्यको अवस्था हो ।

मुलुकमा अहिले राजनीतिक अस्थिरताको अवस्था छ । यो सँगै विश्वव्याधिका रुपमा फैलिएको कोरोना भाइरसको चपेटोले पनि थलिएको अवस्थामा छ । तर कोरोना भाइरसको संक्रमणकै कारण देखाएर विकास निर्माणका काममै ढिलासुस्ती हुनु अवश्य पनि नागरिक भावना विपरित हो । संकटमा थप स्थानीय विकास निर्माणलाई तिव्रता दिएर आन्तरिक रोजगारी बढाउनुको साटो कोरोना संक्रमणलाई वाहना बनाएर विकास निर्माणका काममा ढिलासुस्ती गरिनु उपयुक्त होइन । सबैभन्दा पहिले विकास निर्माणका कामलाई प्राथमिकता देऊ । त्यसमा पनि स्तरीय सडकको निर्माण आर्थिक समृद्धिको पहिलो आधार हो । सडक स्तरोन्नतिमा ढिलाइ नगर ।

प्रतिक्रिया दिनुहोस