फ्रान्समा ४ हप्ता लकडाउन, स्कुल पनि बन्द

चैत्र १९, २०७७  | १४१ पटक पढिएको

१९ चैत्र, काठमाण्डौ ।

फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि चार हप्ताका लागि लकडाउन गरिएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले पर्सि शनिबारदेखि चार हप्ता लकडाउन गर्ने घोषणा गरेका छन् ।

राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक वस्तुका पसल खुला रहने तर तीन हप्तासम्म स्कुल भने बन्द हुने बताएको बीबीसीले जनाएको छ ।

लकडाउनको अवधिभर मानिसले घरमै बसेर काम गर्नु पर्नेछ । सार्वजनिक ठाउँमा सभा, भेला गर्न पाइने छैन भने घरबाट १० किलोमिटरभन्दा टाढा जान पनि नपाइने उल्लेख गरिएको छ ।

उनले कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने र १८ वर्षभन्दा माथिका सबै उमेर समूहलाई खोप दिने पनि बताएका छन् । विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशको सूचीमा फ्रान्स चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस